सेतोपाटीमा चैत १० गते प्रकाशित बहिनी निशा राईको म घर फर्कन चाहन्नलेख पढेपछि एउटा भिन्दै खाले अनुभूति भयो। नेपाली महिलाले विदेशी खुला आकाशमा स्वच्छन्द र स्वतन्त्ररूपले विचरण गर्न पाएकोमा, आफू नै त्यहाँ गएर घुमेको जस्तो लाग्यो।
तपाइँको ठाउँमा म भएको भए पनि घर फर्कन चाहन्थिन होला। आफ्नो देश, आफ्नो जन्मस्थल भनेर के गर्ने बहिनी? हामी नेपाली महिलाहरू कति असुरक्षित छौं? रातिको कुरा छाडौं घर बाहिरको कुरा छाडौं आफ्नै घरमा समेत निर्धक्कसँग निदाउन सकेका छैनौं ।आफ्नै बाबु, हजुरबुवासँग बस्दासम्म पनि सुरक्षित हुन सकेका छैनौं आज हामी नेपाली चेलीहरू।
कति निर्लज्ज र निर्घिणी भयो नेपाली समाज? बाटो घाटोमा हिँड्दा होस्, यातायातको साधनमा होस्, कार्यालयदेखि हरेक तह र तप्कामा महिलाहरू शोषणमा परिरहेकै छन्। किन बढे यति धेरै व्यभिचारीहरू? आखिर कहिलेसम्म भोग्नुपर्ने हो यस्तो नियती नेपाली महिलाहरूले? ‘लौन नि! रात परिसक्यो अब के गर्ने?’ भन्ने खालको त्रास कहिलेसम्म बोकिराख्ने?
यो समस्या महिलाको मात्र हो त? विवेक सम्मत पुरूषले पनि अब डटेर मुकाविला गर्नुपर्ने हैन र? यो समस्या सरकारको हैन? अब पनि सरकारले कानमा तेल हालेर बस्न मिल्छ? राष्ट्रिय रूपमा वहस चलाएर कानूनविद, नागरिक समाज लगायतका अगुवाहरूसँग छलफल चलाएर छिट्टै देशलाई निकास दिनु सरकारको कर्तव्य होइन?
किन यूरोप र अमेरिकामा यस्ता अपराध हुँदैनन्? अध्ययन गरेर यहाँ पनि त्यसै अनुसार लागू गर्न सकिँदैन? भारतमा तेजाव आक्रमण बढेपछि नेपालमा पनि कडा कानून लागू भएको भए संगीता र सीमाले यो दुर्दषा भोग्नु पर्थेन होला। अझ सीमाले अनाहकमा आफन्तको तितो वोली सुन्नुपर्ने थिएन। बलात्कारीलाई कडाभन्दा कडा सजाय भएको भए रामेछापको सुन्तली तामाङ अनि वाराको पूजा साहको बलात्कार र हत्या हुने थिएन।
किन नेपालमा कुनै घट्ना घटेपछि २,४ दिन तातिन्छ अनि सेलाउँछ कुनै टुङ्गोमा पुग्न नपाउँदै । गरिब असहाय र राज्यमा पहुँच नपुगेका वर्गमा घटेका घटना भएर हो? के निर्णायक पदमा महिला पुग्न नसकेर हो? यदि त्यसो हो भने हे परमेश्वर एउटा विपन्न वर्गकी महिलालाई शक्तिमा पुर्याइदेउ अनि उनले नै तमाम महिलाको लागि कानून ल्याउनेछिन्।