सडक आन्दोलन हैन बौद्धिक आन्दोलन गर्नुहोस् कमरेड। सारा नेपालीलाई दुःख हुने खालको नेपाल बन्द गरेर हैन, तपाईका तर्कले व्यक्ति, समाज, देशको चेतनाबृद्धि गरेर आन्दोलन गर्नुहोस् कमरेड। यो युग भनेको शिक्षाको युग हो। ज्ञानको युग हो। चेतनाको युग हो कमरेड।
पीडिए सम्झौता के कारणले गलत छ ? सम्झौता व्यवहारिक दृष्टिकोणले कस्तो खालको हुनुपर्छ? त्यसका बारेमा लेख, रचना, सार्बजनिक बहस का माध्यमले बौद्धिक आन्दोलन गर्नुहोस्। यो युगमा पनि सुत्केरीलाई अस्पताल पुग्नबाट रोकेर परीक्षार्थीलाई परीक्षाहलसम्म पुग्न नदिएर खर्च नहुनेलाई भोकभोकै राखेर देश बन्दैन कमरेड।
बौद्धिक आन्दोलन गर्नुहोस्, तपाईका मागहरु के हुन्? तपाईले प्रस्तुत गर्नु भएको विकल्प के हो? त्यसको बारेमा जानकारी गराउनुहोस्। साधारण जनतालाई दुःख दिएर न तपाईको माग नै पूरा हुन्छ न नै तपाईलाई गरिब, दुःखी, निमुखाको आसिर्बावाद प्राप्त हुन्छ।
बन्द जस्ता अराजनीतिक काममा सबैभन्दा दुःख पाउने भनेको तपाईले नै नेतृत्व गरेका वर्गले हुन्। धनि, सम्पन्न व्यक्तिले जति दुःख पाउछन् त्यसको तुलनामा गरिब, निमुखा बर्गले पाउने दुःख कैयौँ गुणा बढी हुन्छ। बन्द, हड्लात, आतकं २१ औँ शताब्दी सापेक्ष राजनीतिक कदम हैनन कमरेड।
गरिब, निमुखालाई दुःख दिने खालका अराजनीतिक कदमहरु बन्द गर्नुहोस् कमरेड। युग सुहाउँदो राष्ट्रियता प्रस्तुत गर्नुहोस कमरेड।
गरिब, निमुखा बर्गलाई दुःख दिएर राज्यको बिरुद्धमा उतार्ने तपाईको योजना हो भने यो तपाईकै लागि प्रत्युत्पादक हुनेछ, जुन पछिल्लो निर्वाचन परिणामले पनि देखाईसकेको छ। अबको युग भनेको ज्ञान, शिक्षा, चेतनाको युग हो। समाजलाई उत्तेजीत बनाउने भन्दा पनि चेतनशील बनाउने तर्फ लैजानुहोस्। यो नै २१ औँ शताब्दी सापेक्ष राजनीति हो कमरेड।