६५ बर्षको ठूलो तपस्या अनि बलिदानपछि नेपालमा संविधानसभाबाट संविधान आयो, भित्रदेखि नै प्रफुल्लित भइयो र पनि अझै मन खल्लो रह्यो मधेशी मोर्चा लगायतका दलहरू बिरोधमा उठेको देखेर।
यो संविधान साझा सम्पत्ति हो जसमा कसैलाई काखा कसैलाई पाखा गरिएको छैन। ख्यालख्यालमा आएको संविधान होइन यो। कुनै दिन कुकुर र बिरालो जस्तो गर्ने नेताहरू अहिले असल मित्र भएका छन्, राजनीतिमा आमूल परिवर्तन आएको छ तर आन्दोलनरत पार्टीहरू आफ्नै अडानमा छन्।
कतिपय मधेसी नेताहरूको राष्ट्रियता, देशभक्त हुनुभन्दा पनि राजनीति जात र क्षेत्रमा केन्द्रित भयो। तराई जलिरहेको छ, जनता हातहाती भइरहेका छन, गरिखानेहरु मरिरहेका छन, ब्यापार व्यावसाय चौपट छ तर पनी मधेसी मोर्चाले आन्दोलन रोक्ने संकेत देखिंदैन।
के साच्चिकै मधेसी जनताले आफ्नो अधिकार नपाएका हुन त संविधानमा? अहं पक्कै होइन। साच्चै भन्ने हो भने त अहिले सबैभन्दा धेरै उनीहरूकै कुरा सुनिएका छन् र संविधानमा लागू भएका छन्।
अधिकारका लागि आवाज उठाउन पाइन्छ तर बिदेशी गुहार्ने किन? एउटा जात र क्षेत्रको नाममा राष्ट्रियता र स्वाभिमान बेच्ने किन? भारतको आदेश नै भगवानको अर्ति मान्ने नेताहरू अनि नेताले जे भन्यो त्यही मान्ने जनताहरू नै आन्दोलनकारी हुन्।
एउटा घरमा खुसी छायो तर छिमेकीले घर भाड्न खोजे। न हिमाल न मधेस, नेपाललाई माया गर्ने जनता सन्तुष्ट छन्, प्रफुल्लित छन् किनभने संविधान बन्नु नै अहिलेको ठूलो कुरा थियो, चित्त नबुझेको कुरा सुधार्न मिल्छ तर यहाँनेर भारतको भर परेका नेताहरूले नै असन्तुष्टी भइ आन्दोलनमा उत्रिएका छन्।
नेपाल हामी नेपालीको हो, संविधान हाम्रो खुसी हो, यसमा भारतलाई के को टाउको दुखाइ?
विदेशी राष्ट्रले संशोधनका लागि प्रस्ताव दिने जस्तो लाचारिपन देखाउन पनि भारत पछि परेन। पहिलो कुरा त, कुनै निर्वाचित क्षेत्रबाट जितेर आएको सांसदले पो त्यहाँ प्रस्ताव राख्न पाउछन् नि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपालको कुन निर्वाचित क्षेत्रबाट निर्वाचन जितेर आएको सांसद सोच्नुभएको हो कुन्नी। दोस्रो कुरा, त्यहाँ थियो ‘अंगीकृत नागरिकता पाएको मान्छे मुख्यमन्त्री, राष्ट्रपति, प्रधानमन्त्री, इत्यादि हुन पाउनुपर्छ।’ जुनसुकै नेपालीले पनि बुझ्न सक्छ अन्ततः भारतले के चाहन्छ भनेर।
सोनिया गान्धीलाई अंगीकृत नागरिकता भएको भनेर प्रधानमन्त्री हुन नदिने प्रमुख नेता त मोदी नै थिए, अहिले त्यो सब उनको मानस्पटलबाट हटेकोजस्तो गर्छन्। त्यस्ता प्रस्ताव पारित गरे हाम्रो पहिचान लोप हुन्छ, के थाहा कुनै दिन हामी भारतीय हुन बाध्य पो हुन्छौं कि! भारत छोडो आन्दोलनमा नेपालले गर्दा नै जीत सफल भयो, गोर्खालीले अनिधो बसेर कास्मिर जोगाइदिएका छन् नत्र पाकिस्तानको भैसक्थ्यो।
हामीले भारतलाई छिमेकी भनेर धेरै मानसम्मान दिएका छौँ। भनाइ नै छ, मह पनि धेरै खायो भने तितो हुन्छ भनेर, त्यस्तै भएको होला। असल मित्रता कायम गर्न हामीले धेरै सहँदै आयौं जसको कारणले आज भारतबाट हामी हेपिएका छौं, भारतले नेपाललाई आफ्नो अधिनमा राख्न खोज्दै छ।
आदरणीय मधेसवासी आन्दोलनकर्ताहरू, तपाइँहरूका धेरै माग जायज पनि होलान्, त्यस्ता जायज मागप्रति हाम्रो पनि समर्थन छ। तर, तिनै माग पूरा गराउन तपाईँहरूले अबलम्बन गरेको बाटो चाहिँ कत्ती पनि मन परेको छैन। राष्ट्रियताको लागि लड्नुहोस्, राष्ट्रिय स्वाभिमानका लागि लड्नुहोस अनि राष्ट्रिय स्वतन्त्रताको लागि लड्नुहोस्, तपाईँलाई सम्पूर्ण नेपालीले साथ दिन्छन् तर जब तपाईँहरू आफै गर्वका साथ नेपाली हुँ भन्न सक्नुहुन्न र आन्तरिक कुरामा विदेशीलाई गुहार्नुहुन्छ भने तपाईँलाई कसरी साथ दिऊ हामीले?
