देशको पुरानो र ठूलो पार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनावी कार्यक्रम सुरु भइसकेको छ। नेतृत्व कसले पाउला भन्ने गरमागरम बहस छ। त्यसको तुलनामा पार्टी नीति र कार्यक्रम बारे बहस चलाउन एकाध युवा नेताहरु बाहेक अरुले खासै जाँगर चलाएको देखिँदैन।
नेपाली कांग्रेसको २०१२ सालको वीरगञ्ज अधिवेशनबाट बीपीको नेतृत्वमा पारित भएको राष्ट्रियता, लोकतन्त्र र समाजवाद सैद्धान्तिक आधारशीलालाई के अहिलेको परिवर्तित परिवेशमा १३ औं अधिवेशनले पुनर्व्याख्या, परिमार्जन वा संशोधन गर्न आवश्यक ठान्ला कि नठान्ला?
देश गणतन्त्र र संघीयतामा गइसकेको अवस्थामा मुलुकको राष्ट्रियतालाई थप मजबुत पार्ने आधार र प्रयत्नहरु कांग्रेससँग के के छन्?
संघीय संरचना अनुकुल हुने गरी र त्यसलाई अझ मजबुत पार्न अनुकुल हुने गरी नेपाली कांग्रेसले आफ्नो सांगठनिक संरचनालाई कस्तो स्वरुप र प्रकृतिमा ढाल्ला?
अहिलेको संविधानमा व्यवस्था गरिएका प्रशस्त मौलिक हकहरुका बारेमा बुझाउने र कार्यान्वयन गर्ने गराउने जिम्मेवारी नेपाली कांग्रेसले कसरी गर्ला? कि यसका बारेमा बुझाउने जिम्मेवारी युवा नेता विश्वप्रकाश शर्माले लेखे झैं एनजिओहरुलाई मात्र सुम्पिदिने हो?
संविधानसभाबाट संविधान बनाउने र लोकतन्त्रलाई संस्थागत गर्ने एक ऐतिहासिक कार्यभार त पूरा भएको छ, यद्यपी संविधानमा निरन्तर सुधार र परिमार्जनको स्थान भने सदैव खुला रहन्छ। आगामी दिनमा समावेशितालाई अझ बढी समयोचित, न्यायपूर्ण र प्रगतिशील बनाउने बारे नेपाली कांग्रेस कसरी सोच्छ?
संविधानले समानुपातिक प्रतिनिधित्व र निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि देशलाई राजनैतिक स्थायित्व दिन मिलिजुली राजनैतिक संस्कारको विकास गर्नैपर्ने बाध्यता छ। त्यस्तो संस्कार र संस्कृतिको विकास गर्न नेपाली कांग्रेसले के कस्तो भूमिका खेल्ला?
लामो राजनैतिक संक्रमणकाल सकिएसँगै अब धेरैको मुखमा झुण्डिन थालेको छ- आर्थिक समृद्धि र समृद्धि। तर, त्यसलाई साकार पार्नका लागि कांग्रेससँग के कस्ता आर्थिक सामाजिक नीति र कार्यक्रम छन्?
समृद्ध नेपालको कुरा गर्दा बीपीको सपना पनि जोडिएर आउने गर्छ। उनले खान लाउन पुग्ने, घरमा एक दूधालु गाई र एक हल गोरु भएको, ओखतीमुलो गर्न सक्ने र आफ्ना सन्तानलाई शिक्षादिक्षा दिन सक्ने औसत नेपाली परिवारको सपना देखेका थिए। त्यो सपना र २०४६ सालपछि नेपाली कांग्रेसद्वारा प्रवर्धित उदार अर्थतन्त्रका बीचमा के कति सामञ्जस्यता भेट्न सकिन्छ? के यथास्थितिको बाटोमा अगाडि बढ्नु नै सही हो वा केही परिमार्जन र नयाँ दिशाबोधको आवश्यकता छ?
के अहिलेको उदार अर्थतन्त्र समाजमा उपभोक्तावादी संस्कृतिको विकास गर्न र राजनीतिमा पुँजीवादको हस्तक्षेप बढाउन (जसरी अधिवेशनमा, गुट प्रवर्धनमा देखिने गरेको छ) मात्रै सीमित हुने हो?
समतामूलक, न्यायपूर्ण र प्रगतिशील समाज सिर्जना गर्नका लागि नेपाली कांग्रेसका आर्थिक, सामाजिक विकासका अवधारणा के के हुन्?
