२०७१/१२/१५ को ग्लोबल सेतोपाटीमा लेखिएको ‘अमेरिकाबाट किन फर्कने?’ भन्ने लेखमा ज्योति देवकोटाले मेरो सहोदर दाइ सौभाग्य शाहका बारेमा केही भ्रामक कुरा लेख्नु भएकाले उक्त लेखका कारण पाठक वर्गमा भ्रम परेकाले केही कुरा परिवारका तर्फबाट प्रष्ट पार्न चाहन्छु-
लेखकले त्यस लेखमा उठाएका कुनै पनि तथ्य सौभाग्य शाहसँग मेल नखाने देखिन्छ। जस्तै उहाँको नाम सौभाग्यजंग शाह नभई सौभाग्य शाह हो। उहाँले पुल्चोकको डेरामा भेटेको भन्नु भएको रहेछ, हाम्रो डेरा कहिले पनि पुल्चोकमा थिएन। सौभाग्य शाहको तलब सुरुदेखि त्रिविले नरोकेको र पछि अमेरिकाबाट फर्की सकेपछि मात्र रोकेको थियो। उहाँले भनेजस्तो उहाँ तीन महिनाको नभई आठ महिनाको बिदा बढी बसेकाले केही समयसम्म सेवा निरन्तरताका लागि समस्या भएको हो, त्यही कारण पछि तलब रोकिएको थियो।
उहाँको बौद्धिक क्षमता देखेर नै विश्वविद्यालयले पछि सबै उहाँको बिदा तथा तलब मिलान गरिदिएको थियो। सौभाग्य शाह स्वर्गे हुँदा उहाँ ४२ नभई ४८ वर्षको हुनुहुन्थ्यो। त्यसबेला उहाँले आफ्नै चारपांग्रे सवारी साधन प्रयोग गर्नु हुन्थ्यो। साथै उहाँले ०६२ को सुरुमै भैंसेपाटीमा आफैँले नै घर किनिसक्नु भएको थियो। जहाँसम्म उधारो कन्सल्ट्यान्सी भन्ने कुरा छ, आज पनि मेरो दाजुको नजिकका मित्रहरूबाट प्रष्ट पार्न सकिन्छ कि हार्वड विश्वविद्यालयबाट फर्केकाले अन्तर्राष्ट्रिय गैरसहकारी संस्थासमेत पनि उहाँका पछाडि लागिरहेका थिए मागे जति पैसा दिन्छु भनेर। यी सबै तथ्यलाई हेर्दा लेखकले सौभाग्य शाहलाई कहिल्यै कहीं नभेटेको जस्तो देखिन्छ। उहाँले दिएका तथ्यलाई प्रमाणित गर्न चुनौती दिन चाहन्छु। यो लेखक नितान्त शौभाग्यलाई बदनाम गर्न प्रायोजित लेखजस्तो महसुस भएको छ हामीलाई।
सौभाग्य शाहमा जुन निष्ठा र देशप्रेमको भावना थियो सोही अनुरूप देशमा नै बसी केही गर्नुपर्छ भन्ने आदर्शमा रहनु हुन्थ्यो। तर यस लेखमा लेखक महोदयले त्यसलाई नै उल्टाएर उहाँको विचार भनी मेरा दाजुलाई उद्धृत गर्नु भएकाले परिवार, उहाँका विद्यार्थी तथा मित्रलाई चोट पुर्याउने काम भएको छ। यदि सौभाग्य शाहलाई देश फर्केर रतिभर पनि आत्मग्लानी भएको भए, उहाँ कुनै पनि दिन अमेरिका फर्केर जान सक्नु हुन्थ्यो र अमेरिकी जीवन व्यतित गर्न सक्नु हुन्थ्यो। साथै नेपालमा पनि आफ्नो आदर्शलाई बन्धकी राखेको भए, त्यो जीवन पनि पाउन सक्नु हुन्थ्यो। उहाँ अमेरिकाबाट फर्किेसकेपछि पनि प्रत्येक वर्षजस्तो विभिन्न सभा, सेमिनारहरूमा भाग लिन त्यसतर्फ गइरहँदा पनि अमेरिका पलायन हुने सोच कहिले राख्नु भएन। अरु जस्तो अमेरिका पुग्न डिभी चिठ्ठाको सहारा लिनुपर्ने स्थिति थिएन, लेखक महोदय।
उहाँ नेपालमा समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो देशमा फर्किनु भएको थियो। त्यही कारण नै उहाँले बेला बेलामा भन्नुहुन्थ्यो, ‘हामीले देशमा अवसर खोज्ने होइन, आफैँले अवसर सृजना गर्नुपर्छ ।’
केही पारिवारिक कुरा पनि गर्नुपर्ने भएकाले क्षमा चाहन्छु। लेखक महोदय, जुन ‘पुर्ख्यौली केही पनि नभएको’ लेख्नु भएको रहेछ। त्योभन्दा जातभाततिर लक्षित गर्न खोज्नु भएको हो कि आार्थिक पाटोमा? बुझ्न सकिएन। हामी कणार्ली अञ्चलको मध्यमवर्गीय परिवारमा जन्मेका हौँ। त्यस बेलाको समय अनुसार सामान्य जीवनयापन गर्न हामीलाई कुनै कुराको अभाव थिएन। सबै भाइबहिनीले राम्रै शिक्षादीक्षा पाएका थियौँ। साथै, त्यसबेला नै मेरो बुवा राष्ट्रिय पञ्चायतको सदस्य तथा विभिन्न पदमा रहेर राजनीतिमा समेत संलग्न भइसकेकाले सामाजिक प्रतिष्ठा पनि राम्रौ नै थियो, जुन कुरा लेखकले आज पनि बुझ्न सक्नु हुन्छ। सौभाग्य शाहका साथीभाई तथा मित्रसँग बुझ्न सक्नुहुन्छ, उहाँ कहिले पनि आफ्नो व्यक्तिगत जीवनका बारेमा कसैसँग पनि सेयेर गर्नु हुँदैन थियो, कति कुरा त परिवारसँग पनि। अनि कसरी विश्वास गर्नु उहाँको दुई घन्टाको भेटमा सबै कुरा भयो भनेर?
