प्रवेशिका परीक्षाको तयारीमा रहेका अवोध बालिकाप्रति लक्षित एसिड काण्डले यति बेला आम अविभावक वर्गमा चिन्ता छाएको छ। हाम्रा छोरीहरुको सुरक्षित जिउने अधिकारमा फेरि एक पटक प्रश्न चिन्ह लागेको छ।
यो अपराधको बारेमा निन्दा गर्न मसँग शव्द छैन। उनीहरुले उचित उपचार, न्याय र भविश्यमा उचित सम्मान सहित जिउन पाउनु पर्छ। यो प्रत्याभूति हामीले दिनु पर्छ। बिगतमा स सानो घटनामा बालुवाटार र सिंहदरबार तुरुन्तै घेर्न पुग्ने अधिकारकर्मी र विद्यार्थी संघठन यो घटनामा लगभग मौन बस्नु आफैमा आस्चर्यजनक रहेको छ। आफूलाई राजनीतिक विषय बस्तुमा मात्र केन्द्रीत गरेका अधिकारकर्मी र विद्यार्थी नेता यस्ता सामाजिक समस्यामा नबोल्नुले उनीहरुको विगतको स्वार्थलाई पुस्टि गरेको छ।
एसिड काण्ड बिगतमा दोहारिएका थुप्रै उदाहरण छन्। भारतमा भएका विगतका घटनालाई हेर्ने हो भने कतिपय ठाउँमा यो कपी क्याट (नक्कल गर्ने प्रवृति) घटनाको रुपमा फैलिदै आएको देखिएको छ। जसरी एउटा आत्महत्याको घटनाले अन्य आत्महत्याको घटना बढ्न सक्ने सम्भावना रहन्छ त्यसरी नै एसिड प्रहार जस्ता घटनाहरुले पनि यस्तै घटनाहरु पून: दोहरिने सम्भावना रहन्छ।
तसर्थ सरकारले यस्ता घटना निरूत्साहित गर्न खुला रुपमा हुने एसिडको बेचबिखनलाई तुरुन्त रोक लगाउनु पर्छ। उचित संयन्त्र विकास गरि अन्य प्रयोजनको हकमा अनुसाशित रुपमा यसको बेचबिखन गरिनुपर्छ। संसार भरि प्रत्येक वर्ष यस्ता घटनाहरु १५०० देखि २००० सम्म हुने गरेको अनुमान यो विषयका बिज्ञहरुको छ। यसबाट पीडित हुने ८० प्रतिशत महिला र ३० प्रतिशत १८ वर्ष मुनिका बालिका हुने गरेको तथ्य रहेको छ। यस्ता घटनाबाट हुने पीडितको शारीरिक र मानशिक आघातलाई कम गर्न सबैले पहल गर्नुपर्छ।
यस्ता प्रकारका घटनालाई निरुत्साहित गर्न समाज,अविभावक, शिक्षकहरुले पनि विशेष पहल गर्नु आवश्यक छ। युवा वर्ग यस्ता आपराधिक कार्यमा संलग्न हुनुमा हाम्रो पनि कमजोरी रहन्छ। यस्तो निन्दनीय घटना नदोहोरियोस र हाम्रा छोरीहरु स्वतन्त्रता पूर्वक समाजमा हिड्न सक्ने वातावरण सदा कायम रहोस्।