हाम्रो समाजले विभिन्न समय, परिस्थितिमा विभिन्न खाले आमूल परिवर्तनहरू गरेर विश्व समुदायलाई चकित पारेको छ, जुन सोचहरू कहिले सडक त कहिले सदनबाट उठेका छन्। तर तिनै सोचलाई व्यवहारमा रूपान्तरण गर्न हाम्रो सडक र सदनको उत्तिकै महत्व भएको पाइन्छ। तर कहिलेकाहिँ सडक अनि सदनको तालमेल नमिल्दा कतिपय उपलब्धिको संरक्षण गर्न अनि हामी हाम्रो निर्णय लिन सबल छौँ भनेर प्रमाणित गर्न चुक्ने गरेका छौँ। जसको पर्याप्त फाइदा हाम्रा छिमेकीहरूले हाम्रा दाजुभाइहरूलाई नै फुटाएर लिने गरेका छन्। अनि हाम्रो त्यस्ता हतारमा लिएका निर्णयबारे कैयौँ पछिसम्म पनि बहस र पश्चत्ताप गर्न बाध्य हुन्छौँ।
हामीले हालैको वर्षमा भोगेका विभिन्न विपत्तिको पनि हामीले आफैँ हाम्रो सोच अनि सडक र सदनको समर्थनबाट विश्व समुदायसामू आफ्नो दुःख लुकाएर मुहारमा हाँसो देखाई छाती फुलाएर सामना गर्ने गर्छौं। तर हाम्रा नेताज्यूहरूले बेला बखत आफ्नो स्वार्थको राजनीतिमा लाग्दा,वहाँहरूमा राष्ट्रवादभन्दा व्यक्तिवाद हावी हुँदा वहाँहरूको सडक र सदनको समर्थन गुम्ने गरेको छ, जसले हामी सबैमा नकारात्मक सोच हावी हुने गरेको छ।
यसै बखत हाम्रा छिमेकीले पनि हाम्रो भाइभाइ बीच फुट ल्याउने सोचको बिजारोपण गर्ने गरेको पाइन्छ। तर अब हामी यस्ता बेलाबखत हुने बिजारोपणबाट कहिले सचेत हुने त?
अबको केही घण्टामा नै कुनै जालझेल भएन भने हाम्रो मुलुकले नेपालको संविधान २०७२ जारी भएपछिको पहिलो प्रधानमन्त्री पाउँदै छ र अहिलेको सडकको सोच अनुरुप सबै प्रमुख दलको समर्थनमा भएको पाइएमा हामी संसारमा नै हाम्रो छिमेकीले हामीमाथि गरेको अन्यायको बेला हामी एकजुट छौँ भन्ने सन्देश पु¥याउन सक्छौँ। तर आज हामीले त्यो गर्न सकेनौँ जसले गर्दा संविधान जारी गरेर वाहवाही कमाएका प्रधानमन्त्री शुसील कोइरालाको छबि पनि धमिलिएर गयो। हुन त संसदीय व्यवस्थामा प्रतिपक्ष भनेको उसको सुन्दरता हो तर हाम्रो देशमा प्रतिपक्षले कहिले पनि आफ्नो भूमिका इमान्दार प्रतिपक्षको ननिभाउँदा प्रतिपक्षको सुन्दरताभन्दा कुरूपता बढी छ।
तसर्थ अहिलेको परिस्थितिमा प्रतिपक्षको भुमिका राम्रो संग निभाउने पार्टीलाई कै खाँचो बढी छ। देशलाई संकट परेको बेला एकढिक्का भएको सन्देश जानु राम्रो हुने थियो। अझै पनि प्रतिपक्षले संवेदनशील मुद्दामा समर्थन गरोस र नराम्रा कामको आलोचना गरोस।