आदरणिय आफन्त ज्यु,
नमस्कार
सर्वप्रथम त छोरीको बिहेको निमन्त्रणा पत्र पठाउनुभएकोमा धन्यवाद दिन चाहन्छु। भब्यताका साथ छोरीको बिहे तारे होटेलबाट गर्न लाग्नुभएको रहेछ।
मलाई थाहा छ यो कुरालाई हजुरले आफ्नो प्रतिस्ठासँग दाँजेर हेर्नु भएको छ। आजभोलि विवाह ब्रतवन्धको पार्टीमा महगाँ-महगाँ लुगा तथा गरगहना लगाउने चलन बढ्दो छ। यहाँलाई अवगतै छ म एउटा निम्न वर्गीय परिवारमा जन्मेर हुर्केकी बिद्यार्थी।
मेरो बुवा आमाले मलाई पढाउनको लागि आफ्नो आम्दानीको शतप्रतिशत रकम खर्च गर्नुभएको छ। दु:ख गरेर कमाएको पैसा हातमा पर्नासाथै तात्-तातै उहाँहरुले मलाई पठाउनुहुन्छ। काठमाडौंको महँगीमा गाउँबाट पठाउनुभएको त्यो रकमले खर्च धान्नै मुस्किल हुन्छ। आम्दानी बढोस् या नबढोस् कोठा भाडा बर्षेनी बढेकै छ। तरकारी लगायत अरु सबै खाध्य पदार्थको मुल्य चुलिएकै छ।
आफन्त ज्यु, तपाईं त शहरमै बस्नुभएको मान्छे, पक्कै पनि यहाँलाई थाहा हुन पर्ने हो शहरको समस्या। धारामा पानी नआएर ट्याकंरको पानी किनेर खान वाध्य छौँ हामीहरू। बाटोमा निस्किँदा धुलो धुवाँको कारणले बिरामी भएर कम्तिमा पनि महिनाको एक पटक ज्वरो अनी रुघा खोकिले सताउँछ र उपचार खर्च कती लाग्छ भनेर मैले यहाँलाई सम्झाइराख्न पर्दैन होला।
गाडीमा ठेलमठेलले कहिले सर्टको टाँक खुस्किन्छ, कहिले त च्यातिन्छ नै। पानीपरेको बेलामा त झन बाटोमा हिड्दा, सडक फराकिलो पार्न वा मेलम्ची खानेपानिको पाइप विच्छ्याउन खनिएका सडकमा हुइँकिने गाडीले हिलो छ्याप्दा कपडा पुरै हिलो हुन गइ दैनिकजसो धुन पर्ने हुन्छ।
त्यति मात्र हो र कहिलेकाही त हिलोमा खुट्टा गाडीँदा चप्पलै चुँडिन्छ। च्यातिएको सर्ट सिलाउँदा होस् या नयाँ सर्ट किन्न पर्दा होस्, हिलाम्मे भएको कपडा धुँदा होस् या चुँडिएको चप्पल सिलाउदा होस् जताबाट पनि घुमाइफिराइ पैसाको नै कुरा आउँछ।
यसरी हेर्दा हाम्रो मासिक खर्च धान्न बुवा आमाले गाउँबाट पठाएको पैसाले धौ-धौ पर्छ। गाउँमा आफूले आधा पेट खाएर हामी छोराछोरीलाई शहरमा पढ्न पठाउनुभएको बुवा आमासँग म कसरी तपाईंको छोरीको विहेमा जाँदा लगाउनपर्ने महगाँ कपडा र गहना किनिदिने पैसा पठाइदिनु भनेर माग गर्न सक्छु र? मसँग भएका सस्ता कपडा लगाएर आउँदा त्यती भब्य पार्टीको शोभा बिग्रेला।
हजुरलाई अरूको अगाडि मलाई चिनाउन अप्ठ्यारो पर्ला। म तपाईंलाई धर्म संकटमा पार्न चाहन्न। त्यसैले असमर्थताको लागि क्षमायाचना गर्दै बहिनीलाई सफल दाम्पत्य जीवनको शुभकामना यही पत्र मार्फत ब्यक्त गर्न चाहन्छु ।
उही तपाईंको
निम्न वर्गिय आफन्त