मलाई बेलाबेलामा पेट दुख्ने गर्थ्यो, पेट गड्याङगुडुङ गर्थ्यो र वायु पनि निकै जाने गर्थ्यो । बिहान उठ्दा कहिलेकाहिँ टाउको हल्का भई थकित महशुस हुने पनि गर्थ्यो । पेट दुख्नुको कारण अधिकांश नेपालीलाइ हुने रोग ग्यास्ट्रिक होला भन्ने लाग्यो । कहिलेकाहिं टाउको दुख्नु पनि सामान्य नै हो भनी त्यति वास्ता गरिन । बराबर यस्तो हुन थालेपछि सन् २००५ मा मैले पाटन अस्पतालमा पहिलो पटक डाक्टरलाइ देखाएँ ।
डाक्टरले दिशा, पिसाब, रगत आदि सबै जाँचेँ तर केही देखिएन, पछि मेरो पेट पनि बिस्तारै आफैं निको भयो । केही महिनापछि फेरि त्यस्तै गरी पेट दुख्यो, यसपालि मैले जावलाखेलको अल्का अस्पतालमा डाक्टरलाइ देखाएँ । जाँचमा केही नदेखिएपछि डाक्टरले इरिटेवल बाबल सिन्ड्रोम भएको बताए । घर आई गुगलमा सर्च गरेँ, इरिटेवल बाबल सिन्ड्रोम भनेको त रोगको निदान नभएपछि दिइने नाम रहेछ । मुख्यतया ग्यास्ट्रिक, चिन्ता तथा थाहा नभएका अन्य कारणले पेट सम्बन्धी समस्या भएमा उक्त नाम दिइने रहेछ । सन् २०११ मा म आबुधावी हुँदा फेरि डाक्टरलाइ देखाएँ तर त्यहाँ पनि केही देखिएन ।
सन् २०१२ मा म अध्ययनको सिलसिलामा अमेरिका आएँ । फेरि पुरानै लक्षण देखिन थालेपछि विश्वविद्यालयको स्वास्थ्य सेवा विभागमा गई देखाएँ । त्यहाँ पनि ब्लडप्रेसर, दिशा, रगत, पिसाब आदि सबै जाँच भयो । थप भिटामिन लेभलको जाँच पनि भयो । अरु सबै सामान्य देखियो तर भिटामिन बि १२ र डी हुनुपर्नेभन्दा कम देखियो । त्यसपछि त्यहाँका डाक्टरले पेट रोग विशेषज्ञलाई रिफर गरिदिए ।
पेटरोग विशेषज्ञले रिपोर्टहरु हेरेपछि सेलियाक डिजिज भएको हुनसक्ने शंका गरे । मैले जिन्दगीमा पहिलोपटक उक्त रोगको नाम सुनेँ । नेपालमा मैले देखाएका कुनै डाक्टरले पनि उक्त रोगको नाम लिएका थिएनन् । भिटामिन लेभल कम देखिएपछि सानो आन्द्राले पोषक तत्व सोस्न नसक्दा यस्तो हुन सक्ने बताए । घर गई गुगलमा सर्च गरेँ, उक्त रोग त गहुँ तथा जौमा पाइने ग्लुटन नामको एक प्रकारको प्रोटिनले गर्दा हुने रहेछ । रोगको थप निदानको लागि इन्डोस्कोपी र कोलोनोस्कोपी गर्नुपर्ने बताए । अमेरिकामा स्वास्थ्य सेवा निकै महंगो छ तर मलाइ विश्वविद्यालयले मासिक करिब ५ सय डलर तिरी इन्सुरेन्स किनिदिएकाले अधिकांश स्वास्थ्य सेवा शुल्क इन्सुरेन्स कम्पनीले नै बेहोर्थ्यो ।
केही दिनपछि मेरो इन्डोस्कोपी र कोलेनोस्कोपी भयो । डाक्टरले शंका गरे बमोजिम नै बायोप्सी गर्दा सानो आन्द्रामा पोषक तत्व सोस्ने भिल्लीहरु फुलेको देखियो । मलाइ सेलियाक डिजिज भएको निश्चित भयो । उक्त रोगको एकमात्र उपचार भनेकै गहुँबाट बनेका खानेकुरा नखानु हो । मैले गहुँबाट बनेका कुनैपनि खाद्य परिकार सधैंका लागि खान नपाउने भएँ । गहुँ तथा जौबाट बन्ने हुनाले बियर पनि पिउन नपाउने भएँ तर अंगुरबाट बनेको वाइन भने पिउन पाउने भइयो । त्यसपछि यो रोगको चासो बढ्दै गयो । अमेरिका तथा विकसित धेरै मुलकहरुमा यो रोग सामान्य रोग रहेछ । कतिपय सुपरमार्केटहरुमा त ग्लुटन फ्री खाद्य पदार्थको छुट्टै सेक्सन नै स्थापना गरिएको पनि हुने रहेछ । यहाँको कानुनअनुसार हरेक खाद्य पदार्थमा गहुँ भए नभएको जानकारी बाहिर लेवलमा स्पष्ट लेखिनुपर्छ । गहुँको साथै आलमन्ड, सोयाविन, बदाम, दुध आदि पदार्थ पनि भए नभएको स्पष्ट लेख्नुपर्ने व्यवस्था रहेछ किनकि ती पदार्थले पनि कतिपय मानिसलाई एलर्जी हुने रहेछ ।
तपाईलाई पनि कहिलेकाहिं पेट दुख्ने, टाउको हल्का हुने, अल्छी लागिरहने, थकित महसुस हुने आदि हुन्छ भने सेलियाक डिजिज भएको हुनसक्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला ।
-सागर पराजुली
हाल: संयुक्त राज्य अमेरिका