नेपालको इतिहासले हरेक १० बर्ष जतिको फरकमा नयाँ शक्तिलाई उचाइ दिएको छ। २०३६ साल, २०४६ साल, २०५६ देखि २०६२ सालको अवधि आदीले नयाँ शक्तिलाई जन्म दिइरहको थियो। २०४६ साल र २०६३ सालपछि सत्तामा आएका शक्तिको गतिविधि र परिवर्तन र विकासको जनचाहनाले फेरि अर्को नयाँ शक्ति आउने सङ्केत गरिसकेको छ।
वर्तमान विश्वले विकासमा मारेको फड्कोसँग आफूलाई तुलना गर्दा नेपाली जनतामा एक किसिमको हिनताबोधले घर बसाएको छ। विशेषगरी युवापुस्तामा पलाएको हिनताबोधले उनीहरुलाई विदेश पलाएन हुन प्रेरित गरिरहेको छ। व्यावसायिक दक्षता भएका जति युवा नेपालमा छन्, चाहे उनीहरु कुनै पार्टीको साधारण कार्यकर्ता किन नहुन्, उनीहरु सबै विकास र परिवर्तन दिन सक्ने एउटा शक्तिको खोजीमा छन्।
कुनै पनि नयाँ समूह जतिसुकै सक्षम र समर्थ भएपनि उसलाई समाजमा चिनिएको नेतृत्व आवश्यक पर्छ। नयाँ समूह एक्लै अगाडि बढ्न खोज्दा त्यसले बढी समय लिन सक्छ अर्थात् समयको गतिसँगै आफ्नो गति अगाडी बढाउन कठीन पनि हुनसक्छ।
नेपाल एउटा एस्तो मुलुक होइन जहाँ एउटा सोसिएल मेडियाको भरमा मात्र देशको नेतृत्व परिवर्तन गर्न सकियोस्। यहाँका डाँडापाखा पखेरामा अझै पनि टेलिभिजन, कम्प्युटर आदिको बारेमा ज्ञानसम्म नभएको जनसंख्या सोसिएल मेडिया प्रयोग गर्ने जनसंख्या जति नै छ। देशमा परिवर्तन ल्याउन र परिवर्तन स्थायित्व दिनको लागि त्यो टेलिभिजन, कम्पुटर आदिको बारेमा ज्ञान नभएको देश को करिब आधा भन्दा बढी जनसङ्ख्या ओगटेको जनसमुदायको साथ र समर्थन उत्तिकै आवश्यक पर्नसक्छ।
हालसालै स्थापित विवेकशील नेपाली, रविन्द्र मिश्रसहितले बहस चलाइरहेको नयाँ शक्ति र बाबुराम भट्टराईको नयाँशक्ति अभियानको तात्विक उदेश्य एऊटै हुनसक्छ तर यी सबै शक्तिहरु एकठाउँ भएमा मात्रै जनताको परिवर्तनको चाहनालाई छिटो मुर्तरुप दिन सक्नेछन्।