नेपाल र भारतबीचको सम्बन्धमा अहिले हदैसम्मको चिसोपना देखिएको छ। भारतको अघोषित नाकाबन्दीपछि फेरि एकपटक हामी कतिसम्म भारतनिर्भर छौं र उसलाई चित्त नबुझ्ने बित्तिकै आफूमा निर्भर राष्ट्रमा उसले कसरी आफ्नो एउटा राज्यलाई जसरी आफ्ना मागहरु लाद्न खोज्छ भन्ने अनुभव अहिले फेरि गर्दै छौं।
यो समस्या पनि केही समयमा समाधान होला र नाकाहरु पुन: सञ्चालनमा आउलान्। यसमा हामी सबै आशावादी हुनैपर्छ। तर अहिलेको यो नाकाबन्दीले नेपालको अबका दिर्घकालीन नीति बनाउँदा केही कुरा समावेश गर्नै पर्ने अवस्था सिर्जना गराएको छ।
अहिले नेपाल भारतमा जति निर्भर छ त्यसले भारतलाई उसको सहयोग बिना यी नेपालीहरु केही गर्न सक्दैनन् भन्ने छ। यसमा केही सत्यता पनि नलुकेको होइन। यो अवस्था आउन हामी आफैं जिम्मेवार छौं। अहिलेको नाकाबन्दीले सबैभन्दा मार पेट्रोलिएम पदार्थ र ग्यासको अभावले परेको छ। यो समस्याको समाधान गर्न हामीले हाम्रो उत्तरी छिमेकीको सहयोग लिनै पर्छ। अब हामी भारतबाट ईन्धनको सजह आपुर्ती भए पनि चीनबाट पेट्रोलको आपुर्ती सुरु गर्नुपर्छ। यसले आगामी दिनहरुमा भारत तर्फको ईन्धन निर्भरता अल्पकालिन रूपमा कम गर्ने छ। त्यस्तै हाम्रो भण्डारण क्षमतालाई कम्तीमा तीन महिना सम्म धान्ने बनाउनु आवश्यक देखिएको छ। तर दिर्घकालीन सोचका रूपमा हामीले देशलाई वातावरण मैत्री उर्जाको उपायोग गरेर बिजुलीबाट चल्ने सवारी साधन, रेल, ट्राम, ट्रलीबसलाई पेट्रोलिएम पदार्थको विकल्पको रुपमा लिनै पर्दछ।
त्यस्तै चीन तर्फको नाकाहरु जस्तो सुकै अवस्थामा पनि सुचारु गर्नु पर्ने बेलामा, पहिरोको निहुँमा नाका खोल्न उदासीनता देखाएर नेपालको राष्ट्रिय सुरक्षामा खतरा पैदा गराउने काम भएको छ। बल्ल अहिले भारतले नाकाबन्दी गरेपछि नाका सुचारु गर्न तत्परता देखाउने सरकारको खुलेरै आलोचन गर्नु पर्छ। भारतको दादागिरी कम गर्न हामीले अब जस्तो सुकै अवस्थामा पनि चीनको नाका खुला राख्ने अनी भारत तर्फ जस्तै बढी भन्दा बढी नाकाहरुलाई सबारी आवत जावत गर्न मिल्ने गरी स्तरोन्नती गर्ने दिन आएको छ। यसो गरेमा हाम्रो भारत र चीन संगको सम्बन्ध समान रूपमा विकास हुने अवसर सिर्जना हुने छ।
अबको अर्थतन्त्र बिजुली निर्यात र पर्यटनको विकास गर्ने त छँदै छ। तर पूर्ण रुपले कुनै पनि बहानामा भारतसँग निर्भर अर्थतन्त्रको विकल्प खोज्नु आवश्यक छ। नेपाललाई हरसम्भवरुपमा आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास गर्न नयाँ ढंगले अगाडी बढ्ने दिनको उदय गराएको छ।