संसारले लोकको बारेमा चिन्ता लिंदैगर्दा
तिमी भने आफ्नो भविष्य सोंच्दै रहेछौ,
बाटोहरु बन्द भए त विवेकको राजनितिको?
भाडामा मान्छे मार्ने धन्दा पो चलाएछौ !
निर्जीव मेशिनको झैं मान्छेको मूल्य तोकि
पचास लाखमा जनतालाई उक्साउँदा
अब भने आफै भन तिम्रो मूल्य चैं कति?
***
राजनिती आदर्श र सिद्धान्तको गरिन्छ कि
या जनताको मूल्य तोक्दै हिंड्ने गरिन्छ?
जनताको सुरक्षाको दायित्व भूलेर
आफ्नै सुरक्षामा आत्मरती लिंदा तिमि
जीवन त उसको र तिम्रो यौटै नै होला नि !
तर उ चाहिँ पचास लाखको हुँदैगर्दा
अब भने आफै भन तिम्रो मूल्य चाहिँ कति?
//
हामिलाई थाहा छ मधेस पिडामा छ,
मधेस उत्पिडनमा छ अनि मधेस समस्यामा छ
मधेशको नाममा राजनिती गर्दै आएका तिमि
ऐलेसम्म मधेसलाई के दियौ,मधेसले के पायो?
व्याक्तिगत लाभहानीको हिसावकितावमा
जनतालाई बलिको बोको बनाउँदैगर्दा
अब भने आफै भन तिम्रो मूल्य चाहिँ कति?
***
आन्दोलनमा जनतालाई ढाल बनाउँदा
तिम्रा परिवार र आफन्ती कहाँ लुक्ने गर्छन?
किन प्रयोग गर्दैनौं तिम्रा आफन्ती आन्दोलनमा
किन तोक्दैनौं तिनको पनि मूल्य पचास लाख
ए, तिमिलाई आफन्तीको धेरै माया लाग्छ हो?
अन्य सन्ततिको मूल्य पचास लाख तोक्दैगर्दा
अब भने आफै भन तिम्रो मूल्य चाहिँ कति?
***
पचास लाखले पखालिएको सिउँदो रंगिन्छ र,
या पचास लाखले आमाको काख भरिन्छ?
सक्छौ भन्न टूहुरोले अभिभावक पाउँछ भनि ?
बरु आफै एकफेर अनुभव लिई हेर न त !
पचास लाखले कतिवटा घाउ पूर्दोरहेछ
होईन भने जनताको मूल्य तोक्ने तिमिहरु
अब भने आफै भन तिम्रो मूल्य चाहिँ कति?
//
विवेकिले विवेकिय कौशलता देखाउँछ
असल शाषकले शु-शासन कायम गर्दछ
राजनिती त राजनेताले पो गर्दछ त
तिमिजस्ता जनताको मूल्य तोक्दै हिंड्ने
अवसरवादी र पथभ्रष्टहरु कसोरी नेता?
जनताको मूल्य नगदमा मोल्न खोज्नेले
अब भने आफै भन तिम्रो जिवनको मूल्य कति?
gyawalibijay11@gmail.com