पुर्ख्यौली घर रामेछाप जिल्ला भएपनि मेरो जन्म काठमाडौंमा भयो, नेवार परिवारमा। हरेक मनुष्यलाइ एउटा चिनारी, नाम, सम्मान र अधिकारको लोभ हुन्छ। यी सब पाउनु उसको जायज अधिकार पनि हो। यो अधिकारको जब हनन हुन्छ तब युद्धले ठाउँ पाउँछ। भदौ ७ गते कैलालीमा यस्तै हुन पुग्यो।
टीकापुरको दर्दनाक घटनापछि सामाजिक सञ्जालमा नेपालीपनको आँधी चलेको छ। विगत केहीदिनहरू अनेकौँ प्रतिक्रियाहरु ओइरिरहेका छन्। कयाँैले लेखे, “मलाई जातीय राज्य चाहिन्न, नेपाली पहिचान भए पुग्छ।”
सामाजिक सञ्जालमा यस्ता टिप्पणी गरियो की मानौं राजधानीका लागि मधेश नेपाल रहेन? टिकापुर, गौर, सप्तरीमा जे घटना भइरहेका छन्, त्यसलाई कुनैपनि रूपमा सही भन्न मिल्दैन। तर, यो किन भयो र यो आक्रोशको ज्वाला किन बढÞदै छ? के यो जान्न र बु‰न खोज्नु उत्तिकै जरुरी छैन? निश्चय पनि यो पहिचान, आत्मसम्मान र स्वाभिमानको लडाईं हो।
हामी राजधानीमा बसेर राष्ट्रियता, विकास, नैतिकता, संघीयता, लोकतन्त्रको अनेकौ नारा लगाउँछौं। तर, एकचोटी आफैंलाई सोधौँ, के हामीले साँच्चिकै नेपालको अनेकाँै अनुहार हेर्ने प्रयास गरेका छौँ? हामी हाम्रो नेपाली गौरव भनी फेवा तालको सुन्दरता, रारा तालको जादू, सगरमाथाको उचाई, बुद्धको जन्मभूमी, जानकी मन्दिरको सुन्दरता, चितवनको जंगल सफारी, बर्दियाको विशेषता, अन्नपूर्णको उदारताहरुको किटान ठोक्छौँ। हुम्लाको नेपालीलाई सोधी हेरौँ, उसलाई नेपाली हुनुमा कति गौरव लाग्छ? रुकुमको नेपालीलाई सोधौँ, उसलाई राष्ट्रप्रति कति गौरव छ? सप्तरीको मुसहर र चमार समुदायलाई सोधौँ, ऊ कत्तिको नेपाली हो? तेह्रथुम, दैलेख, जाजरकोट, कर्णाली, महोत्तरी, डोटीलाई सोधांै उसलाई सगरमाथाले के दिएको छ?
अनेकतामा एकता, हामी सब एक हौँ, एउटा पहिचान– हामी नेपाली, यी सब लघुकथा व्यवहारमा कहिले कार्यन्वयन हुन सकेनन्। कसले सिकायो त हामीलाई हामी नेपाली भन्न– पहिले राणा शाशनले। त्यसपछि पञ्चायती शाही शासनले। हामी पिँजडाको सुगाले झैं घोक्दै गयौँ। यो बीचमा ज–जसले लुट्न पाए उनीहरु नै कहलाइए नेपाली। बाँकीलाइ नेपाली भन्ने अधिकार छ तर किस्ताबन्दीमा ऋण तिरे जसरी।
हामीलाई दार्जिलिङमा ससुराली ठीक छ तर मधेशको भाइटिका चल्दैन। ८० प्रतिशत जनता कहिले सोलुखुम्बू गएका छैनन्ु तर सगरमाथाको देश भन्न चुक्दैनन्। ७० प्रतिशत जनसंख्या मायादेवी मन्दिर पसेका छैनन्, लुम्बिनी देखेका छैनन् तर बुद्धमा अधिकार जमाउन पछि पर्दैनौँ हामी। केका लागि यो अहंकार र अभिमान? नेपालको त सिर्जना नै मिशावट, संशोधन र अनेकताले बनेको हो। अनि किन हामी पहिचान र स्वाभिमानको मुहानको बाटो छेक्दै छौं?
सिङ्गो नेपाल बुझ्न, हेर्न र भोग्न अझै थुप्रै समय लाग्ने छ। तर मलाई एउटा खाल्डोको नेपाल हेर्नु छैन। नेपालको भ्रामक नक्सा देखाइँदै छ मलाई।