हालै सुर्खेतमा सात वर्षीया बालिकाले एकजना शिक्षिकाको पिटाइबाट एउटा आँखाको ज्योति गुमाएको घटना बाहिर आएको छ। शिक्षिका दोषी छन् या छैनन त्यो छानविनबाट पत्ता लगाउनुपर्छ। तर स्कुलमा गएका बालबालिका सकुशल घर फर्किन्छन् कि फर्किंदैनन् भन्ने भय नै शिक्षाको मूल्य र मान्यताविरुद्धको कुरा हो।
स्कुलहरूबाट, हरेक वर्ष एउटा प्रतिबद्धता दोहोरिन्छ ‘हामी विद्यार्थीमाथि कुनै पनि खालका शारीरिक यातनाविरुद्ध छौं।’ हरेक वर्ष नै कतै न कतै शिक्षकका मनमा कलिला बालबालिकाले शारीरिक यातना पाएका मात्र हैनन्, शरीरका संवेदनशील अंग भंग भएका या तिनका शक्ति गुमेको घटना बाहिर आउने गरेका छन् लुकाउने प्रयास गर्दागर्दै पनि। पक्कै पनि जति घटना बाहिर आउँछन्, ती समग्र घटना या संख्याका केही अंश मात्र हुन्। स्कुलहरूमा हुने यस्ता यातना र भयले विद्यार्थीका कलिला दिमागमा व्याप्त भएमा उनीहरूको शिक्षा ,केही जान्ने रुचि अनि क्षमतामा ह्रास आउने गर्छ।
हिंसाले ज्ञान ग्रहण गर्ने क्षमता न्यून तुल्याउँछ। विश्वमै बालबालिकाका लागि उत्कृष्ट शिक्षाका लागि सकारात्मक या हिंसाशून्य वातावरण आवश्यक भएको भन्दै शारीरिक हिंसाविरुद्धको नीति लिएका छन्, विकसित मुलुकले। नेपालमा सिद्धान्ततः भौतिक कारबाहीविरुद्ध शिक्षा मन्त्रालय रहेको बताइए पनि नीति र कानुन तदनुसार नबनेकाले स्कुलैपिच्छे फरक–फरक व्यवहार अपनाएको पाइन्छ, विद्यार्थीप्रति। यसले राम्रो भनिएका स्कुलहरूमा, विद्यार्थीको चाप बढ्न जान्छ। शिक्षक विद्यार्थी अनुपातसँगै त्यस्ता स्कुलले धान्न नसकिने गरी विद्यार्थी भर्ना हुँदा उनीहरूका सक्रिय गतिविधिलाई कसरी नियमित गर्ने? या कसरी त्यो क्षमतालाई शैक्षिक या ‘लर्निङ’ गतिविधिमा रूपान्तरण गर्ने? त्यसबारे अधिकांश स्कुलहरूमा मौलिक सोचको अभाव छ।
बालबालिका आपसमा झगडा गरेमा त्यसलाई कसरी नियन्त्रित या दण्डित गर्ने? अभिभावक स्वयं नै छोराछोरीलाई पिटेर भए पनि सिकाउने चाहना गर्दछन्। एक अर्थमा भौतिक कारबाहीको अनुमोदन स्वयं अभिभावकबाट हुने गर्छ, यद्यपि त्यस्तो अधिकारबाट अभिभावकलाई समेत वञ्चित गरिनु त्यत्तिकै आवश्यक छ, कानुनबाट र शैक्षिक संस्थाहरूको सामूहिक प्रतिबद्धताबाट। स्कुलमा बालबालिका सुरक्षित र संरक्षित हुन नसक्नु भोलिको समाज असुरक्षित र असंरक्षित हुनु हो। हरेक जिल्लामा अभिभावक र स्कुल प्रशासनबाट हरेक वर्ष यस्ता घटना भए नभएको प्रतिवेदन सार्वजनिक गरी स्कुलको ‘रेटिङ’ गरिएमा सम्भवतः हिंसा न्यून हुने थियो की?