झन्डै ३ महिना भइसक्यो तराई बन्द भएको। आजसम्म ४६ जनाको मृत्यु भइसक्यो। कुन शान्तिपूर्ण आन्दोलनमा यसअघि ४६ जना मरेका थिए ? अझै 'ओइ लास तँ किन मरिस' भनेको देख्दा पो अचम्म लाग्छ।
यहाँ कुनै लास ५० लाख पाउने लोभमा मरेको होइन। त्यस्तो लान्छना लगाउनु त अपराध हो। अधिकार खोज्न पाउने हक हरेक नेपालीलाई उत्तिकै हुनुपर्छ। आफ्नो अधिकार सम्झेर मधेसले आन्दोलन गर्न पाउनु पर्छ। राज्य इमान्दार, उत्तरदायी वा जनमुखी हुन्थ्यो भने कोही आन्दोलनको कठिन बाटोमा होमिन्थेन। आफैंलाई नाकाबन्दी गर्नु पर्ने यो कस्तो बिडम्बना!
गैरजिम्मेवार सरकार भयो भने समाजमा विद्यमान सङ्क्रमणको कारण एउटा पक्ष उग्र क्रान्तिमा लग्नु नौलो होइन। तराईको हकमा पनि अहिले त्यस्तै भइरहेको छ। सरकार लाचार र गैरजिम्मेवार प्रस्तुतिका कारण मधेशका नेताहरु आन्दोलनका लागि जनतालाई उक्साउन सफल भए। आखिर लासमाथि उनीहरुले पनि त राजनीति गर्नुछ! गुमेको प्रतिष्ठा यसै आन्दोलनबाट संस्थागत गर्नु छ।
काठमाडौं सधैं झैँ स्थिर देखिन्छ| बोल्नेहरु छन्, तर मोर्चाले गरेको सीमा नाकाबन्दीको आन्दोलनमा भारतको अघोषित समर्थनको कारण तेल र राष्ट्रियतामा अल्झेका छन्। "सुझबुझ गया तेल लेने" भने जस्तो स्थिति आएको छ।
जबसम्म काठमाडौं राम्रोसँग जाग्दैन तबसम्म समस्याको हल पनि हुँदै। किन कि सरकारका लागि नेपाल भनेको काठमाडौं हो। त्यसैले मधेसले नाकाबन्दीको कोसिस गरेको कुरा अनौठो नमाने यो देसमा बन्द गरेमात्र आवाज ठाउँमा पुग्छ भन्ने कुरा सबैलाई थाहा छ।
भारतको सहयोगमा नाकाबन्दी गरियो भन्ने छ। नेपालमा आन्दोलितलाई आफ्नो स्वार्थ अनुरुप भारतले सहयोग गरेको यो पहिलो चोटी हो र? तेसै किन लेखिन्थ्यो र नाकाबन्दी गर्ने भारतलाई 'थ्यांक यु इन्डिया?' कुनै जमानामा बिपीले पनि यसै भनेका थिए।
हाम्रो देशमा प्राय आन्दोलन भनेको नै निषेधित क्षेत्रमा जाने, पुलिसलाई ढुंगा हान्ने, पुलिसले लाठी, रबर बुलेट, अश्रुग्यास हान्ने हो। अब त्यसमा गोली पनि समावेश हुन्छ तर गोलीचाहिँ संयम भएर चलाउने हो| किन कि मृत्युले आन्दोलन साम्य कहिल्यै पर्दैन झन् उग्र बनाउँछ, उत्तेजेना थप्छ।
हतियार लिएर आउ भनेर उकास्ने नेता पनि कमका होइनन्। उनीहरुले पनि कति मरे र कति घाइते भए भन्ने कुराको रजिस्टर त पक्कै बनाएका होलान्।
हामीले अहिलेसम्म आफ्नो विचार लिएर हिड्न सिकेका छैनौँ| हामी आफूले जहिल्यै गाली गर्ने गरेका नेताका दास हौँ। नत्र ४६ लासको सट्टा ४६०० अघोसित लासहरुको जिम्मा बोक्न पर्ने नाकाबन्दीलाई काँध हालेर हिड्नु पर्ने बाध्यता थियो र? मधेस आन्दोलनमा राज्यले मिलाउन पर्ने अनेक महत्वपूर्ण विषयहरु होलान् तर अहिले मधेस आन्दोलन एजेन्डाको लडाईँ कम र तिरस्कार, अपहेलना, विरुद्धको लडाईँ भइसकेको छ। राजनीतिक एजेन्डा नभइ यी कुरा कसरी सम्बोधन हुन्छ?
आन्दोलनमा दमन गर्ने र आन्दोलन उग्र बनाउने दुवै सजायको भागीदार हुनु आवश्यक छ।