जुन घरमा बस्यो त्यही घर भाड्ने? मधेसमा तपाईँजस्ता भँडुवा मात्र छैनन, त्यहाँ देशका लागि आफूलाई नै बलिदान दिने सामर्थ्य भएका देशभक्त नेपाली पनि छन्। काम गर्ने कालू मकै खाने भालु भएन र? बन्द भएको ४० दिन भन्दा धेरै भैसक्यो, आन्दोलनकारीको त गरिखाने जागिर नै होला यो। तपाईँहरूलाई नेपालप्रति माया छैन, नेपाल आमालाई लुछ्दै हुनुहुन्छ, रूवाउँदै हुनुहुन्छ, तपाईँहरुलाई त कुन मुखले नेपाली भनौं खै जो नेपाललाई भाँड्न खटिएका भारतीय हुनुहुन्छ।
यदि नेपालीपन नै छैन, भारतले जे भन्यो त्यही मान्ने भए किन नेपालमा बस्नुहुन्छ? कृपया यदि तपाईहरू सच्चा मनले नेपाली भए नेपाललाई बचाउन लागि परौं। यो देश नेपाललाई घर न घाटको बनाउने अधिकार कसैलाई पनि छैन।
भारतले भनेको नमाने ऊ त सत्रु बन्ला तर सारा संसारले नेपाललाई साथ दिन्छ। भारत सरकारलाई हाम्रो संविधान राम्रो नलागेको होइन डाह लागेको हो, आखिर उसले कहिल्यै हाम्रो प्रगति देख्न चाहेन। उनीहरूलाई चित्त नबुझे चुपचाप लागे भैगो नि किन औंला उठाउनु? के नेपाल मोदीका बाजेको अंश होर? छिमेकीले भात खान पाए कि पाएनन् भनेर चासो राख्नु राम्रो हो तर के पकाए, मलाई मन पर्ने आइटम किन पकाएनन् भनेर रिसाउनु चाहिँ मुर्खता हो। बैगुनीलाई गुन पच्दैन भन्छन् त्यस्तै भारतलाई नेपालको निस्वार्थ सहयोग पनि नपचेको हो। भारतले हामीलाई जुन प्रस्ताव दियो तिनिहरु भारतकै संविधानमा छैनन् उसले आफ्नो जिउको भैंसी देखेको छैन तर हाम्रो जिउमा जुम्रा कोट्याउदै छन्।
फेरि पनि कुरालाई मधेशमा भएको आन्दोलनतिर मोड्न मन लाग्यो। देशभक्त जनताहरु, हात जोड्छु भारतीय दलालको कुरा सुन्न छोडिदिनुहोस्, उनीहरूको कुरा मान्दै गयो भने हाम्रो देश छिट्टै डुब्छ। आफूलाई नेपाली भनेर सम्झिने गरौं, एउटा मधेसी भनेर होइन। अनि आन्दोलनका समर्थक नेताहरु, भारतले भनेको मान्छौ भने किन नेपालमा राजनीति गर्छौ? जाउ जे गर्नु छ भारतमा गएर गर, हामीलाई स्वतन्त्रता देऊ। होइन भने याद राख एकदिन मधेसका जनताले तिमिहरुको वास्तविक चरित्र थाहा पाएर तिमीहरूलाई नै मधेसबाट निकाल्ने छन्।