गतसाता तीजको लागि केरा किन्न बल्खु गएको बेला पसलेलाई सोधेँ,'अहो,कति धेरै केरा! यति धेरै केरा कहाँबाट आउँदो रहेछ दाइ?'
उनले सहजै उत्तर फर्काए, 'ईन्डियाबाट।'
उत्तर सामान्य थियो तर मलाई किन किन असामान्य जस्तो लाग्यो। वास्तवमा भन्नु पर्दा यो उत्तरले मेरो मन चसक्क घोच्यो। हामीहरु कृषिप्रधान देशको नागरिक अनि हामीहरुले खाने केरा भारतबाट आउँदो रहेछ। सोचेँ चाडबाडको बेला सामान्य बेला भन्दा माग धेरै हुने हुँदा देशको उत्पादनले धान्न नसकेर भारतबाट ल्याएको होला।
झोलाभरी केरा बोकेर अगाडि बढेँ। बिहान घरबाट निस्किँदा आमाले 'बाबु, घर फर्कँदा प्याज लिएर आउ है ' भन्नु भएको झ्वाट्ट सम्झेँ र सडकको किनारामा राखेको प्याज पसल छेउ टक्क रोकिएँ।
'दिदी,प्याज किलोको कसरी छ ?'
'एक सय बिस भाइ।'
'अहो! कति सार्हो महँगो। किन यति धेरै महङ्गो भएको होला दिदी?'
'खोइ भाइ! ईन्डियाबाट भने जति प्याज आइरहेको छैन रे, त्यही भएर होला।'
हामी नेपालीहरु आफ्ना खेतबारी बाँझै छाडेर भारतको प्याज किनेर खान्छौं। त्यसै गरी भारतबाट केरा आएन भने हाम्रो चाडबाड खल्लो हुन्छ अनि हामी जस्तो परजिवीलाई नहेपे कस्लाई हेप्छ त भारतले?
कृषिप्रधान देशका नागरिक हामी प्रायजसो सबै खाद्यपदार्थका लागि भारतको भर पर्दछौं। हुँदाहुँदा अब त बजारमा अमेरिकी स्याउको पनि आगमन हुन थालिसकेछ। हाम्रो देशको जुम्ला र मुस्ताङको स्याउ बजार नपाएर बोटमै कुहिएर झर्दछन् अनि हामी प्रतिकेजी दुई सय पचास तिरेर गर्वका साथ अमेरिकी स्याउ खाइरहेका छौं। वाह! बेच्नेलाई पनि क्या सान छ: अमेरिकि स्याउ हो, डलर तिरेर ल्याउनु पर्छ महङ्गो त भइहाल्छ नि ।
हामी आफैसँग प्रशस्त स्रोतसाधन भएर पनि यसको उपयोग गर्न नसकेर भारतसँग सधैं झुक्नु परेको अर्को कुरा हो, उर्जा । ८३ हजार मेगावाट जलविद्युतको सम्भावना भएको हाम्रो देश ईन्डियाले एक दिन तेलको ट्यांकर रोकिदिँदा 'पचंर भएको टायर' जस्तो बन्दछ। हामीले कहिल्यै पनि आफूसँग भएको जलस्रोतको विकास गरी पेट्रोलको खपत कम गर्ने तिर सोचेनौँ। बरु ईन्डियालाई खुशी पार्न आफ्नो शीर झुकाइराख्यौँ। तेलको आपुर्ती बन्द गरिदेला भन्ने डरले आफ्नो स्वाभिमान बेचिराख्यौं।
जबसम्म हाम्रो सम्पूर्ण बजार भारतको नियन्त्रणमा रहिरहन्छ तबसम्म हामी भारतको दास झैं बनिराहनु पर्दछ। अब राजनीतिज्ञहरुले सोच्नु पर्ने बेला आएको छ। अब आफ्नो देशलाई चाहिने जति खाध्यपदार्थ र लत्ताकपडा आफ्नै देशमा उत्पादन गरेर स्वावलम्बि बन्नु पर्दछ। जलस्रोतको भरपुर विकास गरेर पेट्रोलको खपत कम गर्नु पर्दछ। दुई ठूला देशको बीचमा अवस्थित भएको नाताले चीन सँगको सहकार्यलाई पनि उत्तिकै जोड दिनु पर्दछ। नेपाल-चीन सिमानामा प्रसस्त व्यापारिक नाकाहरुको स्थापना गरी अति आवश्यक वस्तुहरु चीनबाट आयात गर्ने सम्भावना पनि खुला राख्नु पर्दछ।
तत्कालको आपुर्ती अवरोध कुनै हिसाबले समाधान होला तर भबिष्यमा अब भारतको नियतमाथि विश्वास गर्न सक्ने स्थिति रहेन।त्यसकारण, हामीले भारतसँगको निर्भरता क्रमश: घटाउँदै जानुपर्दछ र भारतको विकल्प हामी आफैं भित्रबाट खोज्नु पर्दछ। आफ्नो देशको लागि आवश्यक उपभोग्य सामानहरु आफ्नै देशमा उत्पादन गर्ने र स्वदेशी उत्पादनलाई नेपाली बजारमा बिक्री बितरण गर्न प्रोत्साहन गर्ने निती अवलम्बन गर्नु पर्छ। स्वदेशी पूँजीको उपयोग गरी धेरैभन्दा धेरै उद्योगधन्दा सञ्चालन गरी रोजगारिको अबसर सिर्जना गर्नु पर्दछ। जलस्रोतको भरपुर उपयोग गरी उर्जामा परनिर्भरता हटाउने साथै चिनसँगको सम्बन्ध अझ सुमुधुर बनाउँदै थप नाकाहरुको बिस्तार गर्ने सोच हामीहरुले बेलैमा देखाउन सक्यौं भने भारतले नाकाबन्दी गरे पनि हाम्रो चुल्हो निभ्दैन तथा आफ्नो स्वाभिमान र आत्मसम्मान कसै सामु डग्दैन।
भर्खरै भारतले नाकाबन्दीसम्म गर्न सक्ने भनी दिएको चेतावनी हाम्रो देशको विकासको आधारशीला बनोस्, नेताहरुको बुद्धी फिरोस् र हामीले आफ्नै नाभीको बास्ना थाहा नपाएर अन्यत्र भौतारिदै हिंड्ने कस्तुरी बन्नु नपरोस्।