यत्तिबेला प्रधानमन्त्री केपी शर्मा ओली बोलीका कारण चर्चामा छन्। एक वर्षभित्रमा देश तुइन मुक्त हुनेछ, देश लोडसेडिङ मुक्त हुनेछ, यस्तै यस्तै उनको वचनका कारण चर्चामा छन् प्रधानमन्त्री ओली। तुइनमुक्त बनाउने कुरा धेरै गाह्रो थिएन होला, तुइन काट्यो, झोलुंगे पुल हाल्यो। सायद त्यसैले होला, धेरै प्रश्न उठेनन्। जब लोडसेडिङ अन्त्यको कुरा आयो, त्यहाँ घामबाट बिजुली, हावाबाट बिजुली, फोहोरबाट बिजुली निकाल्ने कुरा हावादारी गफ भनेर प्रचार भयो।
प्रिय प्रधानमन्त्रीज्यू, हो सम्भव छ, तपार्इले भनेका सबै ठाउँबाट बिजुली निकाल्न सम्भव छ, अझै अरु पनि ठाउँ छन् बिजुली निकाल्ने। सम्भव छ, काठमाडौंको फोहोरबाट बायोग्यास निकालेर घर-घरमा पाइप जोड्न। तर के यो काठमाडौंको लागि पर्याप्त छ? यदि छ भने एक वर्षमा सक्ने तपाइको आधार र योजना के छ? हो थाहा छ, तपाई राजनीति गर्नुहुन्छ, त्यो पनि परम्परागत। तपार्इलाई ताली चाहिँएको छ र भाषण गर्नुहुन्छ - गफको शैलीमा, तर कहिल्लै मनन गर्नुहुन्छ, के बोल्दै छु र के बोलें भनेर? तपाइलाई भन्नै पर्ने भए विज्ञसँग बुझेर भन्नुस, तर राजनीति गफ हो भनेर नकारात्मक सन्देश प्रबाह नगराउनुस्।
नेपालमा व्यापारिकरुपमै ४२ हजार मेगावाट जलस्रोतबाट सम्भव छ, करिब तीन हजार मेगावाट सोलारबाट र ४/५ सय मेगावाट बिजुली हावाबाट सम्भव छ (विभिन्न रिपोर्टको आधारमा)। अझ शहरबाट निस्कने औशत फोहोर ०.३५ केजी प्रति व्यक्ति प्रति दिनका हिसाबले पनि करिब ४/५ हजार टन फोहोर दैनिक निस्कने गर्छ र त्यसले पनि बायोग्यास वा थर्मल इनर्जी मनग्य निकाल्न सकिन्छ। त्यस्तै कृषिजन्य पदार्थ र पशु/कुखुराको मलमुत्र पनि उर्जाको स्रोतहरु हुन्। यहाँ चिन्ता स्रोतको भन्दा पनि व्यवस्थापनको हो।
न घाम २४ घण्टा लाग्छ, न हावा २४ सै घण्टा चल्छ, जसले गर्दा ३/४ सय मेगावाट भने पनि २४ घण्टा निरन्तर त्यसले दिने इनर्जी कम हुन जान्छ। अत: घर-घरमा सोलार बाध्यकारी बनाउने कुरा व्यवहारिक हो, मुस्ताङसम्म प्राधिकरणको प्रशारण लाइन लान महँगो पर्ला,त्यहीं हावाबाट बिजुली निकालौं, गाउँ-गाउँमा माइक्रो हाइड्रो बनाऔँ, थर्मल प्लान्ट बनाऔं। घर-घरमा गोबर ग्यास र ब्रिकेटको प्रबर्धन गरौं। तत्काल योजनामार्फत काम सुरु गर्नै पर्छ। तर फेरि पनि जलबिद्युतको काम नरोकौं। निरन्तर बगेर जाने पानी नै खपत धान्ने प्रमुख आधार बन्न सक्छ।
प्रिय प्रधानमन्त्रीज्यु, तपाई आधार बनाउनुस, नीति बनाउनुस। एक वर्षमा लोडसेडिङ अन्त्य नभएर दुई वर्षमा होला, त्यो त्यत्ति ठूलो कुरा होइन। ठूलो कुरा हामी त्यो मनन गरेर प्रयोगको दिशामा छौं कि खाली भनेका मात्र छौं भन्ने हो। ठूलो कुरा, अब पनि हामी पद्धतीमा जाँदै छौं कि छैनौं भन्ने हो। हामीलाई अब गफ होइन, विश्वास चाहिएको छ। अब भाषण होइन, प्रगति विवरण सुनाउन थाल्नुस्। किनकी अब हामी बोलीको जर्जमेन्ट होइन, परफरमेन्सको जर्जमेन्ट चाहन्छौं र चाहन्छौं सम्बृद्ध देशको एउटा सानो हिस्सा बन्न।