हो साथी म त लडेको मान्छे
अहिले मात्र होइन धेरै पटक लडेको मान्छे
सात सालमा लडिन कि छत्तिस सालमा लडिन ?
छयालिसमा लडिन कि बैसट्ठीमा लडिन ?
बुटको मार खाइएन कि लाठीको चोट थापिएन?
रगतको धारा बगाइएन कि बैशाखीको भर परिएन ?
लड्नु त मेरो नियति
अहिले पो भुईँचालोले लडायो
पौरखको कमाई खाई रहेको म बबुरोलाई
एक फेर मेरो हैसियत देखायो
समानताको पाठ पढायो, उँचो निचको दुरी घटायो
लाठी र बन्दुकको पर्यायी बनेका जवानहरुको कोमल हृदय देखायो
उहिले र अहिलेको लडाइमा फरक छ साथी
पहिले म आफैं लड्न जाँदा लडेको मान्छे
लाठी र बुटको मार भोगेको मान्छे
बेपत्ता पारेर मिल्काइएको मान्छे
मान्छेले मार्न खोज्दा प्रकृतिले बचाएको मान्छे
मान्छेले फाल्न खोज्दा ईश्वरले हात थापेको मान्छे
अहिले म लड्दिन भन्दा भन्दै लडाइएको मान्छे
लाठीवालहरुको कोमल हातद्वारा बचाइएको मान्छे
प्रकृतिले मार्न खोज्दा मान्छेहरुले जोगाएको मान्छे
नि:सहाय र निष्प्राण बनेका मौन ईश्वरसँगसँगै
एउटै धर्तीमा लडेको म मान्छे
- २०७२ जेठ ७