थारु समुदायका दाजुभाइ दिदीबहिनीहरु!
म पहाडमा जन्मेको एक नेपाली हूँ, बाहुन भन्छन्| तर मेरो पढाईको सिलसिलामा धेरै थारु साथीहरुसँग खेलेँ-पढेँ। एउटै कोठामा पनि बसेँ| केही थारु भाषा पनि सिक्ने मौका पाएँ| तर कहिल्लै पनि हामी बीच जात, क्षेत्रको बिषयले वैमनस्यता सिर्जना भएन|
आन्दोलित थारु दाजुभाइलाई फेरी एकपटक सोच्न आनुरोध गर्छु| मानौं, अहिले मागेको जस्तै राज्य भयो रे तर अहिले पहाडी समुदायसँग सामाजिक सद्भाव कायम गरेर आफ्नो मागलाई अगाडी नबढाई आफ्नो स्वार्थको लागि जातिय दङ्गा मचाउने नेतालेपछि थारु समुदायकै विभिन्न वर्ग बीच कसरी सद्भाव कायम गर्न गराउन सक्छ? आन्दोलनमा नजानेलाई जरिवाना घोषणा गर्न सक्ने कथित नेताले आफ्नो टोल, गाउँको विकासको लागि नजानेलाई यस्तो जरीवाना किन लगाएनन्? त्यसैले राज्यभन्दा आधिकार मागौं, अवसर मागौं, सामाजिक सद्भाव मागौं। नि:शुल्क शिक्षा मागौं, रोजगारी मागौं|
तराईमधेसका नेपाली दाजुभाइ दिदीबहिनी!
हो! म मान्छु पहिलाका शासकवर्गले तराईको विकासलाई नजर अन्दाज गरे। अहिले समयले कोल्टो फेरिसकेको छ| तराईको विकासमा नलाग्ने नेताहरुलाई चुनावमार्फत् जनताले सजाए दिँदै आएका छन्| अहिलेको परिस्थितिमा हेर्ने हो भने पनि राज्यको विभिन्न अंगमा मधेसी धेरै छन्। तराइको विकास पहाडका जनताले कहिल्लै रोकेका होइनन्| तराईमा विकास नहुनुको मुख्य कारण तराईबाट निर्वाचित नेताहरुको व्यक्तिगत लोभ, कमीकमजोरी हो। तेसो त पहाडमा पनि उल्लेख्य विकास भएको छैन| त्यसैले कृपया नेपाली नेपालीबीच पहाडिया र मधेसीको नाममा सामाजिक सदभाव नाबिगार्नुहोस्| मधेशमा बस्ने पहाडी समुदायलाई पनि साथमा लिएर विकास निर्माण आगडि बढाऔं। आफ्ना उचित माग राखौं। अवसरको सिर्जना गरौं|
आफ्ना अधिकार माग्दा अरुको पनि आधिकारलाई ध्यान दिऔं र भाबिष्यलाई सोचेर मात्रै सामर्थ्यसहितको राज्य माग्नुहोस्। व्यक्तिगतरुपमा मलाई संघीयता आवश्यक लागेको छैन| अहिलेको जस्तो २ नं प्रदेश ले आर्थिक प्रगति गर्न कठीन छ। त्यस्को विरोध शान्तिपूर्ण रुपमा सबै मिलेर गर्नुहोस्| जलस्रोतको धनी देश नेपालको जलस्रोत उपयोग गर्न मिल्ने राज्य सोच्नुहोस्| अनि आफूलाई कथित मधेसको नेता भन्ने र मधेसमै चुनावमा लज्जास्पद भोट लेराएर चुनाव हार्ने नेतालाई भन्नुहोस्, “मधेसको उचित मागको लागि शान्तिपूर्ण रुपमा मधेसमा बस्ने कोही पनि नेपाली लाई दु:ख नदिकान भोक हड्ताल गरेर देखाउनुहोस्|“
आन्दोलन गर्दा रगत बग्छ भन्नेलाई पहिला आफ्नो रगत बगाएर देखाउन भन्नुहोस् न कि सिधासाधा जनताको| जो नेता मधेसी जनताको आधिकारको लागि भनेर राजनीति गर्छ तर आफ्नो माग पुरा गर्न जनताभन्दा विदेशीमाथि निर्भर हुन्छ। उनीहरुलाई भन्नुहोस् 'नेपाल भित्रको आन्तरिक कुरा नेपाली जनतासँग सल्लाह गरेर पुरा गर्ने हो, अरुको आशिर्वादले होइन|
मधेसमा पढेलेखेका बुद्दिजिवीको कमी छैन| उहाँहरुलाई यति मात्र भन्न चाहन्छु कि तपाईं चुप बस्नाले राष्ट्रघाती कथित नेताले सामजिक सद्भाव बिगार्ने, देशलाई पंगु बनाउने, विदेशीको इशारामा देशलाई नचाउने काममा तल्लिन हुने मौका पाएका छन्|
आफुलाई छोटे राजा सम्झिने चार दलका नेतालाई!
