नेपाल पुरुषप्रधान देश भनेर भन्ने अनि सुन्ने गरिएको पाइन्छ,कुनै नौलो कुरा होइन।प्राचीनकाल देखि नै महिलाहरु प्रताडित बन्नुपरेको ईतिहासका पानाहरु सरसरी पल्टाउँदा नि छर्लङ्ग हुन्छ।कुनै बेला त्यस्तो पनि समय थियो जुन बेला पतिको मृत्यु पश्चात् पतिको चितामा बसी सती जानुपर्थ्यो। कलिलो उमेर मै आफ्नो उमेर भन्दा दोब्बर या भनौँ तेब्बर उमेरका पुरुषसँग वैवाहिक जीवनमा बाँधिनुपर्ने बाध्यता थियो। फलतः लाउँलाउँ खाउँखाउँ भन्ने उमेर मै पतिको मृत्यु भएपछि सती जानुपर्थ्यो।
त्यति मात्रै कहाँ हो र? डरले कोहि अत्तालिएर वा आगोले पोलेका कारण भाग्न खोज्दा ढुँगाले हान्दै लखेटी लखेटी मारिन्थ्यो।सुन्दा पनि कती भयावह लाग्छ।
चन्द्र शमशेरद्वारा सतिप्रथाको अन्त्य भएको घोषणा पछि महिलाहरुले केही राहत महशुस गरे। त्यस पछि पनि दाइजो नल्याएकै निहुँमा कति महिलाहरुले ज्यान गुमाउनुपर्यो। चेलीबेटी बेचबिखनका घटनाहरु पनि दैनिक जस्तो पत्रपत्रीकाहरुका प्रमुख समाचार नै बन्ने गर्थे,जुन अहिले सम्म पनि निरन्तर चलिरहेकै छ। कमलरी प्रथा,देवकी प्रथा त कहिले छाउपडी प्रथा सबैमा महिलाहरु नै पिडाको सिकार बन्नुपरेको छ।कहिले समाजमै बोक्सीको आरोप लगाइ मलमुत्र खुवाइ,कालोमोसो दलेर यातना दिनुसम्म दिने गरेका समाचारहरु पनि आउने गरेको छ। चिने जानेकै मानिसहरु,उच्च पदमा रहेकाहरुले मार्ने धम्की दिँदै बलात्कार गर्ने गरेका घटनाहरु पनि धेरै नै सार्वजनिक भए।बलात्कार पछि कयौं बालिका,किशोरी तथा महिलाहरु मारिएपनि।
विडम्बना अपराधी खुलेआम हिँडिरहेका छन् त कुनै फाइल बनी कुनै प्रहरी कार्यालयमा थन्किएर रहेका छन् ।पिडितका परिवार न्याय पाउला कि भन्दै एक ठाउँबाट अर्को ठाउँमा धाउँदै बस्नुपरेको छ।
बलात्कार पश्चात् पनि समाजमा इज्जतका साथ महिलाहरुले बाँच्न पाइरहेका छैनन् ।अनेकका लान्छना ,आरोपहरु बलात्कृत महिलाहरुलाई नै लगाइन्छन्।धेरै महिलाहरु बेचिएकै कारण एड्स रोगी भै फर्किँए पनि । फर्किएपश्चात् पनि समाजबाटै तिरस्कृत भएकै कारण आत्महत्या पनि धेरैले गरे। कहिले पढ्न जाने क्रममा दिन दहाडै एसिड आक्रमणमा पर्ने गर्छन् त कहिले कामदारको रुपमा बसेका ससाना बालिकाहरु घरेलु हिंसाको सिकार हुने गर्दछन्।अझै पनि गाउँघर तिर कलिलो उमेरमै छोरीहरुको विवाह गरिदिने परम्परा रहिआएको छ,जुन कहिले अन्त्य हुन्छ थाहा छैन।
हाल आएर महिलाहरुका लागि कार्य गर्ने संस्थाहरु बढे लगत्तै केही राहतको महसुश गरे तापनी महिला माथी हुने गरेको अत्याचार अन्त्य हुन सकिरहेको छैन। महिलामाथीको क्रुर व्यवहारको पराकाष्ठा नाघेको छ। हालसालै मात्र पनि देशको राष्ट्रपति जस्तो गरिमामय पदमा प्रथम महिला राष्ट्रपतिको रुपमा निर्वाचित विद्या भण्डारीलाई विधवा भएकै कारण जानकी मन्दिर छिर्दा अनेकका आरोप ,गाली गलौजको सामना गर्नुपर्यो। मिडिया,सामाजिक संजालहरुमा विधवा छिरेका कारण मन्दिर चोख्याउन थालियो भन्ने खालका समाचार पनि देखियो। कल्पना गरौँ देशमा अन्य विधवा महिलाहरुको हालत कस्तो होला।
के सेता साडी लगाउँदैमा,खाली सिउँदो हुँदैमा कुनै विधवा अलछिनी हुन्छ र? बग्ने रगत त रातै हो ,बाँच्ने अधिकार छैन र? के विधवा या भनौँ कोहि दलित महिला मन्दिरमा छिर्दैमा विध्वंस मच्चिने हो र ? समाजमा रहेका विधवा,एकल महिलाहरुलाई चरीत्रहिनको संज्ञा दिने अधिकार कसले दिएको छ र ?आरोप लगाउनुपुर्व एकचोटि गहिरिएर सोच्नुपर्ने हो,कुनै दिन आफ्नै आमा,दिदीबहिनी,भाउजू पनि त सोही अवस्थाबाट गुज्रनुपर्ने छ।
गलत बाटोमा लाग्ने महिलाहरुको पनि कमि छैन यो समाजमा । कोहि परिवार पाल्न कै लागि बाध्यताले त कोहि अध्ययन गर्न खर्च जुटाउन त कोहि जानाजानी नै। कोहि गलत बाटोमा हिँडे भन्दैमा अन्य महिलाहरुलाई पनि सोही दृस्टिकोणले हेर्नू अलि न्यायोचित नहोला कि ? एक पुरुष शिक्षित हुनु भनेको उ मात्रै शिक्षित हुनु हो तर एक महिला शिक्षीत हुनु भनेको सिंगो रास्ट्र नै शिक्षित हुनु हो।
महिलाहरुको कदर गर्न सिकौँ,महिला हिंसा भैरहेको देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गरौँ। परिवर्तनको बिगुल फुक्दैमा परिवर्तन सम्भव छैन।अवसर तथा शिक्षाको पहुँच सबै क्षेत्रका महिलाहरुमा पुर्याउन सम्बन्धित सरोकारवाला,संघसंस्थाको प्रमुख जिम्मेवारी रहेको देखिन्छ।