भारतीय जनतामाझ मेरो अथाह आदर र प्रेम रहेको छ तर बिडम्बना ठूलो प्रजातान्त्रिक मुलुक भएता पनि भारतले अन्य देशमा विकसित प्रजात्रान्तिक अभ्यासलाई आदर गर्न सिकेको रहेनछ। भारतीय कुटनिती चरमपन्थी स्वभावले ग्रस्त भएकाले दक्षिण एसियाका अन्य देशका नागरिकहरुसँग भारतलाई आदर गर्ने आधार छैन।
भारत सरकार आफ्नो छिमेकीहरुसँग कुटनितिक तवरले भन्दा गैरकुटनितिक तवरले निच व्यवहार प्रस्तुत गर्नुलाई आफ्नो रणनिती ठान्दोरहेछ। भारतीयहरुमा कुटनितिक ज्ञानको स्तर दयानीय रहेछ, हाल नेपालमा देखाएको व्यवहार, मेरो बच्चा बेलाको व्यवहारसँग मिल्दछ। कसैले मलाई जिस्कायो, गाली गर्यो वा पिट्यो भने म अझै लडिबुढी गरेर रुन्थेँ अनि आमाको गाली पनि मैले नै खानु पर्थ्यो।
नेपालीको खुसी र समृद्धीको कोसेढुङगा संविधानमा उनीहरुको गिद्धेनजर परेको छ। भारतले एक भुपरिवेष्टित राष्ट्रका नागरिकलाई अति आवश्यक वस्तु ठप्प पार्नुलाई आफ्नो पुरुषत्व ठानेको छ। यस्तो गैरन्यायिक कार्यको जति निन्दा गरेता पनि कम हुन्छ। त्यसैले भारतलाई अन्तराष्ट्रिय कानुनको कठाघारामा उभ्याउनुपर्छ र अन्तराष्ट्रिय स्तरमा भन्डाफोर गर्नुपर्छ।
जेनेभा महासन्धी (१९४९) मा प्रतिशोध वा बाद्ला लिने नाममा सर्वसाधारण नागरिकहरुको अधिकार र सुरक्षामाथि प्रतिकुल असर पर्ने गरी कुनै पनि कार्य गर्न निषेध छ। साथै अन्य थुप्रै अन्तराष्ट्रिय कानुनलाई भारतले लत्याएको छ। भारत सरकार नैतिकताहिन व्यवहार सार्वभौमसत्ता सम्पन्न छिमेकीसँग किन गर्दैछ?
आफैं आन्दोलनकारीसँग साँठगाँठ गर्ने, आन्दोलनकारीलाई उचाल्ने र सुरक्षामा असर पुग्छ भन्ने भारतको दोहोरो रणनीति आलोचना योग्य छ। त्यसैले हाम्रो लागि भारत रोटी- बेटिको छिमेकी, सजिलो छिमेकी,नजिकको छिमेकी भएता पनि असल छिमेकी होइन भन्ने प्रमाणित भएको छ। चाहे नाकाबन्दी घोषित होस् या अघोषित त्यसको कुनै अर्थ छैन। अर्थ छ त केवल भारतको नियत र नेपालीले पाएको कष्टको।
मधेसी मोर्चालाई मेरो प्रश्न, ९१ प्रतिशत जनप्रतिनिधीद्ध्वारा हस्ताक्षरित हाम्रो संविधानमा आधा जनसंख्या संबिधान बाहिर छ भन्दै बर्बराउनु तपाईंहरुको कस्तो अंकगणित हो? सर्वसाधारण नागरिकको बाँच्न पाउने अधिकारकै हनन गर्ने तपाईंहरुको हिंसात्मक आन्दोलनलाई सारा नेपाली जनताले माझी औंलाले सलाम गरेसकेका छन् तथापी तर्क र विचार शुन्य भएर कतिन्जेल आन्दोलनको रटान लगाउनुहुन्छ?
बरु तीन ठूला पार्टीसँग आफ्नो माग सम्बन्धमा जुझारु र अनुशासित तवरले वार्ता गर्नुहोस्। आर्थिक विकास मधेशी मोर्चाको प्रमुख एजेन्डा बनाउनुहोस्। राजनीतिक अन्योल र बेथिती अन्त्य गर्न तत्परता देखाउनुहोस्। भारतीय चरामपन्थी व्यवहारको भर्त्सना गर्नुहोस्।
यति गरे तपाईंहरुलाई नेपाली जनताले अवश्य साथ दिनेछन्।