हामी गर्वले गर्दै छाती फुलाउँदै भन्छौं: विश्वको चुचुरो सगरमाथाको देश नेपाल। भन्छौं: शान्तिका प्रतीक गौतम बुद्धको देश नेपाल। भन्छौं, 'जलश्रोतको दोस्रो धनी देश नेपाल'। अनि भन्छौं, 'अनेकतामा एकता भएको देश नेपाल।' हामीसँग सबै सम्पदा छन्। पुर्खाले छोडेर गएका सांस्कृतिक सम्पदा अनि प्रकृतिले दिएका प्राकृतिक सम्पदा। लाग्छ, हामीले स्वर्ग नै पाएका छौं।
भन्छन् नि 'भाग्यमा कागती छ भने त्यसलाई निचोरेर रस निकाल्न जान्नुपर्छ।' हामीसँग पनि कागती छ जसबाट रस निकाल्नु आवश्यक थियो।
तर, भइदियो अर्कै।
यहि देशमा जिविकोपार्जनका गर्न र परिवार-बालबच्चा पाल्न रोजगार छैन। बाध्य भएर एउटा युवा आफ्ना बृद्ध आमाबाबु, श्रीमान वा श्रीमती अनि कलीला बालबच्चालाई छोडेर पैसा कमाउन विदेश पुग्छ। दु:ख गर्छ, रातदिन दलिन्छ।हरेक नेपाली युवाको नियती हो यो।
यता घरमा साहुले रिन तिरेन भनेर धम्की दिइरहेका हुन्छन, सानासाना नानीबाबुले आफ्ना इच्छा राख्छन्, बाबाआमा बिरामी हुन्छन्। आखिर मान्छेको ज्यान न पर्यो, धान्न पनि त सक्दैन मेसिनले जसरी। ऊ बिरामी पर्छ, दुर्घटनामा पर्छ, ज्यान गुमाउँछ। र आउँछ काठकोझ बाकसमा। कतिपयको त लास पनि आउँदैन यहाँ।
सुरक्षाको नामको केही हुँदैन बेदेशिएका नेपाली श्रमिकको? श्रम सम्झौता नगरेको देशमा पनि सरकारले किन खुल्लमखुल्ला कामदार पठाउन दिइरहेको छ?
यता घरमा श्रीमतीलाई समाजले हेप्न थाल्छ। बिधवा भन्छ, अलच्छिनको ट्याग झुन्डाइदिन्छ। बोक्सी भन्दै मानसिक यातना दिन्छ। छोरीको झनै बिचल्ली हुन्छ। बाउ नभएको छोरी भन्छन्। समाजको सामु उसको इज्जत नै रहँदैन। उसका कलीला सपना यत्तिकै मर्छन्।
यति गर्दासम्म पनि त्यो पापी समाज मौन रहन्छ। निर्दोष भएर के गर्नु, यदि कोहि पनि बुझिदिने छैन भने?
छोराको भविष्य पनि सुरक्षित छैन। पढेको त हुन्छ तर पढेर ज्ञान र सर्टिफिकेट पाएर मात्र के गर्नु, रोजगारका अवसर नै नभएपछि। रोजगार त यहाँ राम्रा हेरेर होइन, हाम्रा हेरेर दिने चलन छ। एउटा टुहुरोको नाममा हेपिँदै आएको जति नै दक्ष भएपनि उसका मान्छे गुन्डा वा नेता नभएसम्म रोजगारको अवसर पाउँदैन। विदेश पनि जाने हिम्मत जुटाउन सक्दैन आफ्नो बाबुको हालत सम्झेर अनि स्वदेशमा रोजगार पाउँदैन। त्यसपछि, तनावग्रस्त भएर उ कुलतमा फस्छ। अन्ततः उसले पनि अकालमै ज्यान गुमाउँछ।
नेताहरु भन्छन्, 'यो जनताले जनताको लागि जनताद्वारा बनाएको सरकार हो।' भन्छन्, 'सधैं यो सरकार जनताको भलाइको लागि जुट्छ।'
अचम्म लाग्छ, जनताको भलाइको लागि बनेको सरकार भन्दापनि। यहाँका कानुन बनाउनेले नै बुझ्दैन होला, अरुले बुझोस् कसरी? हुन त भएका कानुन पनि त लागू हुन सकेका छैनन। दिनकै बलात्कार र हत्याका समाचार आएका हुन्छन्। मलाई लाग्छ कतिपय त बाहिर आएका नै छैनन्।
यहि समाजमा एउटा बलात्कारी खुलेआम हिडेको छ। एउटा हत्यारा निर्दोष जस्तै गमक्क पर्दै सानको साथ हिडेको छ। उनीहरुको लागि न सजाय छ न कुनै कानुन छ तर पीडा पाउनेले झन धेरै पाइरहेका छन्। एउटा युवा विदेश गएर असुरक्षित हुन्छ, श्रीमती अनि छोराछोरी निर्दोष हुँदाहुँदै पनि ज्यान गुमाउँछन्। यहाँ त कोहि पनि सुरक्षित छैनन्। जब आम जनता नै सुरक्षित छैनन भने, जब ज्ञान र प्रमाणपत्रको मूल्यांकन हुँदैन भने, जब पसिना र रगतको अपमान हुन्छ भने, कसरी विश्वास गर्न सक्छौं हामीले यो सरकार जनताको लागि केहि गरिरहेको छ भनेर?
सरकार! तिमी के गरिरहेका छौ?