बाबुराम भट्टराईज्यू,
नमस्कार !
तपाईं नेपाली राजनीतिका पक्का खेलाडि हुनुहुन्छ तर पनि पहिलो संविधानको चुनावमा पार्टीले पाएको सफलतासँगै तपाईंले विश्वास गुमाउँदै जानुभयो।
सरकारमा रहँदा कहिले मुस्ताङ गाडी, कहिले गरिबका घरमा बास। त्यों एउटा राम्रो पक्ष हो। तर सुकुम्बासीका छाप्रा रातारात भत्काउने काम पनि तपाईंकै पालामा भयो। त्यों कस्तो खाल को विकास हो ?
दोस्रो संविधान सभाको चुनावमा जानूअघि तत्कालीन प्रधानन्यायधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्वमा ल्याउनु, पहिलो संविधान सभा विघटन गराउनुको जिम्मा नलिनु आदिको परिणाम स्वरुप तपाईंको पार्टीले दोस्रो संविधान सभा निर्वाचनमा पराजय व्यहोर्यो।
दोस्रो संविधान सभा निर्वाचनमा परिवर्तन चाहने म जस्ता धेरै मतदाता एमाओवादीलाई भोट दिन चाहन्थे। तर तपाईंहरुले लिनुभएको जातियताका नाराका कारण जनताले तपाईंहरुलाई मत दिएनन्। तपाई स्वयं एउटा निर्वाचन क्षेत्रमा पराजित हुनुभयो।
म तपाईंका प्राय: सबै अन्तरवार्ता र लेख पढ्छु। तर तपाईंको लेख पढ़ेपछि र अन्तरवार्ता सुनेपछि भने दिक्क लाग्छ। अब तपाईंले दिने शिक्षाको कुनै आवश्यकता म देख्दिनँ ।
एउटा कथामा एउटा मान्छेले भूइँमा भेटेको असर्फी ईश्वरलाई फिर्ता गर्ने वा नगर्ने भन्ने द्विविधा हुन्छ । उसले एउटा जुक्ति फेला पार्छ- असर्फिलाई आकासमा फाल्ने। झरेन भने ईश्वरको, झर्यो भने आफ्नो।
यसरी उसले असर्फी लिएर जान्छ। तपाईंहरुको कथा पनि यस्तै बन्दै गइरहेको छ।
थरुहटको माग गर्दै आन्दोलनमा तपाईंको समर्थनबा रहेछ। त्यसो हो भने तपाईंकै नेतृत्वको समितिले थरुहट बिनाको संघीयताको खाका किन तयार गरेको हो त? त्यसमा तपाईंले किन हस्ताक्षर गर्नुभएको हो त?
यति ठूलो संख्यामा हिन्दु राज्यमाग गर्दै उत्रिने प्रदर्शनकारीलाई तपाईं प्रतिगामी देख्नुहुन्छ, संविधान ल्याउन नदिने षडयन्त्रकारी देख्नुहुन्छ। जनताको भावनाको कदर नगर्दा तपाईंलाई अलिकति अप्ठ्यारो पनि लागेको छैन है? भोलि तिनै जनताको घरदैलोमा गएर भोट माग्न कसरी जानुहुन्छ?
तपाईसँग सबै जातजातिलाई अगाडि बढाउने चाहना नै छ भने जातियताको नारा लगाएर होइन, शिक्षाको विकास गरेर त्यो सम्भव छ। सबै जातिको शिक्षामा पहूँच पुर्याएर हेर्नु, कहाँ कसरी पिछडिन्छ!
नेपालमा माओवादी पार्टी इतिहास मात्र नबनोस्। त्यसैले जनताका जायज मागलाई समान दृष्टिकोणमा हेर्ने प्रयास गर्नुहोला।