नेपाली कांग्रेस र नेकपा (एमाले) को चियापान कार्यक्रमका दृश्यहरु टेलिभिजनमा देखेर खुसी लाग्यो अनि दुःख पनि लाग्यो। खुसी यस अर्थमा कि उक्त कार्यक्रममा प्रायःजसो सबै ठूला भनिएका नेताहरुको उपस्थिती थियो। वर्तमान प्रधानमन्त्रि देखि निवर्तमान प्रधान मन्त्रि, मन्त्रि, राजदुत, प्रधान सेनापति आदि आदि। सबै एक अर्काेसँग रमाउदै, ठट्यौली पारामा कुरा गर्दै थिए। सैद्धान्तिक रुपमा एक अर्काको विचारप्रति गम्भिर मतभेद भएपनि आपसी सम्बन्धमा त्यसले कुनै असर गरेको देखिदैन थियो।
अझ नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदन–प्रदान कार्यक्रममा शेर बहादुर देउवा र पुस्पकमल दाहाल (प्रचण्ड) बीच चलेको ठट्टार दोहोरी त अझै रोचक नै थियो। सबैलाई थाहानै छ कि प्रचण्डको टाउकोको मोल तोक्ने बेला प्रधानमन्त्रि शेर बशादुर देउवा नै थिए । नेकपा एमालेको चियापानमा तथा शुभकामना कार्यक्रममा पनि केपी ओली र माधव कुमार नेपाल सँगै ठट्टा गर्दै बसेका थिए भने अन्य विपक्षि दलका नेताहरु पनि हास्दै रमाउदै शुभकामना आदन–प्रदान गरिरहेका थिए।
यति सौहादैपूर्ण सम्बन्ध रहेछ उनिहरुबीचमा देखेर मन मनै खुसी भए। सैद्धान्तिक रुपमा एक अर्को प्रतिम त नमिलेपनि त्यो संवादको तहमा गएर मिलाउने हो तर व्यक्तिगत सम्बन्ध सुमधुर हुनु पर्छ भन्ने दृश्य थियो त्यो।
भलै खुल्ला मञ्चको कार्यक्रममा कसैले कठालो समाउन नपरोस् भने कसैले सडकबाट संविधान जारी गछर्ौं भने। तर त्यसले व्यक्तिगत सम्बन्धमा कुनै असर देखिएन। यो राजनीतिको सकारात्कम पक्ष हो।
तर यहि दृश्यलाई स्थानिय तहमा वा भनौ जिल्ला तथा गाँउमा जोडेर हेर्दा ३६को आंकडा देखिन्छ। हिजो द्वन्द्धको क्रममा एमाओवादीले अर्को कुनौं पार्टीको कार्यकर्ता वा साधारण जनतालाई निषेधको राजनीति गर्थे या मार्न र मर्न समेत पछि परेनन्। अहिले पनी जातिय तथा पहिचानको राजनीतिले एउटा गाँउलाई अर्कोबाट नराम्रोसँग सम्बन्ध विगारेको छ। लाग्छ शुशिल कोइराला, प्रचण्ड, केपी ओली र अन्य सत्ता पक्ष र विपक्षका पानी बाराबार गरिरहेका छन्। अझै पनि मधेसमा पहाडीयाको अनुहार विदेशमा बिना पासपोर्ट घुमिरहेको नेपाली झै हुन्छ। झापाको मान्छे इलाम चढ्दा लिम्बुवानले शंका गरेको भान पर्छ।
मलाई ताजुब लागेको कुरा के मात्रै भने – हामीलाई कस्तो राजनीति सिकाउदै हुनुहुन्छ केन्द्र तहका नेताहरु? हिजो एमाओवादीको अभिष्ट त पुरा भयो जनता–जनता भिडाएर राजनीतिमा पकड जमाउने। तर दोश्रो संविधान सभाको चुनावले एमाओवादी, संघिय समाजवादी, मधेसी दल आदीलाई प्रष्टरुपमा जनमत दिइसकेका छन्। अझै पनि यिनीहरु कुन जनताको कुरालाई लिएर देशलाई फेरी १०० वर्ष पछाडी धकेल्न चाहान्छन् जातिय तथा पहिचानको नाम दिएर। भोली पनि विरगञ्जले कुलेखानीको विजुली बाल्नस पर्छ र विरगञ्जमा जम्मा भएको धानको भात काठमाण्डौं खानु पर्छ। इलामको चियामा कैलालीले चुस्कि मार्न पाउनु पर्छ अनि विराटनगरको भन्सारबाट कर्णली यार्सा गुम्बा भारत निकासी गर्नु पर्छ। यति सानो देशमा यति थोरै जनताबीच किन तालमेल नमिलेको होला?
सबै राजनीतिक दलको आ–आफ्नो सिद्धान्त हुन्छ। राजनीतिमा लडाई सिद्धान्तको हुन्छ भौतिक शरीरको होइन। यो कुरा साधारण जनताले पनि बु‰न पाउनु पर्छ। जनता–जनता लडाएर व्यक्तित्वको राजनीति गर्नु भएन कसैले पनि। यो एउटा साधारण जनताको मनमा उठेको प्रश्न हो।