प्रधानमन्त्री केपी शर्मा ओली गत शुक्रबार प्रजातन्त्र दिवसको दिन पारेर भारत भ्रमणमा निस्कनुभयो। भारतले संविधान निर्माणमा असन्तुष्टि देखाउँदै अघोषित नाकाबन्दी गरेपछि त्यसको सामना गर्दै जन्मिएको ओली सरकारको यो भारत भ्रमणलाई आम जनता बुद्धजिवी र कुटनितिज्ञहरुले समेत निकै नजिकबाट नियालिरहेका छन्।
त्यसो त ओलीले यो भ्रमणले नेपालभारत सम्बन्धलाई नयाँ उचाई दिने बताएका छन्। राजनीतिक कुरा त छँदै छन्। ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार संयुक्त रुपमा स्वीच थिचेपछि मुजफ्फपुर ढल्केवर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली नेपाल अाउन थालेको छ।
नेपाल जलश्रोतको धनी देश हो। यहाँका खोलानालाबाट बिद्युत निकाल्ने हो भने करिब ८३००० मेगावाट बिद्यत निकाल्न सकिन्छ भन्ने प्रतिवेदन सार्वजिनक भएका छन्। हाम्रा खोलानालामा खेर गैरहेको पानीबाट विद्युत निकाल्ने हो भने भारतबाट विद्युत आयात गर्ने होइन भारतलाई नै निर्यात गर्न सकिन्छ। त्यसको लागि आवश्यकता छ-लगानिमैत्री वातावरण। सरकारले इच्छाशक्ति देखाउने हो भने जलविद्युतमा चाहिने लगानी स्वदेशमै जुटाउन सकिन्छ। वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको अधिकांश रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ। त्यो रकमलाई पनि हामीले जलविद्युत लगानी कोषमार्फत् जलविद्युतको क्षेत्रमा भित्र्याउन सक्छौं।
भारतले लगाएको अघोषित नाकाबन्दी खुलेको छ। नाकाबन्दीको समयमा आम नेपाली जनताले निकै सास्ती बेहोर्नुपर्यो। देशमा कालोबजारी मौलायो भने देशको अर्थतन्त्र झण्डै धरासायी स्थितिमा पुग्यो। यसबाट हाम्रा नेताहरुले पाठ सिकेर आत्मनिर्भर बन्नुको सट्टा उल्टै भारतबाट विद्युत ल्याउने सम्झौता गरी नेपाललाई झन् झन् परनिर्भरताको बाटोमा धकेल्दैछन्। जलविद्युतको क्षेत्रमा स्वदेशमै अथाह सम्भावना हुँदाहुँदै दिल्लीमा स्वीच थिचेर नेपालमा लोडसेडिङ घटाउन लागि परेका छन्।