सामन्यतया ४/५ महिनामा धान तयार हुने गर्दछ। तर लगभग ८ वर्ष मेहनत गरेर ६०१ श्रमिकले संविधान फलाए। एकपटक मरिसकेको बेर्नालाई थपघट र मलजल गरेर तंग्राई पुनस् बाली दिन योग्य बनाईयो त्यही बोटले आज फल दिई छाड्यो।
फल कत्तिको मीठो वा तितो छ त्यो त खाईसकेपछी मात्रै थाहा होला। तर अस्ति चाख्न निकालिएको भागमा धेरैले भिन्न भिन्न स्वाद लिए। कत्तिलाई अत्यन्तै स्वादिष्ट लाग्यो , कत्तिलाई ठिकै , कत्तिलाई तितो , टररो त कत्तिलाई ढकनी उघार्दै परै देखि डंग गन्ध आयो। हुन त सबैले चाहे जस्तो , खोजे जस्तो त कहाँ हुन्छ र! यदि त्यसो हुँदो हो त कलियुगको अस्तित्व उहिले संकटमा परिसक्ने थियो। विधाताको विधान भन्दा हामी कोहि पनि एक ईन्च उँचनिच गर्न सक्दैनौ। सायद त्यसैले होला बढ्दै गएका हाम्रा अनेकन महत्तकांक्षाहरु मनैमा सिमित हुँदैछन् , फगत सपना।
९ वर्ष अन्तरिम संविधानले डोर्ह्याएको देशले आजबाट नयाँ संविधान पाउँदैछ। पक्कैपनी यो सुखद क्षण हो। जुनसुकै रूपमा भएपनि नयाँ संविधान पाउँदैछौँ। स्थायी संविधान बिनै ०६३ सालदेखी बाँच्दै आयौं। आज देखि अन्तरिम संविधानलाई बिदाई गर्दै नयाँ संविधानलाई स्वागत गर्दैछौं। हुन त नामका ६०१ सभासद तोकिएपनी संविधानको मुख्य डिजाईनर शिर्ष दलका गोडाचारेक नेतारसभासद र संविधानसभा सचिवालयका सदस्यहरु नै हुन यसमा दुईमत नहोला।
दोस्रो जनआन्दोलन र त्यसपछि भएका विभिन्न चरणका संघर्षका उपलब्धिहरुलाई संस्थागत गर्दै नयाँ संविधान बनेको छ। भलै यसले अझै पिछडिएका वर्गको सवालहरु संबोधन गर्न सकेको छैन। जसको सुनिश्चितताका निम्ति आन्दोलन र संघर्षहरु भईरहेका छन जसमा धेरैले ज्यान गुमाईसके। आदिवासी , जनजाति , दलित , महिलाहरुका धेरै सवालहरु नजरअन्दाज गरिएको गुनासाहरु सुनींदैछ। पक्कैपनी यो वर्गको जायज मागहरुको संबोधन गरिनुनै पर्छ। तर स्वार्थ र असन्तुष्टि त मानवीय स्वभाव न हो।
हरेक उपलब्धि र प्राप्तिसंगै नयाँ आकांक्षा पलाउने गर्छ। असन्तुष्टिको बिज कहिंकतै रहेकै हुन्छ। त्यसैले त्यसैको पछि दौडेर संविधान निर्माणकार्य रोकेको भए ३ करोड नेपाली प्रती अन्याय हुने थियो। नेपाल आमा प्रती अन्याय गरेको ठहरिने थियो। अनिर्णयको बन्दी बनएर संविधान निर्माण प्रक्रिया नै रोक्नु भनेको सरासर अपराध सरह हुने थियो। हुन त हिजोसम्म मैले नै भन्दै आएको थिएँ कि यत्रो ८ वर्ष त र्कुयौँ अब २ महिना थपेर भएपनी सबै पक्षलाई समेटेर सबैले “मेरो“ भन्ने संविधान बनाउनुपर्छ। तर परिस्थिति प्रतिकुल देखियो। आन्दोलनको नेतृत्व गर्नेहरुमा स्वार्थको मात यति देखियो कि जुनसुकै हालतमा पनि आफुले खोजे जस्तो , भने जस्तो हुनैपर्ने। तर ती सम्पुर्ण माग पूरा गर्न अहिलेको अवस्थामा संभव थिएन र भयो पनि त्यस्तै।
संविधान त कानुनको एउटा कागजी दस्तावेज हो। प्रकृतिप्रदत्त चिजबिज त परिवर्तन गर्न सकिन्छ भने यो त कृत्रिम हो। जुनसुकै बेला जनमत पुगे परिमार्जन गर्न सकिन्छ , संशोधन गर्न सकिन्छ। शक्ति राष्ट्र अमेरिकाको संविधान त कैयौंपटक संशोधन हुँदै चल्दै आएको छ। भारतको त लगभग १०० पटक संशोधन भईसकेको छ भने हाम्रो कसरी अकाट्य रहन सक्ला? पक्कै हो , विगतमा नेपाल कुनै एकल जातिविशेषको औपनिवेश जस्तै बनेको थियो। राज्यको बागडोर , कर्मचारी तन्त्र , सुरक्षा संयन्त्र , शिक्षा , स्वास्थ्य , विकास देखि लिएर भगवान समेत पेवा जस्तै बनाईएका थिए। तर अहिले त्यो अवस्था रहेन। निमिट्यान्न नभए पनि धेरै हदसम्म परिवर्तन भएको छ। अझै परिवर्तनको क्रममै छ। यसको जरै उखालेर समतामूलक समाज निर्माण गर्न आवश्यक छ। तर त्यसको निम्ति तातै खाउँ जलि मरुँ गर्नु हितकर हुन्न।
सहमति , सहकार्य र वार्ता गर्न आवश्यक हुन्छ त्यतिले भएन भने आन्दोलनको बाटो सुरक्षीत छ। शान्तिपुर्ण आन्दोलनको हक त अन्तरार्ि्ष्ट्रय कानुनले नै सुरक्षित गरेको छ। तर यो बेला सद्भाव बिथोल्ने होईन। लामो प्रतिक्षाको फलस्वरुप प्राप्त संविधानको स्वागत गर्ने बेला हो। सकिन्छ दिपावली गरौँ , सकिन्न स्वागत मात्रै। त्यतिपनि नगर्ने भए हेरेर मात्रै भएपनी असल नागरिकको परिचय दियौं। बन्द गर्ने , च्यात्ने , जलाउने काम नगरौँ। संविधानको सम्मान गरौँ। जय नेपाल!!!