समयको महत्व सापेक्षिक हुन्छ तर मात्रै १० मिनेटले यस्तो होला भन्ने मैले कल्पना गरेको थिइनँ।
पौष १४ गतेको कुरा हो। दिउँसोको २ बजेर ४६ मिनेट जाँदा म त्रिपुरेश्वर कर कार्यालयमा रहेको एभरेष्ट बैंकको काउन्टरमा पुगेको थिएँ। पैसा जम्मा गर्नु थियो। भौचरमा खाता नम्बर मात्रै चढाउन बाँकी थियो।
तीन बजे काउन्टर बन्द हुन्छ भनेर हतारिदैँ गएका थियौं हामी। सास बढेर बोल्नै गाह्रो भइरहेको थियो। काउन्टर भित्र एकजना महिला थिइन्। उनले तीन बजेभन्दा पछाडी काम हुँदैन भन्दै फटाफट बन्द गर्न थालिन्।
'तीन बज्न अँझै दश मिनेट जति बाँकी नै छ,' उनलाई काम गरिदिन अनुरोध गरेँ।
'तपाईंको घडिमा भएर हुन्छ मेरो घडीमा तीन बजिसक्यो। फेरि सिस्टम ढाइ बजे नै बन्द भइसक्छ' ठाडो जवाफ दिँदै उनी बन्द गरेर निस्किइन्। हामी हेरेको हेर्यै.......।
म लज्जित भएँ। मेरो मोबाइलले धोका दिएछ भन्ने लाग्यो। निधार तातो भयो। समय ढिला भएको मेरो मोबाइललाई फुटाइदिउँ कि जस्तो झोँक चल्यो।
उता दाङ फर्किनलाई गाडीको टिकट बुक गराएको छु यता मोबाईलको समयले धोका दियो। त्यहिँमाथि भोलिपल्ट ल्होसारको सार्वजनिक बिदा। होटलमा चार छाक खाना र दुई रातको बिल बढ्ने भयो। यस्तै सोच्दै पछाडि फर्किँदा 'सोधपुछ' लेखेको काउन्टरमा भएको घडीमा मेरो आँखा पर्यो।
त्यो घडी पनि ढिला? मलाई अचम्म लाग्यो।
मैले साथीलाई उसको मोबाइलको घडीमा समय हेर्न लगाएँ त्यसको समय पनि मिल्यो। तुरुन्तै मैले १९७ मा फोन हानेर एभरेष्ट बैंकको केन्द्रीय कार्यालयको नम्बर मागेँ र कल गरेँ।
आई भि आर सिस्टममा शुन्य थिचे पछि एकजना महिलासँग कुरा भयो। मैले गुनासो राख्नु छ भने। उनले 'सर'लाई फोन पास गरि दिन्छु भनिन्। 'सर'सँग मैले मेरो गुनासो राखेँ। सिस्टम कतिबजे सम्म चल्छ भनेर जानकारी मागेँ। उनले सिस्टम त तीन बजेसम्म नै चल्ने जानकारी दिए। अझ सेवाग्राही आएका छन् भने त आधाघण्टा ढिलासम्म पनि बस्नु पर्ने नियम रहेछ।
'तपाईंहरुको सिस्टाममा घडी पनि अरुको भन्दा फास्ट बनाउने चलन छ?' भन्ने मेरो प्रश्नमा 'सर'ले त्यसो हुँदैन भन्ने जवाफ दिए।
ती सरलाई मैले त्यो दिन काम नभएपछि मलाई हुने क्षतिको बारेमा जानकारी गराएँ। त्यस पछि मलाई केहि बेर त्यहिँ पर्खिन अनुरोध गर्दै ति व्यक्तिले समाधानको पहल सहित दुई मिनेटमा फोन गर्ने कुरो गरे।
उनले फोन गरे। घुमाएर लामो कुरा गरे। मैले सीधा समाधानको उपाय सोधेपछि उनले भने 'पर्सी तपाईको काम लाईन नबसिकनै हुन्छ। म भन्दिन्छु।'
मेरो रिस शान्त भएन। 'केटाकेटी फकाएजस्तो जवाफ मान्न नसक्ने' भन्दै ती महिलालाई फोन गरेर काउन्टरमा फर्काइदिन भनेँ। उनले त्यसो गर्न नसक्ने जवाफ दिए।
त्यसपछि मैले ती कर्मचारीले गरेको लापरबाहिले मलाई पर्न गएको क्षतिपुर्ति मागेँ, १ रुपैयाँ। ती कर्मचारीले नै मलाई माफि मागेर दिनु पर्ने।
उनले दुईथरी घडीको कुरा गरेर समय नसकिँदै सानदार तरिकाले काउन्टर बन्द गरेर हिडेकोमा माफी माग्नै पर्छ भन्ने मेरो तर्क थियो। 'सर'ले मेरो प्रस्ताव अस्वीकार गरे। उनले विभागीय काराबाही गर्ने बताए तर तेह्र मिनेट कुरा गर्दा पनि उनले चित्त बुझ्दो जवाफ दिएनन्। अन्त्यमा मैले तपाईँहरु सिस्टममा चल्नुहुन्छ भने मलाई एक रुपैयाँ मात्र भए पनि क्षतिपुर्ति भराईदिनुहोला भनी फोन राखेँ।
मेरो देशमा एक रुपैंया क्षतिपुर्ति अलि महङ्गो भयो की? के थाहा पहुँचवाली ती कर्मचारी पहुँचवाला हुन भने कारबाही प्रक्रिया अगाडी बढाउन खोज्ने 'सर'को जागिरै चट गर्दिने पो हुन् की? पहुँचवाला अपराधीले समेत सरकारी अधिकारीको जागिर खोस्न सक्ने देश जो हो यो।