गंगामाया, जो विधवा भएर पनि विधवा हुन पाइनन्
आमरण अनसनमै बिते नन्दप्रसाद। उनको लास शिक्षण अस्पतालको चिसो घर्रामा ठिहिर्याईरहेको छ। राज्य नपुंसक छ। कानून आफ्नै जञ्जालमा जकडीएको छ। बाँचेको एउटा छोरा नुरप्रसाद छोराको दायित्व निर्वाह गर्न नसकेको डाह र पीडाले बिभिण्डीएको छ।
एउटी बुहारी काखको सानो छोरा जोगाउनका लागि माइती घर फर्किइन्। माइतमा सबै माओवादीमा छन्। त्यसैले काखको पिउसोको जीवन जोगाउन माओवादी बनिन्। एकल पुत्र नुरप्रसादले भाईका हत्याराको शरण स्वीकार्न सकेनन्। छोराको माया, भाईको न्याय, पिताको आत्म बलिदान, आमाको दुर्दशा, यी सबै पीडाको प्रतिमूर्ति बनेका छन् उनी।
आमा गंगामायाको स्वास्थ्य खराब छ। शरीरमा तागत छैन। हात खुट्टा सुन्निएका छन। शरीर जकडिएको छ। उनी झोलमात्र पिउछिन्, त्यो पनि अन्न, गेडागुडीको होइन।
गंगामायाको परिवार उपर कति निर्दयी बन्न सके माओवादी भन्ने कुराको अनेकन कथा, ब्यथाको संगालो नै छ। म आज महिला दिवस। महिला नेत्री कहलिएकी हिसिला यमी, पूर्वलोकप्रिय प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नीले गरेको आततायी ब्यवहार, जो अधिकारी दम्पतीले भोगे त्यसको एउटा सानो टुक्रा प्रस्तुत गर्नेछु।
केही महिना अधिकारी दम्पतीले दिलशोभा श्रेष्ठको आमा घरमा आश्रय पाएका थिए। हिसिलाले एकरात दिलशोभालाई फोन गरेर तर्साइन – ‘ए दिलशोभा, त्यो फुजेलको अधिकारी बुढाबुढीलाई किन राखेको? तिनीहरूलाई तुरुन्तै निकालीहाल नत्र अहिले हाम्रो कमरेडहरुले तिम्रो आमा घर भताङ भुतुङ पारिदिन्छन्। ल तुरुन्त निकाल।’
दिलशोभा के गरून्? राजा के आगे बाप कि दुहाई। उनलाई अरु थुप्रै असहाय आमा बुवाको चिन्ता थियो जो आमाघरमा आश्रित थिए। तर उनले धर्म छोडिनन्। कालिमाटी बस्ने भाईलाई फोन गरिन। पीडा सुनाईन्। दिदीभाईको सल्लाह मिल्यो र अधिकारी दम्पति सुटुक्क भाईको घरमा सारिए। तर, महिना नबित्दै हिसिलाका जासुस, निर्दयीका जत्थाले उनलाई खबर गरे। अब धम्की चेतावनी पाउने पालो थियो दिलशोभाको भाईको। भाइ किंकर्तब्य विमुढ भएको अवस्थाको भेउ पाए नन्दप्रसादले। उल्टो उनलाई ढाडस दिँदै अधिकारी दम्पति कुम्लो पोको पारेर घिसारिँदै निस्किए, दिलशोभाका भाईको घरबाट। झरी परेको थियो। गंगामाया कलेजी रंगको उनी बर्को देखाउँदै कल्पिन्छिन, - यहि बर्कोले टाउकोमा ओत लाउँथ्यौँ हामी, पानी रोकिएपछि निचोर्थ्यौँ र घामलाग्दा सुकाउँथ्यौँ ।' उनले त्यो बर्को वीर अस्पतालको फलामे पलंगमा अहिले जतनले फैल्याएर टाँगेकी छिन्।
बाबुराम गिरी, दिनेश त्रिपाठी ,चरण प्रसाईं र म उनलाई भेट्न गयौँ ०७१ फागुन २२ गते। कल्पिएर रोईन, गंगामाया। उनलाई नाति भेट्ने रहर छ। उनी बुहारीको दोष देख्दिनन्। उनलाई छोराप्रति अति आशक्ति छ। ‘कठै मेरो छोरो’ उनी भन्छिन् उसको ठाउँमा कसैले आफूलाई राखि हेरोस्, अनि धर्म खुल्ला।
आज अन्तर्राष्ट्रिय महिला दिवस। बडेबडे नारी, नेतृ, कलम, वाँणीहरु जाज्वल्यमान होलान्। मेरी बहिनी गंगालाई भेट्न जान्छु अस्पताल र घोषणा गर्न चाहन्छु, निषेधित गरियोस हिसिला प्रवृत्ति ।हत्याराहरु मुर्दावाद।
अन्त्यमा: सबै पत्रकारहरुसँग आग्रह गर्छु, निर्धक्क छाप्नुस्, साभार गर्नुस यि सत्यवचन।