सन् १९५० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यसंगै संसार ' विकसित ' र 'अविकसित ' गरी दुई भागमा विभाजन हुन पुग्यो । प्रविधिले युक्त राष्ट्रहरु विकसित राष्ट्रको रुपमा चिनिए र प्रविधिमा कमजोर स्थिति भएका राष्ट्रहरु भने अविकसित राष्ट्रको रुपमा परिचित भए।
विश्वयुद्धको कठोर उपजको रुपमा धेरै राष्ट्रहरु आर्थिक, सामाजिक र राजनीतिक रुपमै दयनीय अवस्थामा पुगे। विश्वमा निरन्तर बढ्दै गएको गरिबी, भोकमरी , अराजकता आदिको अन्त्य गर्ने नाममा विकसित राष्ट्रहरुले थोपरेको अर्थव्यवस्थाले अविकसित राष्ट्रहरुलाई परनिर्भर बनाउँदै लग्यो।
यही परनिर्भरता र विश्वव्यापी पूँजीवादी आर्थव्यवस्थाले आजको विश्व एउटै छातामुनि समेटिएको छ। अमेरिकाको न्युयोर्कमा आएको आर्थिक परिवर्तनले काठमाडौंको न्युरोडलाई हल्लाउने तागत राख्दछ। यो परनिर्भरताका कारण विकासोन्मुख राष्ट्रहरु नै मारमा परेका छन्।
अमेरिकी समाजशास्त्री इम्मानुएल वालेस्टेनले विश्वका सबै राष्ट्रहरुलाई केन्द्र राष्ट्र , अर्धपृष्ठ राष्ट्र र पृष्ठ राष्ट्र गरी तीन भागमा वर्गिकरण गरेका छन् । अमेरिका , बेलायत जस्ता राष्ट्रहरु केन्द्र राष्ट्र हुन् भने भारत र कोरिया जस्ता राष्ट्रहरु अर्धपृष्ठ राष्ट्र हुन्। नेपाल जस्तो मुलुकचाहिँ पृष्ठ राष्ट्र हो। केन्द्र राष्ट्रले जहिले पनि अर्धपृष्ठ राष्ट्र र पृष्ठ राष्ट्रसँग सस्तो मुल्यमा कच्चा पदार्थ खरिद गर्दछ र उच्चस्तरीय प्रविधिको प्रयोग गरी बहुमुल्य सामान उत्पादन गर्दछ। उत्पादित वस्तुलाई फेरि तिनै राष्ट्रमा भारी मुनाफा आर्जन गर्दछ। यस्तो असमान व्यवहारले गरिब राष्ट्र झन् गरिब र धनी राष्ट्र झन् धनी हुँदै जान्छ।
हाल नेपालमा देखिएको इन्धन सङ्कट परनिर्भरताको एउटा ज्वलन्त नमुना हो। नेपाल र भारतबीचको सम्बन्धलाई परनिर्भरतावादको दृष्टिकोणबाट व्याख्या गर्ने हो भने भारत नेपालको लागि केन्द्र राष्ट्र हो र नेपालचाही पृष्ठ राष्ट्र हुन आउँछ। यसै सम्बन्धका कारण नेपाल भारतद्वारा निरन्तर रुपमा शोषित हुँदै आएको छ।
के नेपाल सधैं यसरी नै शोषित हुँदै आएको थियो र? पक्कै पनि थिएन। नेपाल यो भुमरीमा त्यति बेला फस्यो जब नेपालले खुल्ला व्यापार नीति अपनायो। यसैकॊ फाईदा उठाउँदै भारतले विभिन्न असमान सन्धि र बल मिचाईद्वारा नेपाली उत्पादन , व्यापार व्यवसाय तथा निर्यात नीति माथि हस्तक्षेप गर्दै आयो। फलत: आज नेपालको ठूलो बजारको हिस्सा भारतको पकडमा रहेको छ। यसको असर नेपाली समाजको दैनिक जीवनमा प्रत्यक्षरुपमा देख्न सकिन्छ। कुनै समय भारत र तिब्बतसँग राम्रो व्यापार गर्ने नेपाल आज धेरै क्षेत्रमा भारतको एकाधिकारमा सिमित रहेको छ। यो कुरा एउटा सार्भभौम राष्ट्रको लागि पक्कै पनि राम्रो सङ्केत होइन तर हालको घटनाक्रम र भारतको चर्तिकलाले भने नेपाललाई गतिलो पाठ सिकाएको छ।
यस्तै सन्दर्भलाई समेट्दै नवामार्क्सवादी अर्थशास्त्री प्रा. समिर अमिन लेख्छन्, "जबसम्म अविकसित राष्ट्रहरु विश्व पूँजीवादी व्यवस्था वा संरचनाबाट अलग्गिएर स्वनिर्णय गर्न सक्दैनन् तबसम्म अविकसित र परनिर्भरताको संघारमा बाँचिरहेका हुनेछन्।"
हरेक दु:खले सुख बोकेर आएको हुन्छ भने झैं भारतले लगाएको नाकाबन्दीले सम्पूर्ण नेपालीलाई परनिर्भारतासँग लड्नको लागि चेतना जागृत गराइदिएको छ। भारतको यो ज्यादतीले हामी सबैको जीवन कष्टकर बनाएको भएता पनि भारतको यो हर्कत नेपालको विकासका लागि कोषेढुङ्गा बन्नसक्छ।
नेपालको वर्तमान नेतृत्वले अबका दिनमा पेट्रोलियम पदार्थको उपभोगमा कटौति गर्दै जलविद्युत, सौर्य उर्जा, वायु उर्जा, बायोमास उर्जा जस्ता वैकल्पिक उर्जामा ध्यान केन्द्रित गर्नु अपरिहार्य छ। पेट्रोलियम पदार्थको उपभोग बढाएर दिर्घकालीन विकासको कल्पना गर्न सक्दैनौँ।
त्यसैले भारतले १ महिना मात्र होइन तर सधैंको लागि बोर्डर बन्द गर्छ भने पनि सकारात्मकर रुपमा लिनुपर्छ। त्यसलाई नेपालको हितमा प्रयोग गर्नुपर्छ। तत्काल हेर्दा जनजीवन कष्टकर भएको देखिए पनि यसले कहिले नसकिने भारतीय पूँजीवादी शोषणबाट नेपालको रक्षा गर्नेछ। यसलाई समस्याको रुपमा नहेरी एउटा मौकाको रुपमा लिएमा यो नेपालको लागि आर्थिक क्रान्तिद्वारा विकासको फड्को मार्ने सुवर्ण अवसर हो।
यसको अर्थ हामी सारा दुनियाबाट बिल्कुलै अलग हुनेछौँ भन्ने पनि होइन। आज विश्व विज्ञान, प्रविधि तथा संचारको कारण एउटै गृहको रुपमा परिचित भइसकेको छ। यस्तो युगमा हामी कुनै पनि राष्ट्रसँग छुट्टिएर बस्न सक्दैनौँ। तर, कुनै पनि आधारभूत आवश्यक्ता पूर्तिका लागि पूर्णरुपमा छिमेकी मुलुकसँग भर पर्नु हुँदैन भन्ने पाठ यो नाकाबन्दीले सिकाएको छ। राष्ट्रिय स्रोत र साधन नै हाम्रो आधार हो जसमाथि टेकेर नै सुरक्षा र गौरवको अनुभूति गर्न सक्छौँ।