केपी ओलीज्यू
नमस्कार!
तपाईं देशको दोस्रो ठूलो पार्टीको अध्यक्ष हुनुहुन्छ र विगत केही दिनदेखि तपाईंलाई नाम राष्ट्रवादी नेताको रुपमा चिन्न थालिएको छ।
तर, तपाईको विचारमा राष्ट्रवादको परिभाषा के हो? आफ्नै देशका नागरिकलाई युपी/बिहारका भनेर उत्तेजित अभिव्यक्ति दिनु राष्ट्रवाद हो? के १ करोड मधेशीहरुको जनसंख्या भएको मधेशलाई नेपालमै छैन भनेर अभिब्यक्ति दिनु राष्ट्रियता हो त? पक्कै पनि होइन।
राष्ट्रियता बलियो बनाउन देशमा रहेको सम्पुर्ण जातजाति, धर्म, समुदायको विकास एवम संरक्षणको लागि सोच्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ।
तर, मधेशीलगायत विभिन्न उत्पीड़ित समुदायले अधिकार माग्दा गोली, विकाश माग्दा गोली दिने अधिकार तपाईंकै निर्देशनमा गृहमन्त्री बनेका बामदेब गौतमलाई कसले दियो? २०६२/६३ को जनआन्दोलन पश्चात नेपालमा लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था कायम भएको हामीलाई अवगत भएकै कुरा हो। तर लोकतान्त्रिक मुलुकमा अधिकार र धर्मको मुद्धामा खुलेर बोल्न चाहने आफ्नै पार्टीका नेता, कार्यकर्ता एवम् सभासदहरुलाई दबाएर राख्नु कतिको जायज छ?
नेपालको संविधान २०७२को निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ र यस संक्रमणकालीन अवस्थामा मधेशी लगायत सम्पूर्ण उत्पीडित समुदाय आफ्नो अधिकारको लागि लडिरहेका छन्।
अझपनि अधिकार माग्नेलाई गोली, विकाश माग्नेलाई गोली दिनु भयो भने कति दिन चल्छ हाम्रो देश? टीकापुर, विरगञ्ज, भैरहवा र जनकपुर लगायत मधेशमा भएको सम्पूर्ण घटना तपाईँकै विवादास्पद अभिव्यक्तिले भएको छ, यसलाई स्वीकार्दै तपाईले नै नैतिक जिम्मेवारी लिनुपर्ने हुन्छ। सीमाङ्कनको बिषयमा काँग्रेस चुप छ भने अर्कोतिर एमाओवादी अध्यक्ष प्रचण्डजीले एमालेकै कारण मधेशी र थारुको माग सम्बोधन हुन सकेको स्पष्टोक्ति दिइरहेका छन्।
ओलीज्यू!
देश भनेको काठमाडौ वा सिंहदरबार र बालकोट मात्रै होइन। झापाको एक साधारण परिवारमा जन्मिएर हाल देशको प्रधानमन्त्री बन्ने दाबी गर्दै हुनुहुन्छ तपाई? झापाबाट काठमाडौ आउने बाटोमा पनि मधेशको भूमि छ भन्ने नबिर्सनु होला।
मधेशी जनताले चुनावको समयमा एमालेलाई मत दिएर जिताउने र मधेशीहरुले अधिकार माग्दा एमाले सहभागी सरकारले गोली हान्ने, यो कस्तो न्याय हो तपाईंको अदालतमा?
मधेशी जनताले उठाएको हरेक माग जायज छ, मधेशवादी नेताले गर्ने हरेक कृयाकलाप राम्रो छ भन्दिनँ तर सम्पूर्ण माग नै उपयुक्त छैन भनेर भन्नु पनि सरासर गलत हो। बिखण्डनको म पनि घोर बिरोधी हूँ तर आफ्नै देशमा विदेशी जस्तो बस्नु पनि उचित होइन।
विगत २३ देखी सीमाङ्कन र अधिकारको लागी मधेश-थरुहटमा जारी आन्दोलनले हालसम्म आन्दोलनकारी र नेपाल प्रहरीलाई मिलाई करिब ३० नेपालीले शहादत प्राप्त गरिसकेका छन्। आन्दोलनको क्रममा शहादत प्राप्त सम्पूर्ण नेपालीहरुको भावनालाई कदर गर्दै घोषणा गरिएको दंगाक्षेत्र र कर्फ्यु तत्काल फुकुवा गर्न लगाई सेनालाई तत्काल फिर्ता बोलाउन वातावरण बनाउन तपाईंसँग अनुरेध गर्छु। यसले असन्तुष्ट पक्षसँग वार्ताको वातावरण बनाउने छ।