यो देशको विकासगति शुन्यबराबर हुनुमा तपाईं जिम्मेवार हुनुन्छ| इतिहास पल्टाएर हेर्नुहोस्, तपाईंहरुले सत्ता सम्हाल्नु भन्दा पहिले विकासको गति कस्तो थियो र अहिले देश कुन अवस्थामा आइपुगेको छ| विकासको त कुरै छोड्नुहोस्, नेपाली नेपालीबीच भएको सद्भाव कुन अवस्थामा आइपुगेको छ| एक नेपालीले अर्कोलाई मर्ने स्थिति को सिर्जना तपाईहरुले नै गर्नुभएको हो| इतिहासले तपाईंलाई धिक्कार्ने छ| तपाईंहरुको गल्ती गनीसाध्य छैन| अरु त अरु आफ्नो माग पुरा गर्नलाई हिंसाकत्म बाटो समात्ने परम्परा बसालिदिनु भएको छ। जबसम्म बन्द/हिंसा हुँदैन तबसम्म तपाईहरुको आँखाले देख्दैन, कानले सुन्दैन| पहिले विरोध गर्न एउटा राजसंस्था थियो अहिले कुनै त्यस्तो संस्था पनि छैन। तपाईंहरु मनपर्दी सोझा नेपाली जनतालाई भड्काउने काम गरेर आफ्ना स्वार्थ पुरा गर्दै आउनुभएको सर्वविदितै छ| अब त स्थिति तपाईंहरुको नियन्त्रणबाट बाहिरिँदै छ| संविधान सभाको नाममा देशमा विद्रोह मचाउने नाइकेहरु हो, अब त डा. केसी को माग पुरा गरेर आफ्नो माग पुरा गर्ने शान्तिपूर्ण तरिकाको सम्मान र परम्परा थालनी गर्नुहोस्|
अहिलेको स्थितिमा सम्पूर्ण आन्दोलनरत पक्षसँग यथासिघ्र वार्ता गरी जायज माग पुरा गर्नुहोस्। नाजायज माग गर्ने, सामाजिक सदभाव बिगार्नेहरूलाई कारबाही गर्नुहोस्।। राष्ट्रलाई असफल नबनाउनुहोस् | देशको विकासमा ध्यान दिनुहोस्| युवाहरुलाई राम्रो काममा प्रयोग गर्नुहोस्, उनीहरुलाई अवसर दिनुहोस्| नत्र जब नेपाली युवाको धैर्यता टुट्छ, सबै भन्दा पहिले तपाईंहरु नै पछुताउनु पर्ने छ|
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबाहिनीहरु!
अवसर खोज्ने होइन सिर्जना गर्ने बानी गरौँ| इज्जत दिए इज्जत पाइन्छ माया दिए माया, त्यसैले सबैलाई राम्रो व्यवहार गरौँ| देश जटिल आवस्थामा छ, सक्छौँ देश को इज्जत बढाउने, देशको संक्रमणकाल चाँडो सक्ने, सामाजिक सद्भाव बढाउने काम गरौँ। सकिँदैन, नबिगारौँ| पुरै देशले विकासको काँचुली फेर्दै नेपाली भनेर गर्व गर्दा आनन्द हुन्छ न कि कुनै एउटा ठाउँबिषेसले| भूकम्प अनि क्रिकेट र फूटबलले एकतामा बाँधेको जस्तै हामी सबै नेपाली एक भएर बसौँ|