म रामेछापको खनियापानी गाविसको स्थायी बासिन्दा हुँ र पछिल्लो समय रोजगारीको सिलसिलामा धादिङमा छु । पोहोर बर्खामा खेती सम्हाल्न केही दिन गाउँमा बस्नुपर्ने भयो । गाउँमै रहेका केही साथिभाइले एउटा पत्याउनै नसकिने कुरा सुनाए। स्थानीय बाल उच्च माध्यमिक विद्यालय भ्रष्टाचारमा चुर्लुम्मै डुबेको सुन्दा छाँगाबाट खसे जस्तो लाग्यो। अनि एउटा अघोषित टोली बनाएर सुक्ष्म तथा गोप्य अध्ययन गर्दा स्कुलमा दर्जनौं भ्रष्टाचार गरिएका प्रमाण फेला परे।
आफन्तलाई जागिर खुवाउन स्थानीयलाई बिशेष प्राथमिकता भनी विज्ञापन गरिएछ। कैयौं नियुक्ती त प्रक्रिया मिचेर आर्थिक लेनदेनको भरमा गरिएको फेला पर्यो । यी त झिनामसिना भए , ५ वर्षसम्म २ जना फर्जी शिक्षक खडा गरी तिनको तलब निकासा गरेर ब्राह्मलुट नै गरिएको फेला पर्यो।
हरेक साल आधाभन्दा बढी पाठ्यसामग्री पुराना बाडेर पनि पैसा झ्वाम पारिएको रहेछ एउटा सचेत नागरिकको आत्मा पोल्यो, राष्ट्रले हरेक साल शिक्षामा लगानी गरेको पैसा कसरी बालुवामा पानी झैं बन्दैछ भनेर बुझ्न मलाई कतै टाढा जानै परेन। आफ्नै आँखा अगाडि झलझली देखियो। केही साथी मिल्यौँ, अनि अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा सबै विवरण खुलाई उजुरी दियौँ। केही महिना पछि अख्तियारले जिल्लामा ताकेता गरेछ।
अनि त्यहाका विद्यालय निरीक्षकलाई अर्को दशै आयो, विद्यालयमा पाइला नै नटेकी प्रतिवेदन तयार गरे। जसमा हाम्रा उजुरी भ्रामक अनि झुठो लेखिएको थाहा पायौँ। यतिसम्म कि, गोप्य राख्न आग्रह गरिएको उजुरिकर्ताको नाम नै सार्वजनिक भयो। जिशिअ, अख्तियारका प्रबक्ता, त्यहाँ शिक्षा हेर्ने सहसचिव सबैलाई सम्पर्क गरी पुन अनुसन्धान गर्न माग गर्यौँ।
स्थलगत अध्ययन गर्न र उजुरीका कुनै बुँदा गलत साबित भए हामिलाई सिधै जेल कोचिदिनु भनेर अख्तियारको टेबुल ठोकेको हिजै जस्तो लाग्छ। मुद्दामा शिक्षा कार्यालयका अधिकृत मुछिएका छन्, प्रधानाध्यापक एमाओवादी अनि विद्यालय अध्यक्ष एमाले कार्यकर्ता हुन्, लाग्छ राजनीति अनि निजामतीसंग हामिले सकेनौँ। केही दिन अघि एउटा गिरोहको संलग्नतामा मुद्दाको फाइल ढिस्मिस गरिएको कुरा बुझिएको छ।
आदरणीय लोकमान कार्की ज्यु , हामी उजुरी गरेर थाकीसक्यौं। अब गर्दैनौं। विद्यालयमा स्थलगत अनुसन्धान नगरे सम्म हामी जोकर बनिरहने छौँ। र अन्तिममा तपाईंलाई प्रश्न, झुठो उजुरी गरेको अभियोगमा हामिलाई कहिले जेल हाल्नुहुन्छ? अख्तियारका अधिकृतलाई पैसा खुवाए जेल जानु नपर्ने हो?
खनियापानी ४ रामेछाप
हाल: धादिङ बेशी ।