भर्खरै साग समापनसँगै विभिन्न रोचक घटनाहरु देखिए। नेपालको भागमा ३ स्वर्ण,२३ रजत र ३४ कास्य गरी कुल ६० पदक हात पर्यो। पदक तालिकामा नेपाल आठ मध्ये छैटौँ स्थानमा रह्यो। यो नतिजा त्यति सन्तोषजनक पक्कै हैन। यसका धेरै कारण होलान् जुन समिक्षा गर्न आवश्यक छ। महत्वपूर्ण कुरा साग हुँदाहुँदै र समापनपछि नेपालभित्रैबाट नेपाली खेलाडी अनि खेलप्रति जुन किसिमको विभेद देखियो त्यो सबैभन्दा हेर्नलायक छ।
नेपालले साग खेलमा बिभिन्न खेलका समुहमा प्रतिष्पर्धा गरेको थियो। जसमध्ये निकै कम खेलको मात्र चर्चा गरियो। अझ भन्नुपर्दा फुटबलको मात्र चाहिएभन्दा बेसी र बाँकी खेलको नगन्य चर्चा भयो। फुटबल खेलाडी रातारात सेलिब्रेटी बने। उनिहरुसम्म प्रधानमन्त्रीदेखि बिभिन्न क्षेत्रका प्रतिष्ठित मानिसको बधाईका ओइरो लाग्यो। खासमा पुरुष फुटबलको स्वर्ण पदक सक्कली र अरु खेलको नक्कली पक्कै थिएन। बाँकी दुई खेलाडी फुपु लाह्मु खत्री र निमा घर्ति मगरले पनि सानोतिनो मिहनेत र पसिनाले स्वर्ण जितेका थिएनन्। यो पनि होइन कि फुटबल खेलाडी मात्र हाम्रा खेलाडी हुन। तर यहाँ त यसरी चर्चा गरिँदै छ कि यो साग खेल भनेकै मात्र फुटबल हो र हामीले बाजी मारिसकेका छौं।
जब हामी ठूलो जुलुसको अघिपछि लाग्दै थियौं,कोही खेलाडी घर आउन खर्च नपाएर भारतमै र नेपालकै बिभिन्न स्थानमा छटपटाउँदै थिए। हामी कसैलाई काँधमा बोकेर हिन्दै गर्दा कोही खेलाडी आत्मग्लानी र अपमानको ज्वालामा पिल्सिदै थिए। आखिर देशलाई प्रतिनिधित्व गरेर गएपछि सबैको हैसियत एकै हुनुपर्ने हैन र? हामीले किन सबैलाई बराबर सम्मान दिन सकेनौ? के जित्ने मात्र खेलाडी हुन? अझै के फुटबल मात्र खेल हो?
अर्को कुरा रजत र कास्य पदक पाउने खेलाडीहरुको पनि खासै चर्चा भएको पाइएन। कुनै खेलाडीको चर्चा संचारमाध्यम,सामाजिक सञ्जाल र आम जनसमुदायमा जति जसरी हुनुपर्ने हो, त्यो पटक्कै देखिएन। हाम्रो सोच खुला हुन सकेन। हाम्रो बारेमा हामी बोल्न कन्जुस्याईं ग¥र्यौँ। हामीले सम्मान गर्न जानेनौँ। के उनीहरु हार्छु भनेर गएका थिए त? यो हाम्रो गलत र दोषी मानसिकताको उपज हो। चन्द्रसूर्य झन्डा फहराउँदै देशको नाममा खेल्न जाने जोकोही खेलाडीलाई सम्मान गर्न हामी चुक्नु हुँदैन चाहे उ वा उनीहरु कुनै पदक जितुन् वा हारुन्। त्यो स्थानसम्म पुगेरै उसले सम्मानको हैसियत बनाइसकेको हुन्छ।
अन्त्यमा फुटबललाई गरिएको सम्मानलाई अनावश्यक भन्न खोजेको पक्कै होइन तर सबै खेल र खेलाडीलाई हैसियत अनुसारको सम्मान गर्न हामीले ढिला गर्नुहुँदैन
(क्याल्गेरी, क्यानाडा)