तप्प चुहिन्छ शित त्रिपालबाट काँडा उम्रको जिउमाथि,
भुराहरू ज्वरोले थलिएका छन्,
चिसोले पाल बाहिरको आगो ननिभाउँदै भोकले बाल्दैछ आगो।
एकसरो लुगाले लुगलुग छिन भोटेनी दिदी
सायद जुट्दैछ न्यानोपन सिंहदरबारबाट, सायद फुटेकै यसैका लागि मन्त्रालय।
यसैका लागि सायद पशुपतिमा तलब दान गरिँदैछ, सायद।
सायद सरकार प्रतिबद्ध छ, अरु त अरु रामबाबुदेखि बाबुरामसम्म पनि सायद। त्यसैले बाँढिदैछ कम्बल सुटेड बुटेडलाई, फेसबुक टालिनेगरी।
पत्रकारलाई समाचार खोज्नु परेको छैन, चिसोले कठ्यांग्रिएर १३ को मृत्यु, सायद अझै बढ्ने छ त्यो संख्या! सायद कपि पेस्ट हुन्छन् चिसोहरु, भोकहरु, मृत्युहरू, पकेट पकेटका अनलाईनमा।
म पढिरहेछु एकाबिहान मृत्युको खबर, बुढी ओच्छ्यान भित्रैबाट फतफताउछे, –‘यसपलालिको जाडो त काटिन्न की क्या हो’
म भाव विहिन प्रतिकृया दिन्छु, ‘सायद...।