आदरणीय बाबुराम भट्टराईजी
नमस्कार ।
हामीलाई लाग्छ तपाईंले एउटा सुन्दर अवसरको सिर्जना गर्नु भएको छ र त्यो अवसर के गर्दा सफलतामा परिणत हुन सक्छ, त्यसको राम्रो हेक्का छ तपाईंमा। तपाईंको राजीनामा (पार्टी र संविधान-सभाबाट) त आयो तर साँचो अर्थमा त्यसले नैतिक बल त्यतिबेला मात्र प्राप्त गर्ला जब अहिलेसम्म राज्यले दिएका सबै सुविधाहरु तपाईंले त्याग्नु हुनेछ। अहिले वर्तमान पूर्व प्रधानमन्त्रीहरुमध्ये यसो गरिहाल्न सक्ने विवेक तपाईंमा छ भन्ने हामीलाई लाग्छ।
चुनवाङ बैठकदेखि पार्टी तपाईंको कार्यदिशा/भिजनमा चल्यो तर तपाईंले नेतृत्वमा कहिले दाबी गर्ने स्थितिको सिर्जना भएन। कम्युनिस्ट पार्टीको चलन चल्ती अनुसार जसको भिजन उसको नेतृत्वमा पार्टी चल्नु पर्ने, त्यसो हुन सकेन। यो अर्थमा तपाईंको राजीनामा अर्थपूर्ण नै छ तर भूतले खाजा खाने बेलामा भने जस्तै भएको छ। समय र परिस्थितिले गर्दा तपाईंको राजिनामाको पछाडि प्रशस्त शंका गर्ने ठाउँ छन्। अहिलेका आन्दोलनकारी दलको वास्तविक अवस्था थाहा हुँदाहुँदै संविधान संशोधनको सट्टा पुनर्लेखन वा अन्य केही विकल्प रोज्नुभयो भने तपाईं पनि छिमेकीको इशारामा नै चल्ने नेता प्रमाणित हुनुहुनेछ।
फेरि हामीलाई छिमेकीहरु नै चाहिन्न भन्नेचाहिँ होइन। अहिलेको बदलिँदो विश्व परिवेसमा सन्तुलित समभाव अनि भाइचाराको सिद्दान्तमा आधारित सम्बन्धमात्र दीर्घकालीन हुनेछ| यो तपाईंको व्यक्तिगत राजनीतिक जीवनका लागि लगभग अन्तिम अवसर हुनसक्छ। फेरि फेरि यस्तो अवसर नआउन सक्छ। तपाईंले आफ्नो उमेरको पनि त ख्याल राख्नु राम्रो हुनेछ।
तपाईंको नयाँ शक्तिको बहसलाई धेरै अगाडिदेखि नजिकबाट हेरिरहेका छौं। यसको सम्भावनामा धेरै नेपाली नागरिकहरुले आशा राखेको स्थिति पनि केही हदसम्म साँचो हो। तर, तपाईंले बुझ्नु नै भएको तथ्य “नयाँ शक्ति पुरानो जगका आधारमा निर्माण हुन सक्दैन”। त्यही भएर उही पुराना तरिकाले राजनीति गर्ने जमातलाई बटुलेर निर्माण भएका पार्टीहरुभन्दा यो नयाँ शक्तिको पार्टी कसरी फरक होला र? तपाईंले बुद्ध मन भएका अनि क्षमता पनि भएका वर्तमान राजनीतिक पार्टी भित्र र बाहिर रहेका युवाहरुलाई साथ लिएर अगाडी बढ्नु भयो भने पक्कै पनि तपाईंको यो कदम उचित हुनेछ। तपाईंलाई थाहै छ, राजनीतिमा जाने चाहना भएका स्वतन्त्र तथा अन्य पार्टीका धेरै सक्षम युवाहरुले तपाईंको यो कदमलाई "पर्ख र हेर" को रुपमा लिएका छन्।
तपाईंले कस्तो राष्ट्र निर्माण गर्ने ‘भिजन’ लिनु भएको छ, त्यसको बहसलाई बिशेष रूपमा अगाडी बढाउने समय आएको छ। आगामी दशकहरुमा मुलुकमा कस्तो प्रकारको सामाजिक तथा आर्थिक रुपान्तरणको सपना देख्नु भएको छ र कसरी सम्भव छ? त्यस्ता युवाहरुसँग घनिभूत रुपमा विचार आदान प्रदान गरी कार्यनीति, सिद्धान्त अनि दस्तावेजलाई अझै दरो अनि फराकिलो बनाएर अगाडी बढ्नु आजको आवश्यकता हो।
