दिनदिनै
हजारौं युवा विदेश पठाएका छौ
पशुसरह जिन्दगीको उपहार दिएका छौ
दिनदिनै भित्रिने लासहरुको तिमीलाई के मतलब
खर्बौ रकम भित्र्याएकै छौ, त्यसैले देश चलाएकै छौ।
पढेलेखेकालाई तिमीले एक दिन पनि बस्न दिन्नौ
लखेट्नको लागि हतारमा छौ
किनकि तिमी तर्सिएका छौ
आफन्तलाई भर्ति गर्न नपाईने पो हो कि भनेर डरले तिमी कातुर बनेका छौ।
कतै भाईलाई भर्ति गर्या छौ, कतै ज्वाईंलाई
तिमी सम्धीदेखि छोराछोरी अनि कार्यकर्तालाई पनि जागिर खुवाएका छौ
सोझासाझा र गरिब दुखिको तिमीलाई के मतलब विदेश पठाएकै छौ
तिमीले जितेका छौ तिमी सफल भएका छौ।
आफू चिल्लो बाटोमै हिडेका छौ, काठमाडौं सिगार्दै फुर्सद छैन तिमीलाई
तिमीलाई कर्णालीको के मतलब?
भोकभोकै गिट्टी कुट्ने ती कलिला हातहरु छियाछिया पर्नेहरुको
तिमीलाई के मतलब
तिमी बाल अधिकारको भाषण दिन पाएकै छौ।
भोकै नांगै छटपट्याईरहेका, चिसोमा कठ्याङ्ग्रिएका
प्रकोप पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरु तिमीलाई के मतलब!
आफूले मासुभात र विदेशी रक्सी दबाएकै छौ।
सार्क सम्मेलन गर्ने भन्छौ
काठमाडौंलाई रातारात टालटुल पारेर
बाटाहरु कालै पारेका छौ, रंगीन पारेका छौ
तर,
मलाई त्यसको के मतलब? उसलाई पनि के मतलब?
आज म गन्तव्यमा पुग्नका लागि घन्टौ बाटो कुरेको छु
दिनभरी फुटपाथमा काम गर्ने ऊ
आज भोकै सुतेको छ
बाल बच्चा भोकले पिरोलिईरहेका छन्।
दुई दिनका लागि
विदेशीलाई देखाउन लोडसेडिङ नि गर्दिन भन्छौ
कुलेखानी पनि रित्याएर
जनतालाई १६ घन्टे लोडसेडिङको उपहार दिने तयारीमा छौ।
अहो तिमी कति महान छौ
कति शक्तिमान छौ।
जनाताको तिमीलाई के मतलब
वीर अगाडी भोक र रोगले छट्पट्याउनेहरुको के मतलब
जनातालाई अझ धेरै सास्ती दिने तयारिमा छौ।
किन दिनु पर्यो संबिधान तलब भत्ता खाएकै छौ
देशको ढुकुटी रित्याएर
संसारको टुर नि गरेकौ छौ
चिल्ला भाषण पनि गरेकै छौ
साच्चै तिमी महान छौ
जनतालाई आईसीयुमा छट्पटीमा पारेर
आफूलाई निमोनिया हुँदापनि सिंगापुर र बैङ्कक धाएकै छौ।