#ब्याकअफईन्डियाको यस चाडमा यो शीर्षकले मुटु दुखाएको हुनसक्छ तपाईँको। माफ पाऊँ तर कथा सत्य घटनामा आधारित छ।
नेपालको सम्पूर्ण युगान्तकारी राजनीतिक परिवर्तनमा भारतको के-कस्तो भूमिका रहेको छ दोहोर्याइरहनु नपर्ला शायद मैले।
भारत ब्रिटिश साम्राज्य छँदा नै नेपालसँग परेको यो लभले गर्दा होला नेपालको गुहार
सुन्ने बित्तिकै प्रतिक्रिया देखाइहाल्छ उसले। कहिलेकाहीँ त नेपालले गुहार्नु पनि पर्दैन (महाभूकम्प २०१५)। लव भनेको यस्तो पो हुनुपर्छ। छिमेकमै अतिविकसित चीन छँदाछँदै पनि विकासशील भारतको प्रेम प्रस्ताव स्वीकार्नु चानचुने कुरा कहाँ हो र गाँठे!
विश्वले चिनी निर्यात उपभोग गरिरहँदा हामी नेपालीले भारतीय उत्पादलाई ग्राह्यता दिनु यसै प्रेमको साटासाट त हो नि!
भारतीय उत्पादन मात्र कहाँ हो र! भारतीय कला-संस्कृतिमा पनि हाम्रो विशेष चासो छ। भारतीय टेलिश्रृंखला नहुँदो हो त सानिआमा र माइजुको दिन कसरी कट्नेथ्यो होला! एफएम रेडियोमा ८०% हिन्दी गीत बजेन भने के रेडियो! सिनेमा हलमा त झन् ९०% हिन्दी चलचित्र चलेन भने तिनका मालिक सडकमा भीक माग्नुको विकल्पै हुन्न।
अब दुई देशबीच यस्तो घनिष्ट सम्बन्ध छँदा हाम्री चेलीहरू शाहरुख खान भनेपछि हुरुक्कै हुनु त के ठूलो कुरो भो र!
प्रशान्त तामाङ नामक ईन्डियनले ईन्डियाकै एउटा निजि टेलिभिजन च्यानलद्वारा आयोजित ‘ईन्डियन आइडल’ नामक गायन प्रतियोगिता जित्छन् र सारा नेपाल उत्सवमा तरङ्गित हुन्छ। कारण दिइन्छ कि प्रशान्त नेपाली मूलका हुन्। म भन्छु प्रतियोगिता त भारतीय हो नि! प्रशान्तले नोबेल पुरस्कार नै जितेको जस्तो उल्लास किन? सम्भवतः भारतप्रतिको हाम्रो अगाध प्रेम हो।
पवित्र प्रेमको यस बन्धनमा कहिलेकाहीँ सुस्ता, कालापानी र लिपुलेकको गुनासो पोखिहाल्दैमा सम्बन्ध नै बिग्रन्छ भन्ने पनि होइन। फेरि यो गुनासो गुनासोसम्मै त सीमित हुन्छ नि! कहिले पो हाम्रो भूभाग फिर्ता दे कि दे भनेर कर गर्या छौँ र? न त कहिल्यै आफ्नै नेतालाई भारतसँग हाम्रो भूभाग फिर्ता माग भनेर भन्या छौँ।
मोदीजी भारत आउँदा राजकीय सम्मान दिएकै हौँ। महेन्द्र सिंह धोनीलाई नेपाली क्रिकेटको राजदूत बनाएकै हौँ। तैपनि किन आज भारतले माया मार्यो बुझ्नै गाह्रो भो। कहाँनेर भूल भयो हामीबाट बताउँदै नबताई भारतले किन आफ्नै प्रेमिकालाई साईकल चढ्न अनि ढिँडो खान बाध्य बनायो कुन्नी!
यो मधेशीले नि गर्नु गर्यो। यत्रो वर्षदेखिको सम्बन्धलाई २ दिनमै बिगारेर राखिदियो। भारत पनि अन्धो भएकै हो। सीमाको अधिकांश भाग स्पर्श हुने गरी बनाएको ७ राज्य मार्फत सदियौंका लागि सामीप्य खोजेका थियौं भारतसँग हामी पहाडवासीले। तर, उसले आज मधेसीहरूको संसर्ग मन पराइदिँदा म ईर्ष्या किन नगरूँ? मधेसी समाजसँग नजिकिन खोजेर हाम्रो अजम्बरी प्रेमको अपमान गरेको छ भारतले।
हामीले कहिले पो भन्यौँ र कि हामीलाई हिन्दी मन पर्दैन? हाम्रा उपराष्ट्रपति झाले हिन्दी बोल्दा केही नमज्जा लाग्या थ्यो। नत्र गृहमन्त्री गौतमदेखि पूर्व प्रधानमन्त्री खनालले भारतीय च्यानल सामु फररर्र हिन्दी बोल्दा कहिले चुईक्क बोलेको सुनेको छ हामीले?
हाम्रो लडाई त यी मधेशी, थारु, आदिवासी, जनजातिसँग थियो।
तर केही छैन हाम्रो अजम्बरी प्रेममा फाटो आए चीनसँग प्रेम प्रस्ताव राखिसकेका छौँ। तिहारमा पाकिस्तानलाई पनि भाईटिका लगाइदिने विचारमा छौँ। यो विछोडले तिमीलाई पछुताउनेछ प्रिय भारत।