१२ बर्षे जनयुद्द पछि जब माओवादी मुल्धारमा आयो, आम जनताको मनमा आशाको दियो पलायो। अब त देशमा शान्ति आउँछ भन्ने भयो। त्यसपछि संविधानसभाबाट संविधान बनाउने निहूँमा देश फेरी राजनीतिक अस्थिरताको भुमरीमा फस्यो।
९ बर्षको राजनीतिक अस्थिरता र पछिल्लो समयको महाभूकम्पपछि जब देशमा संविधान आयो, अधिकांश जनता फेरि उत्साहित भए। तर यो खुसी पनि धेरै टिक्न सकेन।
संविधान लागु नहुँदै देशको दक्षिणी भागका जनता अधिकार नपाएको भनी आन्दोलित थिए। त्यो आन्दोलन चुलिँदै गयो। चोकको चिया पसल होस् या सामाजिक सञ्जाल, यी नै बिषय वरिपरि हुन्छन्। सामाजिक सञ्जाल मात्रै हेर्यो भने पनि यी बिषयमा दुई ध्रुवमा बाँडिएका समूह देखिन्छन्।
यसैबीच सप्तरीबाट नराम्रो खबर आयो। छतमा बसेका दिलिप साह र उनकी छोरी मुस्कान साह गोलीको सिकार भए। उनीहरु आन्दोलनकारी थिएनन्। दिलिपको अस्पतालमा ज्यान गयो, छोरी घाइते भइन्। ५ बर्षकी घाइते मुस्कानको फोटोले मलाई चिन्तित तुल्यायो।
३ महिनादेखि आन्दोलनरत आफ्नो घर समाज देखेकी र छतमा बसिरहेको बेलामा प्रहरीको गोली लागि आफू घाइते मात्र नभएर आफ्नो बुवा पनि गुमाएकी ती अबोध नानीको कलिलो मानसपटलमा के-कस्तो असर पर्यो होला। उनको दिमागमा आज जुन छाप बसेको छ त्यो मेट्न सजिलो छैन। ठूली भएर उनले राज्यलाई छतमा बसिरहेका आफ्ना बुवालाई मार्नुको कारण सोधिन भने राज्यले के जवाफ देला?
५ बर्षको हुँदा आफूलाई गोली किन हानेको भनेर सोधिन भने के जवाफ पाउँछिन्?
मधेसी मोर्चासँग आफ्नो बुवासँग खेल्दै घुम्दै हुर्केको बालापनको अधिकार मागिन् भने उनीहरुले दिन सक्लान्? आन्दोलनका घाइते र पीडितलाई राज्यले हेर्नुपर्छ भनेर उनीहरु पन्छिने छन्। मानौं राज्यले उनलाई सबै कुरा दियो। तर, आफ्नो बुवाको छत्रछायाबाट उनी सधैं बञ्चित हुने भइन्।
के यो राज्यलाई उनले आफ्नो मान्न सक्लिन? देशको सुरक्षार्थ खटिएका प्रहरी देखेर के उनी भयभित नभई बस्न सक्लिन? के उनले कहिले प्रहरी र राज्यलाई विश्वाश गर्न सक्लिन।
प्रहरी त टाढाको कुरा, के उनले आन्दोलनरत मोर्चालाई नै विश्वास गर्लिन्? यस आन्दोलन र घटिएका घटनाले मुस्कानको मुस्कान मात्र हैन विश्वाश पनि जिन्दगीभरको लागि खोस्यो।
न त सरकारको न त मधेसी मोर्चा र आन्दोलनकारीको ध्यान यता गएको छ। अहिले मधेशमा सरकार र सरकारी संयन्त्र विरुद्द यस्तो घृणा फैलाइएको छ। जसले मधेश र मधेसबाहेक देशका अन्य भागबीच भावनात्मक दुरी बढाएको छ। यो दुरी दिन दुईगुना रात चौगुना झैं बढिरहेको छ। यस्को असर सबैभन्दा बढी त्यही बाल-मष्तिस्कमा पर्छ। भोलि मधेसका बालबालिका ठूलो भएपछि यही राज्य-संयन्त्रमा काम गरेर देश हाँक्नुपर्ने हुन्छ। के उनीहरुले अपनत्व महशुस गर्न सक्लान्?
मुस्कान एउटी प्रतिनिधी हुन्। आन्दोलन र नाकाबन्दीले मधेस र पहाडका लाखौं कलीला मस्तिस्क र तिनका मनोविज्ञानसँग खेलवाड गरेको छ। अझ हामी सामाजिक सञ्जालमा मिल्नमिलाउन छोडेर दोषारोपणमा व्यस्त छौं। यहाँसम्म कि विदेशमा दबाब कार्यक्रम समेत फरक-फरक हुनथाल्यो- नाकबन्दी बिरुद्ध र सरकार बिरुद्ध।
यदि भविष्यमा यी बालबालिकाले यस आन्दोलन र यसले ल्याएको विभाजित भावनाको हिसाब मागे भने राज्य, आन्दोलनकारी र नागरिक समाज सबैले दिन सक्नुपर्छ। गल्ती सबैको छ, स्वीकार्यौँ भने ती लाखौं 'मुस्कान'हरुमा अलिकति भएपनि मुस्कान फर्किएला।
नत्र उनीहरुले कहिले माफ गर्नेछैनन्।