हप्तामा मात्र दुई दिन
साँझमा अाइपुग्छ बिजुली,
सरकार! हुकुम होस् ,
स्वीज अन गरुँकी नगरुँ?
दिनभर खाध्यसंस्थानमा लाइन बसेर ,
पाएको जम्मा दुई किलो चामल मध्ये
एकभाँडो पानीमा एक मुठी चामल राखेर
जाउलो त बनाए।
सानी छोरी भोकले आकुल छे,
सरकार! मर्जी होस
उस्लाई सेतो भात ख्वाउँ की नख्वाउँ?
सातादिनमा धारामा आएको धमिलो पानी,
दुई रुप्ये घटेको मट्टितेलको स्टोभमा
भुलुक्क त उमाले्।
बुढी आमा प्यासले ब्याकुल छिन्
सरकार ! प्याक प्याक भएको उन्को मुखमा
दुइथोपा पानी पारुँ की नपारुँ?
हाम्रा त जुन र तारा छन नि
जो उध्रिएको छानोबाट
रातभर चियाउछन झुपडी भित्र ।
बिजुली त
राष्ट्रपती र मन्त्रीको घरमा हुने
झलमल्ल उज्यालो परबाट हेर्न पो त !
रिसानी माफ सरकार !
अबोध छे सानी छोरी
अनी ब्यर्थै खोज्छे जाउलो,
सस्थानको सेतो चामल त
बजारकी होटल साहुनिलाइ
जांड पार्न पो त !
मेरी बुढी आमा आँ.. गरेर
मेलम्ची कुरेको दशक त भै सक्यो ।
अझै जीवनको अन्तिम श्वास रोकेर,
हिटिक्क हिटिक्क गर्दै कुर्दैछिन ।
सरकार ! हुकुम होस्
मेरी आमा मर्न कहिले पाउँछिन ?