म त्यही नाक चुच्चे हुँ
जनै भिरेर टुपी पाल्ने
पहाडिया बाहुन हुँ।
सगरमाथाजस्तै चुच्चो
मैले लगाउने ढाकाटोपीले
तपाईँको मन चिसो बनाए माफ पाउँ!
तर मैले पनि देवकार्य गर्दा
चोखोनितो भएर बस्दा
तपाईँकोजस्तै धोती लगाउँछु
के यो तपाईँको अपमान हो र?
तपाईँको भगवान मेरो पनि हो
र मेरो तपाईँको पनि
मैले कहिल्यै पनि
रामलाई कालो भनेर हेपिनँ
न त कृष्णलाई पराई ठानेर अपहेलना गरेँ।
पशुपतिमा शिवजीको आरती गर्दा
तपाईँ र म सँगै उभिएको हैन र?
नपत्याए
जनकपुरकी जानकी मातालाई सोध्नुस्
मेरो माया कति लाग्छ भनेर!
हाम्रो स्कुलमा
हिसाब पढाउने झा सरले भन्नुहुन्थ्यो
सबैभन्दा ठूलो अंक एक हो रे
एकताको एक र सुरूवातको एक
त्यसैले
तपाईँ र म दुई भएर कमजोर हुन्छौँ भाइ
आउनुहोस् एक बनौ
शक्तिशाली बनौ।
हाम्रै हेल्थपोस्टमा बसेर
हामीलाई बिरामी हुँदा निको पार्ने
चौधरी दाईले के भन्छन् थाहा छ?
हामीले आफ्नै शरीरमा परजिवि पालेका हुन्छौँ
र हामी बिरामी परिरहन्छौँ
त्यसैले थारू दाइ र मधेशी भाइ
आउनुहोस् त्यो परजिवि चिनेर मिल्काइदिउँ
र यो देशलाई निको पारौँ।
तपाईँको जस्तो फराकिलो फाँट
बाह्रैमास सिँचाई हुने नहर
र धान फल्ने खेत छैन मेरो
सुख्खा पाखोबारी
जहाँ आकाशको पानी कुर्दाकुर्दै
तिर्खाले सुक्दछन् मकैका बोटहरू
हो म त्यहि बारीको पाटोको डिलमा बसेर
भुकम्पले भत्काएको घरछेउबाट
बिन्ति गर्छु
आउनुहोस् मेरो छाप्रोमा
गुन्द्रुक र ढिँडो खाउँला
सद्भावको गीत गाउँला
बरू मलाई मेरै भेगमा टपरे भन्दा दुख लाग्दैन
तपाईँहरूले सामन्तभन्दा मन रून्छ
त्यसैले आउनुहोस्
मेटाइदिउँ यो अज्ञात बिखण्डनकारीले
कोरिदिएको हामीबिचको सीमा रेखा।