आजको विश्वव्यापिकरण, लाखौं युवाहरु रोजगारीको लागि विदेश पलायन भएको अवस्था र विप्रेषणले अर्थतन्त्र धानिराखेको अवस्थामा नेपाली कांग्रेसले उत्पादन र वितरण प्रणालीमा राज्यको भूमिकालाई कसरी परिभाषित गर्छ?
एकातिर देशका कुना कुनासम्म शिक्षामा पहुँच पुर्याउनु आवश्यक छ भने अर्कातिर देशका आर्थिक विकासका आधारहरु पहिल्याएर त्यसै अनुकुल आवश्यक पर्ने व्यावसायिक, प्राविधिक शिक्षाको विस्तारमा देशभरि नै विस्तार गर्न पनि जरुरी छ।
स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउन सरकारी र निजी क्षेत्रलाई कसरी अगाडि बढाउने? राजधानी र शहर केन्द्रित निजी स्वास्थ्य संस्थाहरुको भूमिकालाई देशका दूरदराजमा रहेका ग्रामीण जनताका ओखतीमुलोका लागि विपिले सपना देखेजस्तै विस्तार गर्न के कस्ता नीतिगत हस्तक्षेपको आवश्यकता रहला? के यो डा. गोविन्द केसी र माथेमा आयोगको मात्रै चासोको विषय हो?
के नेपाली कांग्रेसले भन्ने गरेको समृद्धि बीपीको सपनासँगै सुरु भएर बीपीको सपनासँगै अन्त्य हुने हो? बीपीबाहेक नेपाली कांग्रेसका अन्य नेता र कार्यकर्ता कुनै सपना देख्नै नसक्ने, चिन्तन गर्नै नसक्ने र वैचारिक बहस चलाउनै नसक्ने जडवत् प्राणी हुन् कि अन्य नेता, कार्यकर्तालाई कुनै उन्नत सपना देख्ने र अग्रगामी सोच ल्याउन सक्ने र बहस चलाउने दरकारै पर्दैन? समृद्ध नेपाल बनाउन कांग्रेसका प्राथमिकता क्षेत्रहरु के के हुन्? प्रत्येक वर्ष लाखौं नेपाली युवा रोजगारी बजारमा प्रवेश गर्दैगर्दा ऊनीहरुको श्रम, सीप र क्षमताको उपयोग गर्ने उपायहरु के के हुन्?
कृषि, पर्यटन, औद्योगिकीकरण र अन्य सेवा क्षेत्रको विकास तथा विस्तारबाट मुलुकभित्र लाखौं रोजगारी सिर्जना गर्न सकिन्छ, तर त्यसका लागि आवश्यक नीतिगत व्यवस्था, अनुकुल, लगानीमैत्री प्रशासनिक संयन्त्र र प्रक्रिया, पर्याप्त पूर्वाधार विकास पनि आवश्यक पर्छ । यसका लागि के के सुधार आवश्यक छन्? नेपाली कांग्रेसका नेता र कार्यकर्ता, विशेष गरी महाधिवेशन प्रतिनिधि तथा अझ त्यसमा पनि नेतृत्व दाबी गर्न तम्सनेहरुले यस महाधिवेशनको पूर्वसन्ध्यामा यी विषयहरुमा चिन्तन मनन गर्ने, अनि वैचारिक बहस चलाउने तत्परता र जाँगर देखाऊलान्?
के अहिले भनिएका संस्थापन र देउवा गुटहरुले माथि उल्लेखित विषयहरुमा आ-आफ्ना फरक दृष्टिकोण सार्वजनिक गरेर सघन छलफल मार्फत पार्टीको नीति तय गर्दै देशको एक पुरानो र ठूलो पार्टीलाई नयाँ दिशाबोध दिन सक्लान्? म आशा गर्छु, नेपाली कांग्रेसको १३औं महाधिवेशनले यी तमाम प्रश्नहरुको उत्तर खोज्ने प्रयत्न गर्नेछ र ती प्रश्नहरुको सही उत्तरमा नै नेपाली कांग्रेसको भविष्यलाई मात्र मार्गनिर्देश गर्ने नभई समस्त मुलुकको उज्वल भविष्यलाई समेत प्रभावित बनाउन सक्ने तागत देखिनेछ।