आजकल भुई तल्लाको ‘रिजर्भ’ ट्याङ्गीबाट बाल्टीनमा पानीउबाएर दुइतल्ला माथिसम्म बोक्छु। सकि नसकी चुल्हो बालेर खाना पकाउँछु। अफिसपनि हिँडेरै धाउँछु।
किनकी म भित्र स्वाभिमान भरिएको छ।
तर मेरो अनुहारमा भने हासो बिलाएको छ। मेरो मन कहिल्यै खुशी छैन। बोल्ने र हास्ने जाँगर मरेको छ। धेरैजसो अँध्यारोमा बस्ने बानी लागिसकेको छ। उज्यालो भइहाले पनि हाफलाइट भनाउँदोले साथ छोड्दैन। निजी सवारीलाई पेट्रोल भनेर सुचना कहिले आउला भनि पत्रिका र समाचार हेर्न बिर्सन्न। ग्यास डिपोले तपाइको पालो आयो ग्यास लिनआउनुस् भनेर फोन गर्ला कि भनि हाफलाइटमै भएपनि मोबाइल चार्ज गर्न छुटाउँदिन।
दुख गरी कमाएको पैसा खर्च गरी गरी फुर्सद मिलाएर रमाइलो गर्न भन्दै हाइकिङ्ग र टे«किङ्गको नाममा कहिले पुनहिल त कहिले चिसापानी, कहिले घान्द्रुक त कहिले नगरकोटपुग्ने मलाई आजकल पैसा नतिरी पाइएको हिँडाई नरमाइलो लाग्छ। हाइकिङ्गबाट फर्किएपछिको शरीरको दुखाइ र थकान पनि रमाइलोको सम्झना गर्दै खुशीमान्ने म,आधा घण्टाको हिँडाइमा पुगिने अफिस पुग्न पनि दुख लाग्छ। मामाघर जाँदा माइजुले चुल्होमा पकाएर दिनुभएको खाना मिठो मानीमानीखाने अझमाइजुले पर्दैन हातपोल्छ भन्दापनिरमाइलो लागेरआगो झोसी झोसी तरकारी चलाइदिन्थेँ। आजकाल आफ्नै घरमा चुल्होमा पकाउनु पाउँदा झर्को लाग्छ। रहर लागेर टाढाको पँधेरी देखि डोकोमा पानी बोकील्याउँथे। अहिले लोडसेडिङ्ग र हाफलाइटले साथ नदिदा पानी तान्नन पाएर दुई तल्लामाथि पानी बोक्नुपर्दा रिसले पारो तात्छ। हाइकिङ्ग जाँदा बेलुकी बास बसेको घरभित्रको चुल्होबाट आएको धुँवाको परवाह नगरी आँगनमा हास्दै अन्ताक्षरी खेल्दा कम्ति रमाइलो लाग्दैनथ्यो। आजकल हरेक दिन अँध्यारोमा धुम्धुम्ती बसिन्छ बरु, तर कसैसंग बोल्न मन हुँदैन दिक्क लागेर। यसै त्यसै मन अत्तालिएझैं हुन्छ। दिमागभरी अनेक कुराहरु खेल्छ। सबैभन्दा ठुलो चिन्ता तयो छ की यस्तो बेलामा कोही पाहुना आइहाल्लान की भन्ने। यहि नै हो त स्वाभिमानको लक्षण?
अहिलेको मेरो स्थितिलाई तुलनागर्दैटाढा गाउँमा रहेका मेरा मामा माइजुहरुलाई सम्झिन्छु। बर्षौँ देखि बत्ति नहुँदाको अँध्यारोलाई कहिल्यै गुनासो गर्नुभएन। डाँडाकाँडा उकालीओराली अप्ठ्यारो हिँड्न कहिल्यै झर्को मान्नुभएन। एक गाग्रीपानीको लागि घण्टौँ हिड्नुपर्दा कहिल्यै दुख मान्नुभएन। चुल्हो बाल्नको लागि दाउरा चिर्दा कैयौँ पटक आफ्नै हातखुट्टामा घाउलाग्दा समेत पनि आफ्नो भाग्यलाई धिकार्नु भएन। हामीहरु जाँदा खुशी मानेर मुस्कानका साथ हृदयदेखि नै स्वागत सत्कार पस्किनु भो कहिल्यै झिंझो मान्नुभएन। उहाँहरुको भान्जी हुन पाएकोमा आफैँलाई गर्व महसुस हुनथालेको छ। वास्तविक स्वाभिमानी त मेरा मामामाइजुहरु पो हुनुहुन्छ।
मैले आफूमा छ भनि ठानेको स्वाभिमान त मेरो लाचारीपन रहेछ।