'एक जुगमा एकचोटीमा आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ' लेखेका थिए गोपालप्रसाद रिमालले। स्वर्गीय गिरिजा प्रसाद कोइरालाले उद्धृत गरेका थिए संविधानसभाको पहिलो बैठकमा यो पंक्ति। त्यसैको प्रतिक्षा थियो सम्पूर्ण नेपालीलाई। तर, पहिलो संविधानसभाको विघटनसँगै शंका बढ्यो, कतै अब 'त्यो दिन' नआउने हो कि?
झण्डै सातवर्षको प्रतिक्षापश्चात संविधान जारी भयो। त्यसको भोलिपल्टदेखि नै जनताले उलटपुलटको अनुभूति गर्न थाले। तर त्यो उलटपुलट यस्तो होला भन्ने कसैले सोचेकै थिएनन्। अहिले उलटपुलट नभएको समाजको कुनै क्षेत्र नै छैन। कसैले यति असहज परिस्थितिको सामना गर्नुपर्ला भन्ने कल्पना गरेका थिएनन्।
ओलीज्यू! यत्रो उलटपुलटको स्थितिको तपाईंलाई जानकारी छ कि छैन? हुन त तपाईंलाई जानकारी होस् पनि कसरी, तपाईंको दैनिकीमा खासै फरक परेकै छैन। अनि न त तपाईंले यतिका दिनसम्म जनजीवन सामान्य गर्न केही प्रभावकारी कदम नै चाल्नुभएको छ। बेलाबेला निद्राबाट ब्युँझिएर अब एकदुई दिनमै नाकाबन्दी खुल्छ भन्नुहुन्छ तर कहिल्यै खुल्दैन।
अब त ब्युँझिनुस् ओलीज्यू! कत्रो लामो निद्रा हो। फेरि तपाईंले खानुभएको खाजाको बिल र पढ्नुभएको पत्रिको बिल सुन्दा लाग्छ, तपाईं गहिरो रूपमा हनिमुन मनाउँदै हुनुहुन्छ। एकपटक सोच्नुस् त, तपाईं हनिमुनमा व्यस्त हुँदा कति पीडित बनेका छन्?
मधेसमा आगो बलेको धेरै भइसक्यो। थुप्रैले सहादत प्राप्त गरिसके। यतिका मानिसको मृत्युले पनि पनि टुटेन तपाईंको निद्रा?
ओलीज्यू, बालुवाटार बाहिरको स्थिति भयाभह छ। दैनिक उपभोग्य वस्तुहरूको चरम अभाव र कालोबजारीले सम्पूर्ण नेपाली आक्रान्त हुँदाहुँदा थाकिसकेका छन्। तर तिनले राष्ट्रियता सम्झिएर नबोलेका हुन्। अत्यावश्यक वस्तु अभाव भएको पनि धेरै भइसक्यो। अझ कालोबजारी!
सोच्नुहोस् त जीवन–मरणको सवाल उठ्दा पनि तपाईं निदाउनु कत्तिको ठीक होला? हुन त तपाईंलाई पनि थाहा भएकै कुरा हो। इन्धनमा सामान्य मूल्य वृद्धि हुँदा पनि देशनै ठप्प हुने देश हो, हाम्रो। त्यसैले यसलाई जनताको कमजोरी होइन, सहयोग सम्झेर तपाईंले आफ्नो निद्र छोट्याउनु जरुरी छ।
तपाईंले संविधानसभामा एकदुई आँप झर्दैमा केही फरक पर्दैन भन्नुभएको थियो। त्यो संविधानसभा छोडेर जाने दलहरूलाई इङि्गत थियो। तर हाल आएर मधेसमा यसले ठूलो हलचल मच्चाइरहेको, किनकि त्यो मधेसका एकदुई जना जनता मर्दैमा फरक पर्दैन भनेर व्याख्या गरिँदैछ।
हालको राष्ट्रपतिको जनकपुर भ्रमणमा पनिः राष्ट्रपतिज्यू विधवा भनेर जानकी मन्दिर चोख्याइएको प्रसंग भनेर अर्थ लगाइँदैछ तर तराईमा भने मन्दिरभित्र सुरक्षाकर्मीले जुत्ता लगाएर प्रवेश गरे अनि कुकुर लिएर भित्र गए भन्दैछन्। तर विधवाको जुत्ता र कुत्ताको प्रसङ्ग भए पनि राष्ट्रपतिमाथिको आक्रमण हो।
ओलीज्यू, सबै आ–आफ्नो सोच हो। तपाईं मधेसवासीको लागि राम बन्छु भनी लाग्नुभएको छ। तर मधेसवासीले तपाईंमा रावणको गुण देख्दैछन्।
तसर्थ ओलीज्यू, तपाईंले विभिन्न अर्थको अनर्थ लागिसक्दा, राममा दोष देखेर रावणमा गुण देख्दा निदाउन पाउनुहुन्न।
अहिलेको स्थितिमा तपाईंले धेरै गर्नुहोला भनेर जनताले अपेक्षा गरेकै छैनन् तर तपाईंले राज्यको संयन्त्रहरूको भरपुर प्रयोग गर्नसक्नुहुन्छ। कालोबजारी रोक्न सक्नुहुन्छ। समाजलाई अनियन्त्रित हुनबाट जोगाउन सक्नुहुन्छ। अरु केही नसके पनि तपाईंका सरकारका मन्त्रीले भूकम्प पीडितको नाममा आफ्नै नातेदारलाई चीन भ्रमणमा पठाउँदा त रोक्न सक्नुहुन्थ्यो?
अहिलेको अवस्थामा तपाईंको निद्रा जति लम्बियो, त्यति नै लम्बिने देखिन्छ काठमाडौँ र मधेसको खाडल। तसर्थ तपाईंले सरकारको तर्फबाट पनि केही त्यागेर आन्दोलनरत पक्षलाई पनि केही त्याग्ने बनाएर दुवैले 'विन–विन' को अवस्थाको सिर्जना गर्न जरुरी छ, किनकि अहिले दुवै पक्षले अरुको कुरा नसुन्ने र आफूले नै जित्नुपर्ने सोच राख्दा अहिलेको अवस्थाको 'सेफ–ल्यान्डिङ' एकदमै कठिन देखिन्छ, जसले देशलाई तहसनहस पार्ने पक्का छ। यसो तपाईंको निद्रा ब्युँझिएको बेला देशको आर्थिक गतिविधिबारे याद गर्नुहोस् त एकपटक।
ओलीज्यू, बालकोटमा नपुगेको निद्रा पुर्याउन बालुवाटरमा आउनुभएको भान गराउँछ तपाईंको चालले। ब्युँझनुस् अब त। बालुवाटार मात्रै निदाउन पाउँदैन।
चाँडो ब्युँझनुस्, देशमा अहिले डढेलो छ। तपाईं ब्युँझदासम्म देश खरानी भइसकेको नहोस्।
ओलीज्यू! निद्रा पुगेन?