सौभाग्य शाह नेपाल फर्किसकेपछि त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागको संस्थापक संयोजक हुनुभयो। शाहबाट प्रेरित भई आफूहरू नेपालमै बस्ने र जहाँ पढ्न गए पनि नेपालमै फर्कने प्रतिबद्धता वहाँका विद्यार्थीहरूले हरेक वर्ष ‘स्मृति दिवस’मा आयोजित कार्यक्रममा गरेको देख्दा हामी अहिले पनि भावुक बन्छौं।
‘म द्वन्द्व, शान्ति र विकास विषय पढेपछि ठुल्ठूला अन्तर्राष्ट्रिय संघसंस्थामा जागिर खाने सपना देख्थें। तर जब सौभाग्य शाहलाई गुरुका रूपमा पाएँ, मैले जस्तोसुकै कठोर समयबाट गुज्रे पनि नेपालमै काम गर्ने अठोट गरें,’ पछिल्लोपटक पुस १ गते सौभाग्य शाहको स्मृति दिवसमा आयोजित कार्यक्रममा द्वन्द्व, शान्ति र विकास अध्ययन विभागका एक पूर्वविद्यार्थीको भनाइ स्मरण गर्न चाहेँ।
उहाँ सधैँ आशावादी मान्छे हो। उहाँमा हामीले कहिले पनि निराशाको भाव देखेनौँ, जुन भाव मृत्युपछि पनि उहाँको चम्किलो अनुहारबाट सबैले अनुभव गर्न सक्थ्यौँ। जीवनमा मानिसलाई सानातिना विघ्नबाधा नपर्ने हैन, त्यस्तै उहाँको वैवाहिक जीवन पनि नितान्त व्यक्तिगत हो।
सायद लेखक महोदय आफू अमेरिकामा बसोबास गरिरहेको हुनाले त्यसलाई सही देखाउने तृष्णाले अर्काको कद काटी आफ्नो उचाइ बढाउने स्वप्न देख्नेहरूले उच्च आदर्श व्यक्तित्व भएका सौभाग्य शाहको सहारा लिन खोजेकोजस्तो लाग्यो। जो यस देशमा फर्किएर देशलाई केही योगदान दिएकाले नै उदाहरणीय हुनु भयो। यदि नआउनु हुँदो हो त, अरु जस्तै केवल पलायनवादीको कित्तामा पर्नु हुन्थ्यो होला। जसलाई उनका परिवारले मात्र आर्थिक स्रोतका रूपमा चिन्छन्। तर आज उहाँ त्यस्ता व्यक्तित्व नभई जो आफ्नो निष्ठा तथा निस्वार्थ भावनाका साथ देशलाई योगदान दिएकाले नै आज बौद्धिक क्षेत्रमा सौभाग्य शाह भनेर धेरैले चिनेका छन्।
उहाँमा हामी जहिले पनि एउटै भावना पाउँथ्यौँ कि ‘अमेरिकाबाट किन नफर्कने?’
जसमा हामीलाई ठूलो गर्व छ।
सेतोपाटीजस्तो प्रतिष्ठित अनलाइन पत्रिकाले कसैका बारेमा लेख्दा पूर्ण रूपमा नबुझी अनुमानका भरमा तथा व्यक्तिको आदर्शमा नै आँच आउने गरी लेख लेख्दा परिवारजन मित्र तथा शुभचिन्तकमा पर्ने मानसिक चोटको बारेमा पनि विचार पुर्याउनु पर्ने थियो कि?
अनुपविक्रम शाह (भाइ)
भैंसेपाटी ०८, ललितपुर