प्रिय गगन थापा ज्यू,
नमस्कार ।
आशा छ तपाई लगायत घरपरिवार सञ्चै हुनुहुन्छ होला। नेपाली जनताको बारेमा त यहाँलाई अवगत नै छ होला। धेरै भयो तपाईलाई गहन रुपमा नदेखेको। सायद संविधान लेखनमा व्यस्त हुनुहुन्छ क! सोही लेख्नमै नै हो हामीले तपाईलाई तलव खुवाउने जागिर दिलाएर पठाएको।
जागिर त अरुलाई पनि दिलाउन सकिन्थ्यो। तर, तपाई जागरुक यूवा र तपाई ट्रयाक गुमाएका बुढाहरुलाई सही ट्रयाकमा ल्याउनुहुन्छ होला भनेर पठाएको। हुन त, तपाईको मात्र जोरवलले के पुग्दो होला र? तपाई सभापति भएको संसदीय समितिले बोलाउँदा टंगालले त टेर पुच्छर लगाएन भन्ने सुन्दा हामीलाई दुःख लागेको थियो।
कसैले भन्छन्, तपाईलाई मिडियाले हिरो बनायो भनेर हुन सक्छ सुरुमा त्यसले बनायो। नेपाली काङ्ग्रेसको अधिवेसनले पार्टीको पपुलर मतको हिरो बनायो। दोस्रो संविधान सभाले नेपाली जनताको हिरो बनायो। सायद भिलेन बनाउन कसैले चाहेनन्। आशा छ, भविश्यमा यहाँको हिरो हुने अवसर बढ्दै जाओस्।
हामीलाई लाग्छ समयले नै हिरो र भिलेन बनाउँछ| र उपयूक्त समय आफैंले बनाउने हो। सो बारेमा नेपाली राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तिहरुको विगत र वर्तमानको उतार चढावका साथै विश्व राजनीतिका उतार चढाव यहाँले नै नजिकबाट नियालीरहनु भएको छ भन्ने आशा गर्छु।
हिजो अस्ती कुनै पत्रिकामा संविधानमा ल्याप्चे लगाउने बारेमा एक बुढाको विलाप देखेको थिएँ। प्रश्न संविधानको मात्र हैन समृद्ध समाज र समाजले आशा गरेका नेतृत्वको विकासको हो र हालका यूवाले सम्भावना देखेको पात्र तपाई हो भन्ने हामीलाई लाग्छ।
संविधान होस् वा पार्टीको विधान सवैलाई पद, प्रतिष्ठा र राजनितिक रोजगारीको सुनिश्चितताको लागि मात्र नेतागण लडिरहेको आभास हामीलाई भइरहेको छ। अब तपाईले प्रमाणित गर्ने दिन नजिक आँउदै छ। नेपाल र नेपालीको नेतृत्व लिने दिन आउँदैछ। तपाई पार्टीगत धारबाट अगाडि बढ्नुहुन्छ भने नेपाली काङ्ग्रेसको आँउदो महाधिवेसनमा सभापतिको उमेदवार बन्नुस्। गुटगत धारबाट पार्टीलाई माथि लैजानुस् प्रत्यक्ष जनताबाट निर्वाचित हुन नडराउनुहोस् देशको नेतृत्व तपाईकै हातमा आउनेछ।
काङ्ग्रेसजनले पत्याएनन् भने के गर्ने भन्ने अलमलमा नपर्नुस, नेतृत्वकर्ताको आवश्यक भएको नयाँ शक्तिमा आउनुस् पत्रिकामा मात्र फलाक्ने समाजमा नविक्ने, सामाजिक सञ्जाललाई देश देख्ने भन्दा माथि उठ्नुहोस र नेपालको प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएर देखाउनुहोस्। स्वतन्त्र लडेपनि जित्ने साहस तपाईमा मात्र छ भन्ने हामीलाई लाग्छ्।
तपाईलाई माथिको सर्तहरु मञ्जुर छैन भने काङ्ग्रेसजनमा तपाईको हजुरवाको उमेरका मान्छे छन् उनीहरुलाई पालो दिनुस् त्यसपछि बाउ/ससुराको उमेरकालाई पालो दिनुस् त्यस पश्चात तपाईपनि ६० वर्ष पुग्नुहुनेछ, आज जन्मेका युवाले आफैं गरेर देखाउनेछन् तेतिखेर तपाईजस्ता केहि गर्न नसक्ने बुडाखाडाको दिन सकिनेछ र सो पार्टीको केन्द्रिय सदस्य समेत बन्न नसक्ने हैसियतमा पुगेर राजनितिबाट विश्राम लिनुपर्नेछ, चेतना भया।
हवस्त विदा चाहन्छु। नमस्कार