तिम्रो मयलपोस सफेद छन्
तिम्रो जुहारी सफा छ
तर
मन त निख्खर कालो रहेछ ।
तिम्ले मुखमा राम बोकेर के भो ?
राम जपेर के भो ?
ओवामालाई सनातन धर्म देखाएर के भो ?
सिन्जो आवेलाई गीता बाँडेर के भो ?
एउटा असल छिमेकीलाई
मौका पाउनासाथ
पीडा दिएर
ढाडमा छुरा हान्छौ भने
तिमी ढोँग सिवाय केही होइनौ
तिमी फगत मोदी हौ
तिमी काला मनका धनी रहेछौ ।
हाम्रा नानीहरू स्कुल गएका छैनन्
हाम्रा विद्यालयहरू बन्द बन्द छन्
फगत तिम्रै कारण
आवतजावत ठप्प छ
हाम्रो स्वाधीनतामाथि धावा बोलेर
हाम्रै वन्धुहरूलाई फुटाएर
दशगजामा
हाम्रा पेट्रोलका ट्यांकरहरू,
खाद्यान्नका ट्रकहरू,
औषधिका बाक्साहरू
रोकेर
तिम्ले नकाबन्दी लगायौ
हाम्रा चुलो निभायौ
हाम्रो चाडपर्व खल्लो खल्लो बनायौ
हामीलाई निरन्तर
दुखका भारी बोकाएर अनुदार बन्यौ
हामीलाई कष्ट दिइरह्यौ
मोदी
तिमी शिशी मनमा रहेछौ
तिमी साँच्चै काला मनका धनी रहेछौ ।