प्रत्येक दिन बिहान मेरो यात्रा पद्मोदय मोड, न्यु प्लाजा, अनामनगरहुँदै विजुली बजारमा गएर टुङ्गिन्छ भने फर्कदा पनि म त्यहि वाटो भएर फर्कन्छु।
भीडभाडपूर्ण कार्यालय समयको नेपाल यातायात चढेर यात्रा गर्नुभन्दा हिँडेर आफ्नो गन्तव्यमा पुग्नु र फर्किनु नै मलार्इ ठीक लाग्छ। मेरो रूमबाट विजुलीवजारस्थित मेरो कार्यालय पुग्न मलाई चालिस मिनेट लाग्छ। सिंहदरवारको भिमकाय पर्खाल जसको कतिपय भाग वैशाख १२ गतेको भूकम्पले भत्काएको थियो, धन्न त्यो वाटो तिर नढलेर सिंहदरवार तिर नै ढलेको थियो र पेटि पेटि हिड्ने म जस्ता वटुवाको ज्यान जोगिएको थियो।
तर उक्त कुरालाई पूर्णरूपमा भुलेर अझ भनौं बेवास्ता गरेर फेरि उत्रै भिमकाय पर्खाल ठड्याइसकिएको छ भने कति ठाउँमा निर्माण कार्य चलिरहेको छ सडक पेटिमा निर्माण सामग्री थुपारेर बाटो हिड्ने मान्छेहरुलार्इ सकसमा पारेर। सिंहदरवार भित्र बस्नेहरुलार्इ भित्रको रूख ढलेर आफूलार्इ किच्ला भन्ने डर भयो तर फेरि त्यस्तै भिमकाय पर्खाल ठड्याउदा त्यो ढल्न सक्छ अनि निर्दोष वटुवाहरू सिकार बन्न सक्छन् भन्ने कुरा देखेनन्।
प्रसँग बदलौं। झरि वर्षा, चर्को घाम, धुलो, धुवा केहि नभनी म प्रत्येक दिन त्यहि पर्खाल छेउको पेटि नापिरहेको हुन्छु आफ्नै रफ्तारमा । घाममा पनि काम लाग्ने वर्षामा पनि काम लाग्ने एउटा साथी सधैं मसँग हुन्छ मेरो छाता। म छाता ओढेर हिडेको वेलामा निकै सचेत र होसियार हुन्छु की मेरो छाताले कसैलार्इ व्यवधान खडा नहोस्। अझ प्रष्ट रुपमा भन्नुपर्दा मेरो छाताले अरुको आँखा नघोचोस् । त्यसैले नजिकै वाट कोही अगाडि वढ्दैछ भने म धेरै जसो आफूले छाता ओढेको छाता यति उचाइमा उठाउँछु कि अरूहरूले मेरो कारण आफ्नो शिर झुकाउनु नपरोस् न त मुन्टो नै वङ्ग्याउनु परोस् । यदि माथि उठाउने स्थिति छैन भने दाया वाया जता ढल्काउँदा अन्य वटुवाहरू निर्वाध रुपमा हिड्न सक्छन् म मेरो छाता त्यतै ढल्काउँछु। म अरुको निर्वाध रूपमा हिड्न पाउने अधिकार आफ्नो छाताद्वारा खोसिन दिन्न।
त्यो दिन अफिसबाट पाँचवजे निस्कदा सिम सिम पानी परिरहेको थियो। म छाता ओढेर नै हिडिरहेको थिएँ। सिंहदरवारको पूर्वी गेट हुँदै मेरो यात्रा अनामनगरको मोडमा पुगेको थियो। अगाडिबाट दुर्इजना व्यक्तिहरु आइरहेका थिए, दुवैजना मैला सर्ट र हाफ प्यान्टमा थिए। उनीहरूलार्इ मेरो छाताको कारण अप्ठ्यारो नहोस् भनेर सदा जसरी नै आफ्नो छाता उचालेँ, उनीहरूलार्इ कुनै व्यवधान त भएन तर दुर्इ मध्ये एकले भने ‘हामीलार्इ पनि छाता ओढार्इदिनुभएकोमा धन्यवाद’। मैले पछाडि फर्किएर हेर्नु जरुरी सोचिनँ। किनकी मलार्इ प्रतिवाद गर्नु थिएन न त प्रतिवाद गर्नुको कुनै अर्थ नै रहन्थ्यो । म आफ्नो वाटो लागेँ, उनीहरु आफ्नो वाटो लागे।
तर यस कुराले मलार्इ चार पाँच वर्ष अगाडिको कुरा फेरि सम्झन वाध्य बनायो जतिवेला म कलेजमा पढाउँदथेँ। वर्षाकै समय थियो। एउटा कक्षा सकिएपछि कलेजको वरण्डा हुदै अर्को कक्षामा जानुपर्ने हुन्थ्यो जुन खुला थियो। पानी यति ठूलो परिरहेको थियो कि पचास मिटरको दुरीमा रहेको अर्को कक्षासम्म पुग्ने स्थिति थिएन अनि आफूसँग भएको छाता पनि अफिस रूममा नै थियो। म त्यही कक्षाको ढोकामा उभिएर के गरौं कसो गरौं भइरहेको थिएँ। एकजना पुरुष सहकर्मी फेमिली छाता (जुन छाताले एउटा चारजनाको परिवारलार्इ नै पानीबाट जोगाउन सक्थ्यो, त्यसैले हामी फेमिली छाता भन्ने गर्थ्यौं) ओढेर आउनु भयो। मैले सर म पनि हजुरसँग अर्को कक्षासम्म जान्छु हुन्छ भनेर सोधें, उहाँले हुन्छ आउनुस् भन्ने जवाफ दिनुभयो। मलार्इ सँकोच लाग्दा लाग्दै पनि उहाँसँग गएँ। तर मेरो कक्षाको ढोकामा पुगेपछि उहाँले भन्नुभयो, ‘सधैं भरि यसै गरी छाता ओढाउन पार्इयोस्’। मलार्इ झनक्क रिस उठ्यो, मुखभरिको जवाफ दिन मन लाग्यो तर विद्यार्थीहरु अगाडि नै भएको हुँदा मैले यति मात्र भनें,‘ सपना नदेख्नुस् सर यथार्थमा जिउन सिक्नुस्’।
यी हुन् पुरुष वास्तविकता छेउ पाए घचेट्ने, कुना पाए अचेट्ने। तर सवै पुरुष त्यस्तै हुन्छन् भनेर किमार्थ भन्न खोजिएको होर्इन। यो पक्कै पनि हो की चाहे पढेलेखेका समभ्रान्त भनाउँदा हुन् वा अशिक्षित सोचमा खासै अन्तर देखिदैन। मेरा उक्त सहकर्मीले त्यसो भनेर आफ्नो कुन अभिष्ट सिद्द गरे उनै जानुन्, किन त्यसो भनेका हुन् त्यो पनि उनै जानुन्। विद्याको मन्दिर मानिएको शैक्षिक संस्थामा रहेका ज्ञान बाँढ्ने गुरुहरुको त यस्तो सोच छ भने ती वटुवालार्इ म के भनौं!