मधेसको सामान्य किसान परिवारमा जन्मेका लाल बाबू पण्डित सफा मनका कारण उच्च विचार भएका नेतामा परिणत हुँदैछन। केही मानवीय कमजोरी र सत्तारुढ पार्टीहरु कांग्रेस र एमालेको छिल्लिएको राजनीतिले यिनको काम गर्ने शैलीमा व्यवधान पुर्याए पनि अन्त्यमा दोहोरो नागरिकता लिने, सरकारी कर्मचारी र उच्च ओहदामा रहेर पनि डिभी र पिआरको मोहमा रमाउने, स्वदेश भन्दा विदेशको मोह बढी भएकाहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने वातावरण यिनैले बनाए । एमाले पार्टीका नाम चलेका नेताहरु मन्त्रीका रुपमा दुर्गन्धित भएर पार्टी र देशको राजनीति नै प्रदुषित गराएको बेला पुष्पलाल र मनमोहनको आदर्श यिनले नै जोगाएर देखाउँदै छन्।
नेपालमा कानुन नभएको होइन बरु कार्यान्वयन पक्ष फितलो र कमजोर भएको मात्र हो। यदि हालसालै ससंदबाट पास भएको कानुन अनुसार पिआर र डिभीधारीलाई कारबाही हुने हो भने यी मन्त्री गणतन्त्र पछिको नायक नै हुनेछन ।
टेक बहादुर गुरुङ, पहाडी क्षेत्रको सामान्य गुरुङ परिवारमा जन्मेहुर्केका यी व्यक्ति कुनै ठूलो राजनीतिज्ञ होइनन्। आफ्नो श्रम र मेहनतमा रमाउने व्यावसायी हुन्। कांग्रेस जस्तो ठूलो पार्टीका सयौं नेता र मन्त्रीका बीचमा यिनी सधैं सानो कदका देखिए। पार्टीले पनि मन्त्री पद पत्याएन र राज्य मन्त्री मात्र बनायो।
आफ्नो पेट पाल्नको लागि अरब र मलेसियामा जान बाध्य पारिएका दशौं लाख नेपाली युवाहरुको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्थापनको लागि यिनले गरेको पहल अत्यन्तै सकारात्मक छ। लाखौ कांग्रेस नेताको बीचमा गरिब, दुखी, विपन्नहरुको हित चिताउँदै सत्य र न्यायको पक्षमा लाग्ने बिपी कोइरालाका एक मात्र सच्चा अनुयायी यिनी मात्र देखिँदैछन्।
मेनपावरका दलाल र केही कमिसनखोरको चङुलबाट फुत्केर आफ्नो अभियानमा सफल हुन सकेमा यी राज्य मन्त्री पनि गणतन्त्र पछिको नायकको रुपमा परिचित हुनेछन्। आफ्नो कर्तव्यमा निरन्तर लागिरहन र लक्ष्यमा पुग्नका लागि यी दुवैलाई हामिले सहयोग र समर्थन गरिरहनु पर्छ।
दुवै नायकहरुलाई सफलताको शुभकामना !