यस्तो लाग्छ, नेपालमा एक घर चार नेताको दरमा नेता निस्किदै छन्। टोलटोलमा, बस्तिबस्तिमा संघसंगठन खुलेका छन्। राजनीतिक समीक्षा हरेक चोक, पसल, सडक ब्यस्त देखिन्छन। राजनीतिले नेपाललाई नराम्ररी गाँजेको प्रस्ट प्रमाण हो यो। नराम्रो यसर्थमा कि यहाँ यो बाहेक अरु केही हुनै सकेन। उद्योग धन्दा बन्द हुँदैछन, अर्थतन्त्र डामाडोल छ, दीर्घकालीन योजनाहरू भताभुङ्ग छन्, क्षमता भए पनि अवसरको कमीले जनशक्ति पलायन हुदैछन, तर नयाँ नयाँ पार्टी र नया(नयाँ नेता अनि उनीहरूका नयाँनयाँ मुद्धा जन्मिन रोकिएको छैन। मुद्धै मुद्धामा देश अल्झेको छ। १० वर्ष जनयुद्धमा बित्यो, अर्को १० संबिधान लेखनमा, अब अर्को १० संविधान संशोधनमा नजाला भन्न सकिन्न। यस बीचमा देश सग्लै रहला कि नरहला, अर्थतन्त्र टाट उल्टेला कि नउल्टेला? प्रश्न र डर यथावत छदैँछ।
नागरिकमा राजनीतिक सचेतना हुनु एकदम जरुरी पक्कै छ। जनता हिसाबी हुनु पनि जरुरी छ, कुन नेताले के गर्यो, कुन पार्टीको सरकारले कति विकास गर्यो, कुन प्रतिपक्षले राम्रो खबरदारी गर्यो, यो सबको हिसाब जनताले राख्नुपर्छ। र, हिसाब राख्दा देशलाई आफूभन्दा माथि राख्नुपर्छ। चुनावका बेला निर्णय लिन काम लाग्ने भनेकै यही हिसाबकिताब हो। अर्को कुरा, राजनीतिक समर्थन भनेको पार्टी र नेताको देश र जनताप्रतिको वफादारीको आधारमा तय गर्दा हितकारी हुन्छ। नेपालमा पुस्तेनी आस्थाको आधारमा, व्यक्तिगत स्वार्थको आधारमा राजनीतिक समर्थन राख्ने प्रवृति छ, जुन एकदम घातक छ। पढेलेखेको समाजलाई राजनीतिक आस्थाका बन्दी हुन सुहाउँदैन। त्यसमाथि, कयौं पटक समर्थन यति अन्धभक्त बनिदिन्छ कि अन्तमा यो समर्थन जोगाउन, देखाउन र यसको ब्याज असुल्नको लागि मान्छे जे गर्न पनि तयार रहन्छ। यस्ता घटना अपवाद नभई दैनिकी हुँदा आज नेपालको हरेक आयाममा राजनीतिको प्रत्यक्ष दख्खल पुगेको छ।
बिद्यार्थी राजनीतिको पाटो पनि उस्तै काहालीलाग्दो छ। बिद्यालय र विश्वविद्यालयमा नेतृत्व, समाजसेवा, सामुदायिक जिम्मेवारीका व्यवहारिक ज्ञान दिन पर्नेमा फेरि पनि राजनीतिक आस्थाका बन्दी बन्न बाध्य बनाइन्छ। विद्यार्थीले सर्वप्रथम सीपमुलक ज्ञान लिएर आफ्नो पेसा रोज्नुपर्छ। आफ्नो क्षेत्रमा सफल भएपछि त्यही सफलताको पाठ सिकेर, आफ्नो सानो समुदायलाई मात्र नभई पुरै देशलाई निस्वार्थ योगदान दिन सक्ने, हाँक्न सक्ने क्षमताको पहिचान गरेर मात्र राजनीति अंगाल्नुपर्छ। राजनीति भनेको पेशा नभएर समाजसेवा हुन जरुरी छ। यसर्थमा पार्टीका भातृ संगठनहरूको विद्यालय र विश्वविद्यालयमा उपस्थिति एकदम उदेक लाग्दो छ। यस्तो उपस्थितिले होनहार जनशक्तिलाई राजनीतिलाई पेशा बनाउन सिकाएको छ जसले देशलाई एकदम बेहित गर्छ।
ढिलासुस्ती र जिम्मेवारीबोध र जवाफदेहिताको अभाव आज सबै क्षेत्रमा ब्याप्त छ। विश्वब्यापी भ्रस्टाचारको सुचीमा हामी लाजमर्दो स्थानमा उक्लेका छौं, सहज ब्यापारको प्रावधान भएको देशका सुचीमा तल, पारदर्शी सरकारमा तल। स्पस्ट छ, हरेक वर्ष हामी झन्झन् ओरालो झर्दै छौं। जति नै अग्रगामी नीतिका कुरा गरे पनि सत्य के हो भने त्यो सबै भाषणमै सिमित छ। केही वर्ष अगाडि हाम्रै दर्जामा रहेका देशको विकासको गति इर्ष्या लाग्दो भैसक्यो। अहिले हामी सबै जनता राजनीतिक भेलमा बग्नुभन्दा आफ्नो कर्मप्रति निष्ठाकासाथ लाग्ने समय हो। धेरै ढिला भैसक्यो, र यो कुरा हामी नागरिकले आआफ्नो स्थानमा बुझ्न जरुरी छ कि हाम्रो भविष्यको साँचो हामी नै हौं। हामी जे छौं, त्यसैमा उत्कृष्ट हुने प्रयास गरोस् राम्रो शिक्षक, कृषक, ब्यापारी, विद्यार्थी, चालक। गर्ने काम धेरै छन्, समय थोरै? अवसर धेरै, अभियन्ता थोरै। यात्रा लामो र चुनौतिपूर्ण अवश्य छ, तर असम्भव छैन। कहिँ कतै केही थालनी भएको छ, यस्ता कामलाई हामी सबैले निरन्तरता दिऔँ। हाम्रो देशको बिग्रेको हिसाबकिताब सबै मिलेर मिलाअौं। राम्रो देशको जनता हुने सुअवसर नगुमाअौं।