उमेरले म ०४७ साले, खै कत्रो भए भनम्? सबैकुरा बुझिसके जस्तो लाग्छ, अनि फेरि एकैछिनमा केहि थाहा छैन जस्तो। म लेखक भएको भए यस्तै कुरा घुमाएर धेरै कुरा रमाइलो पारामा लेख्थे होला। तर न म लेखक परे न त कुरा घुमाएर भन्ने खालको नै पर्यो।
मेरो मिल्ने साथी र मिल्ने दाई अब केहि दिनमा जादैछन् संसारकै अग्लो हिमाल भएको देशबाट संसारकै अग्लो भवन भएको देशमा।
अग्लो हिमालभन्दा अग्लो भवन देख्ने साथी नै धेरैछन् मेरा। काठमाडौं बसेको ६ वर्ष भयो, गएको केहि बर्षबाट म प्रत्येक महिना जसो आफूले चिनेको कसै न कसैलाई बिदाई गर्न त्रिभुवन विमानस्थल पुग्दछु।
सबैको बाध्यता छ, म कसैलाई रोक्न सक्दिनँ, म आफ्नो सोचलाई उनीहरुको बास्तविकता बनाउन सक्दिनँ। अब जाने दाई र साथीसँग मैले धेरै लामो समय बिताएको छु, तर नि केहि परिवेश पक्कै फरक छ उनीहरुको, त्यै भएर त उनीहरू जानलागेको छन्। म मात्र हैन यहाँ उनीहरूलाई रोक्नको लागि अरू धेरै कुरा छन्। तर अब उनीहरू नरोक्किने तय भइसकेको छ, भिसा आइसकेको छ।
धनकै बाध्यता छ किनकी हामीलाई सायद कहिल्यै थाहा हुँदैन कि कति धनले खुसी बन्न सकिन्छ र धनको मुख्य अर्थ के हो। के त्यो खाडीमा हरेक दिन एकनासै बनाएर ल्याएको कागज धन हो?
कि यहाँको माहोल, आफ्नो प्यारो मान्छे, स्वतन्त्र परिवेश? थाहा नभएको होइन कसैलाई भिन्नता माटो र बालुवा बिचको, तर यो बाध्यता म बुझ्न सक्दिनँ।
५ वर्षे ब्याचलर कोर्स सकिन लाग्यो मेरो नि, म मेरो साथीहरुलाई सोध्छु, धेरैको सोच बिदेश जाने नै छ। केहि त पढाई बिचमै छाडेर नि गइसके। गाँउघर जाँदा नि दाइसाथीहरू नदेख्दा सब खल्लो लाग्छ, दशैमा लिङ्गे पिङ्ग गाड्ने मान्छे नि खाडीमा खम्बा गाड्न गइसके। अब राजधानीमा भएका सबै पनि घट्दैछन्।
साथ दिनेहरु बिदेशिन थालेपछि एक्लो-एक्लो हुँदै गइरहेको छु। सपना लथालिङ् भइ फिजिएका छन्। यो जीन्दगी हजारौ वर्षको भइदिए म पनि बिदेशमा बर्षौ बिताइदिन्थे, तर छोटो छ जीन्दगी त्यै पनि अनिश्चित्। त्यसैले म आफ्नो मान्छेलाई केहि पर्दा यहाँ उनीहरुसँगै समय बिताउन चाहान्छु। तर अब डर लाग्न थालेको छ, कतै म यो देशमा एक्लै त पर्दिन?
जे भएपनि अब बिदेशीने दाई र साथीलाई सम्झदैछु अनि मोबाइलमा पनि त्यस्तै गाना बज्दैछ र मन झनझन् भावुक हुन खोज्दैछ, गीतले भन्दैछ ‘वि ह्याभ कम अ लङ वे, फ्रम वेयर वि बिगन...’