कुरो १५ वर्ष अगाडिको हो। मेरो जुँगाको रेखी मात्रै बसेको थियो। नेपाली लोक गीत गाउनेलाई पाखे भन्थे अनि सिनेमा खेल्नेको स्थान पनि पाखेको जस्तै थियो।
गरिबको लुगा लगाएर साहुको दमन र बौलाहाको अभिनय धेरै गर्नुपर्ने। वास्तबमै सरोज खनालले गरिब र बौलाहाको राम्रो अभिनय गर्थे। उता नेपाली दर्शकहरू भने छिमेकि देशका सिनेमाको सुट बुटका हिरोको सिनेमा हेर्न सधै सिनेमा घर पुग्थे अनि भन्थे नेपाली सिनेमा त खत्तम हुन्छ के हेर्नू।
भारतीय सिनेमाले करोडौको व्यापार गर्दा नेपाली सिनेमाले कौडी अनि नायकले देउराली चुरोटमा चित्त बुझाउनु पर्थ्यो अनि फेरि हामीनै नारा लगाउँथ्यौं, ‘हामी राष्ट्रवादी हौ।’
समाचार आयो नेपाली नायक सरोज खनाल अमेरिका भासिए। अमेरिकामा भाडा माझ्ने काम गर्छन रे। हामी निकै हाँस्यौ। नेपालको हिरोको हालत भन्दै। छिमेकीको सिनेमा संसारभर फैलिदै गयो नेपाली चलचित्रको बजार झन् साँघुरिदै गयो र २ दशक बितिसक्दा पनि यसको हालत उस्तै छ। सिनेमा खेलेर पैसा नपाउने, पैसा नउठ्ने खबर मात्रै सुनिन्छ। यो सरोज खनालको दोष होइन नेपाल र नेपालीको दोष हो। किनकि सरोज खनालजस्ता हजारौं नायक जन्मे नेपाली सेनेमा जगतमा।
अनि कलाकारहरु पनि विकल्पको खोजि गर्न थाले। सायद नेपाली दर्शकले कलाकारहरूलाई साच्चीकै माया गर्ने थिए भने अहिले किन हलहरू खाली हुन्छन्?
नेपालीमा भनाइ छ ‘मेला छदै मेला बैस छदै लाहुर।’ सायद सरोज खनालले त्यही गरे जे गरे ठीकै गरे। सरोज खनाल देश होइन मान्छे हो। उसले गर्ने बौलाहा र गरिबको अभिनय र एकछिनलाई मात्रै हो उसको वास्तविक जीवन त अरुको जस्तै छ।
१५ वर्षको अमेरिकी बसाइले अब सरोज खनाललाई बौलाहा र गरिबको पात्र बन्न पर्दैन। उसले अरु थुप्रै पात्र जन्माउन सक्छन्। बास्तबमा नेपाली सिनेमालाई पहिलेको सरोज होइन अहिलेको सरोज जो दारी अलिअलि फुलेको टाई सुट लगाउँदा चिटिक्क सुहाउने, हुने खाने जस्तो गम्भीर स्वभावको देखिने पात्रको आवस्यक छ। बौलाहा र माग्ने सरोजको होइन। नेपाली दर्शक थाकिसके यो हेर्दा हेर्दा।
अब कुरो रह्यो राष्ट्रियता र वृदाश्रमको।
आखिरीमा नेपालमा बस्ने सबैमा वास्तविक राष्ट्रियता भएको भए देशको हालत यो हुँदैनथ्यो होला। नेपालीले अरबको ५० डिग्री अनि मेस्किकोको जंगलबाट १५ दिन हिँडेर अमेरिकाको सपना देख्न पर्दैनथ्यो होला। अनि हाम्रा नेता, कलाकार, पत्रकारले अमेरिकाको भिसा अफिस धाउन पर्दैनथ्यो होला।
मलाई त सरोज खनालत धेरै ज्ञान भएको मान्छे अनि राष्ट्रवादी लाग्यो, किनकि बिदेशबाट पेन्सन पाकेपछि नेपाल फर्किए। आखिरीमा बलिया बाङ्गा को नै छ र नेपालमा? गाउँघरमा त वृद्ध बुढा बुढी मात्रै छन्। अरू सबै बिदेशमा र जाने लाईनमा छन्।
आखिरीमा नेपाल साच्चिकै बृदाश्रम भएन त? यसमा सरोजको के दोष? एकजना विदेशीले भन्थे, ‘नेपालमा मर्न पाए त स्वर्ग पुगिन्थ्यो होला किनकि नेपाल स्वर्गको नजिक छ।’ सायद सरोजको पनि त्यही इच्छा होला।
सरोज खनाल प्रति इर्स्या लाग्नेहरु एक पटक अमेरिका आउनुहोस्। उनले जे गरे त्यही गर्नुहोस्। अनि नेपाल गएर बस्नुभयो भने तपाईँहरूलाई बल्ल राष्ट्रप्रतिको माया राष्ट्रियता के हो भनेर थाहा होला। अनि ठुलै तक्मा प्राप्त हुनेछ। नभए शान्ति खोज्दै नेपाल गएका सरोजको शान्ति प्रक्रियामा असर नपार्दै बेश होला।धन्यवाद।