अब २१ औं शताब्दीको नेतृत्व बुद्ध मन भएका तपश्वी नेतृत्वले मात्र गर्न सक्छन । नयाँ शक्ति निर्माणमा तपाईंको भूमिका संयोजक भएर नयाँ नेतृत्व पुस्ता निर्माण गर्ने कार्यमा लाग्नु भए अझै देशको लागि राम्रो हुने थियो। तपाईंसँग काम गर्न सक्ने क्षमता छ। अब पालो काम गर्न अनि गराउन सक्ने नेतृत्वको हो। कृपया आफ्नो नेतृत्व समुहमा भित्र-बाहिर दुवै सफा भएका व्यक्तिहरुलाई छान्नु होला। तपाईं आफूले नै गलत काम नगरे पनि, तपाईंको समूहमा गलत काम भएका कारण विगतमा आफ्नो साख गिरेको तपाईंलाई राम्रोसँग थाहा नै छ।
भारतीय नाकाबन्दीबारे तपाईंको आधिकारिक धारणा के छ, प्रस्ट पार्नु हुनेछ। जनजीवन अस्तब्यस्त छ, अर्थतन्त्र चौपट्ट छ। मधेसका सम्बन्धमा, अहिलेको अन्दोलन जातिय-क्षेत्रीय राजनीति गर्ने पार्टीहरुमा सिमित भए पनि तीनका केही माग जायज छन्, जस्तो कि समावेशी समानुपातिक सहभागिता अनि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने आदि। अंगिकृत नागरिकताका सम्बन्धमा अहिले कै व्यवस्था ठीक छ, सिमांकन र प्रदेशका सम्बन्धमाचाहिँ अलि वैज्ञानिक तरिकाले निर्धारण गरिनु पर्छ, जसरी ६ प्रदेश बाट ७ प्रदेशमा लगियो, तेस्तै गरी ८ वटा प्रदेश बनाएर भए पनि अहिलेको स्थितिलाई मिलाउन सकिन्छ। यो प्रक्रियामा स्थानीय जनताको विचारलाई प्रमुख रुपमा ध्यान दिन जरुरी छ।
फोरम लोकतान्त्रिकसमेत प्रक्रियाबाट बाहिरिएको सन्दर्भमा काँग्रेसएमालेका केहि नेताहरुले त्यस दिन बैठकमा भएका कुराकानीबारे जनतालाई जवाफ दिनै पर्ला। फेरि सीमाना, दशगजा क्षेत्र वा "नो म्यान्स ल्याण्ड" मा बसेर आन्दोलन चलाउने नेताहरुको के कुरा गर्ने! तैपनि उनीहरुलाई वार्तामा ल्याउने अनि सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्छ तपाईंले। फेरि यो अप्ठ्यारो स्थितिमा वर्तमान सरकारको उदासीनता अनि अकर्मण्यताले पनि हामी आम जनताको जीवन थप कस्टकर बन्न पुगेको छ। अर्को तर्फ़ सरकार गठनको क्रममा सत्ताको खेल पनि चाडै देख्न पाउने छौं। जसले प्रमाणित गर्नेछ, यो वर्तमान नेतृत्वबाट नयाँ नेपालको परिकल्पना गर्न सकिन्न।
नेपालमा सकारात्मक परिवर्तन सम्भव छ, त्यो पनि हाम्रै जीवनकालमा। त्यो प्रक्रियाको नेतृत्व लिने ठाउँमा हुनुहुन्छ तपाईं, आउने पुस्ताले विद्यालयका किताबमा पढ्न पाउने छ तपाईंको नाम। तर फेरि अवसरहरु जत्तिकै कठिनाइहरु पनि त्यतिकै मात्रामा छन्, ती सबै चिरेर अगाडी बढ्नुस, तपाईंलाई शुभकामना छ।