मुलुकमा ठूलो सङ्कट आएका बेला युद्धस्तरमा काम गर्न नसक्नु वर्तमान सरकारको असफलता हो र मुलुकभित्र देखिएका जल्दाबल्दा समस्या समाधान गर्न नसक्नु वर्तमान सरकारको असक्षमता हो। नेपालमा नयाँ संविधान बनेपछि यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई बुझाउनमा हाम्रा कूटनीतिक नियोगहरू असफल रहे, संविधान कार्यान्वयन सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायमा जुन प्रकारको अन्योल र आशंका देखा परेको छ, त्यसमा धेरै हदसम्म हाम्रो कमजोर कूटनीतिले काम गरेको छ भन्नेमा सन्देह छैन होला। सिंगो सरकार, परराष्ट्र मन्त्रालयदेखि विदेशस्थित दूतावासहरूसम्म यसमा चुक्दै आएका छन्। अहिले संविधानका विषयमा कसैले कुनै आलोचनात्मक टिप्पणी गर्ने या सुझाव दिने काम गरे भने स्वदेशी भए प्रतिगामी र विदेशी भए हस्तक्षेपकारीको ट्याग लगाउँदै निन्दा र भत्र्सना गर्ने गरिन्छ। संविधानबारे कुनै पनि प्रकारको सुझाव या टिप्पणी आउनेबित्तिकै नेपालमा सार्वभौमसत्तामाथिको हस्तक्षेप भनी स्याल हुइँया गर्ने नयाँ रोग भित्रिएको छ।
के नेपालको सार्वभौमसत्ता त्यति रोगी, दुर्बल र मरञ्च्याँसे नै छ?, कसैले संविधानबारे सुझावात्मक या आलोचनात्मक टिप्पणी गर्दैमा गल्र्यामगुर्लुम ढलिहाल्ने। हाम्रै देश होइन छिमेकी मित्रराष्ट्र भारतका नेता चन्द्रशेखर काठमाडौंमै उपस्थित भएर राजा र पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनको आह्वान गर्दा कमजोर नभएको हाम्रो सार्वभौमसत्ता, नेपालको प्रचलित कानुनविपरीत धर्म परिवर्तन गराउँदै हिँड्ने धर्म व्यापारीहरूमाथि कानूनी कारबाही गर्दा नेपालका तात्कालिक सरकारलाई औपचारिक पत्र लेखी बेलायतले थर्काउँदा नथर्किएको सार्वभौमसत्ता, प्रचण्ड–बाबुरामले भारतको तात्कालिक प्रधानमन्त्री अटलबिहारी बाजपायीलाई पत्र लेखी आफूहरूले भारतको हितविरुद्ध कहिल्यै केही गर्नैछैन भनी कबुलियत गर्दा पनि अपमानित र उपेक्षित नभएको सार्वभौमिकता, एमालेले अरुण आयोजना रोक्न भारत र राष्टसंघलाई पत्र लेख्दा केही नभएको सार्वभौमिकता, पञ्चायतविरुद्धको वातावरण बनाउन भारत सरकारले करिब डेढ वर्षसम्म नाकाबन्दी गर्दा नभत्किएको सार्वभौमिकता, भारतीय व्यवस्थापनमा माओवादी र संसदवादी भनिने दलहरूबीच नयाँदिल्लीमा बाह्रबुँदे सम्झौता हुँदा पनि कसैलाई नछोएको नेपाली सार्वभौमिकता,नेपाललाई धर्मनिरपेक्ष, गणतन्त्रात्मक, सङ्घीय राज्य बनाउन स्वदेशी इच्छाभन्दा, विदेशी इच्छा र इशाराले प्राथमिकता पाएको बेला केही नभएको हाम्रो सार्वभौमिकता एक्कासी कसरी भत्कियो।
के विश्वको उत्कृष्ट दाबी गरेको संविधानबारे कसैले पनि टीका–टिप्पणी गर्नै नपाउने हो ? अतः इतिहासकै सबभन्दा घातक हमला भएझैँ ओली र प्रचण्ड कमरेडहरू कोकोहोलो मच्चाउँदै छन यसले सबै नेपाली र नेपालप्रेमीको ध्यानाकर्षण गरेको छ। सीके राउत जस्ले नेपालमा बसेर हाम्रो सार्वभौमिकता क्षत–विक्षत हुने क्रियाकलापलाई बढाउँदा समेत नियन्त्रण गर्न असमर्थ ओली र प्रचण्डको राष्ट्रियता रक्षाबारे प्रवचन सुन्नुपर्दा उदेक लाग्छ
बौद्ध– ६, काठमाडौं