जन्मोत्सवको शुभ साइतमा
प्रथम पटक
मृत्यूले सूचना पठाएथ्यो-
"जन्मसँगै जोडिन्छ मृत्यू
अनन्त समयभित्र
निश्चित छ तेरो जिन्दगीको अन्त्य"
शब्द बुझें अर्थ बुझिनँ
चुपचाप चुपचाप
समयले अगाडि बढाईरह्यो
जिन्दगीलाई।
अकस्मात् दोश्रोपटक
मृत्यूले सूचना पठायो-
"मर्नु अगावै
मानिस बनेर ज्युनू
छोटीदैछ जिन्दगी
नजिकिदैछ
तेरो र मेरो दूरी"
यो सूचनाले
यथार्थमा ब्युँझाईदियो
कोट्याएर अतीत
कोर्न लागें
भविष्यको खाका
ठीक यहिबेला
वर्तमान भन्दैथियो-
कहिल्यै मेरो आभास भएन?
हराइस् आफैंभित्र
अतीत र भविष्य को भूलभुलैयामा?
नपठाएरै तेश्रो सूचना
टुप्लुक्क मृत्यू आईपुग्यो
समयको कठालो लिएर
स्वास अठ्याइदियो
र
बुझ्न आतुर थियो-
मानिस भएर ज्यूनुको अनुभूति।।